साप्ताहिक संवाददाता
भाग्यमानीहरू केवल एक पलमा हिरो हुन्छन् । केहीले लामो समयको अथक लगन, परिश्रम र मेहनतबाट उच्च छवि निर्माण गर्छन् । समाजमा सकारात्मक छवि बनाउनेहरू हिरो हुन्छन्, उनीहरू समाजमा रोलमोडलका रूपमा स्थापित हुन्छन् । जसको वाहवाही सर्वत्र सुन्न पाइन्छ । यद्यपि केही मानिस नकारात्मक कृत्यका कारण विवादित बन्न पुग्छन् । कोही असफलता, कोही विवाद त कोही आफ्नै गलत कृत्यका कारण बदनामीको अन्धकारतर्फ धकेलिन्छन् ।
केही यस्ता व्यक्तिहरू पनि हुन्छन्, जो आफ्नो एकमात्र गलत कामका कारण हिरोबाट जिरोमा झर्छन् । यो वर्ष पनि केही त्यस्ता फ्लपहरू हाम्रो समाजमा देखिए । तीमध्ये कोही राजनैतिक असफलताका कारण फलप भए भने कोही भ्रष्टाचार तथा अपराधसँग जोडिए । होलीको यो अवसरमा जिरो अफ दी इयर हुनेहरूको लेखाजोखा :
चूडामणि शर्मा अहिलेसम्मकै ठूलो ११ अर्ब रुपैयाँ भ्रष्टाचार काण्डमा मुछिएका छन्— चूडामणि शर्मा । आन्तरिक राजस्व विभागका महानिर्देशक रहँदा उनले राजस्व चुहावट गर्दै भ्रष्टाचार गरेपछि अख्तियारले पक्राउ गर्यो । शर्माविरुद्ध ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भयो । भ्रष्टाचारको मुद्दा लागेसँगै उनी निलम्बनमा परी तारेखमा रिहा भए । तारेखमा छाड्ने उक्त निर्णयको सर्वत्र आलोचना समेत भयो । शक्ति केन्द्रहरू रिझाउन सिपालु शर्मामाथि त्यसपछि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै ४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कमल थापासत्ताका लागि ‘मुसा’ प्रवृत्तिका रूपमा खुबै चर्चा हुन्छ कमल थापाको । थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो संविधानसभामा चौथो ठूलो दल थियो, तर ०७४ सालमा भएका स्थानीय, प्रदेश तथा केन्द्रीय निर्वाचनमा उनको पार्टी नराम्रोसँग बढारिएन मात्र राष्ट्रिय पार्टी समेत बन्न सकेन् । यो पराजयलाई कतिपयले कमल थापाको सत्तालिप्सासँग जोडेर हेरे भने उनको नेतृत्वको राप्रपा विभाजित समेत भयो ।
विश्वराज पाण्डे वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे २९ कात्तिकमा घूसकाण्डमा पक्राउ परे । २८ कात्तिकमा विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल तथा नायक सुब्बा खड्क केसी नयाँ बानेश्वरको इन्द्रेणी फुडल्यान्डबाट १० लाख रुपैयाँ घुससहित रंगे हात पक्राउ परे । उनीहरूले महानिर्देशक पाण्डेको नाम पोलेपछि त्यसको भोलिपल्टै प्रहरीले पाण्डेलाई काठमाडौंबाट पक्राउ गर्यो । ५ मंसिरमा अवकाशको तयारीमा रहेका विश्वराज कुस्त पैसा कमाएर अष्ट्रेलिया भाग्ने तयारीमा रहेको खुल्न आएको थियो ।
मस्कुर अहमद लारी सन् १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा २ सय ५० किलो चरेस बरामद भयो । त्यसमा एभरेस्ट होटलका सञ्चालक तथा व्यवसायी मस्कुर अहमद लारी जोडिए । अदालतमा उनीविरुद्ध मुद्दा चल्यो । २०६८ मा जिल्ला अदालत काठमाडौंले मस्कुरको नाममा पक्राउ आदेश जारी गर्यो । उक्त मुद्दामा दोषी देखिएपछि उनी फरार भए । २५ माघमा तिनै लारीलाई महानगरीय प्रहरी कार्यालयको टोलीले महाराजगन्जबाट पक्राउ गर्यो । लारी २९ माघमा जेल चलान भए । होटल व्यवसायी लारी २१ वर्षअघिको चरेश तस्करी मुद्दामा जेल पुगेका हुन् ।
राजेन्द्र खड्गीकुनै समय नेपाली चलचित्रको द्वन्द्व निर्देशनमा राजेन्द्र खड्गी नामै काफी थियो । उनले झन्डै ५ सयभन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरे । उनी धेरै चलचित्रमा खलनायकको भूमिकामा समेत देखिए । द्वन्द्व निर्देशकका रुपमा उनको वेग्लै छवि बन्यो । यो वर्ष भने उनी मानव बेचबिखन र ठगी मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् । कराँते (योयामा) गुरुको डकुमेन्ट्री बनाउने क्रममा उनीसँग दक्षिण कोरिया गएका ११ जना नेपाली उतै लुकेपछि प्रहरीले उनलाई मानव बेचबिखनको अभियोगमा पक्राउ गरेर हिरासतमा राखी छानविन गरिरहेको छ । खड्गीसँगै कोरिया पुगेका ११ नेपाली नफर्किएपछि नेपालस्थित कोरियाली दूतावासले उनीविरुद्ध उजुरी दिएको थियो । खड्गी त्यही उजुरीका आधारमा पक्राउ परेका हुन् ।
बालकृष्ण ढुंगेल
लामो समयदेखि प्रहरीसँग लुकामारी गर्दै आएका माओवादी नेता बालकृष्ण ढुंगेल अन्तत: जेल पुगेका छन् । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले २०६६ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो, तर उनी अदालतको आदेश अटेर गर्दै फरार थिए । ढुंगेललाई १४ कात्तिकमा प्रहरीले सातदोबाटोबाट पक्राउ गरी जेल चलान गरेको छ ।
नवराज सिलवाल, रेशम चौधरी तथा दीपक मनाङेउतारचढावपूर्ण र विवादित बनेर सतहमा देखिए नवराज सिलवाल । नेपाल प्रहरीको महानिरिक्षक हुन नसकेपछि राजनीतिमा आएका सिलवाल उनी ललितपुर—१ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेर विजय भए, तर आफ्नै कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको अभियोग लागेपछि अहिले उनी फरार छन् । यस्तै, टिकापुर हत्याकाण्डमा मुछिएका रेशम चौधरी फरार रहेकै अवस्थामा कैलाली–१ बाट राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेर चर्चामा आए । यद्यपि उनी अहिले पुर्पक्षका लागि जेल चलान भैसकेका छन् । यस्तै, गुन्डागर्दीमा संलग्न भनेर आरोपित दीपक मनाङे मनाङबाट प्रदेश सांसद निर्वाचित भएपछि चर्चामा आए, तर निर्वाचन लगतै उनले ज्यान मार्ने उद्योगको सजाय पूरा भुक्तान नगरेको देखिएपछि अहिले प्रहरीको खोजीमा छन् ।
तिलक भारती
बहुचर्चित दरबारमार्ग ‘ग्याङ रेप’लाई आर्थिक लेनदेनमा मिलाउन भूमिका खेलेको पाइएपछि नेपाल प्रहरीका डिएसपी तिलक भारती निलम्बनमा परेका छन् । कैलाली घर भएकी २२ वर्षीया युवतीलाई उनका कथित प्रेमी शैलेश कार्कीसहित अन्य तीन जनाले दरबारमार्गको होटल ल्यान्डमार्कमा ७ माघको राति बलात्कार गरे । त्यसको भोलिपल्ट ती युवती उजुरी दिन दरबारमार्ग पुगिन्, तर डिएसपी भारतीको समेत संलग्नतामा आर्थिक लेनदेनमा उक्त बलात्कारकाण्ड मिलापत्रमा ट्ंगाइयो । घटना बाहिर आएपछि २५ माघमा प्रहरी परिसर काठमाडौंले छानबिनको प्रतिवेदन तयार पार्दै डिएसपी भारतीलाई जिम्मेवारीबाट हटाएर हदैसम्म कारबाही गर्न सिफारिस गरेको छ । भारतीसँगै इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी तथा मुद्दा शाखा सब इन्स्पेक्टर चन्द्र भण्डारीलाई बर्खास्त गर्न पनि समितिले सिफारिस गरेको छ । उनीहरू सबै अहिले निलम्बनमा छन् ।
रमेश विष्टनेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा मुछिए । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब ५ करोड रुपैयाँ मध्ये ३३ लाख रुपैयाँ विष्टको खातामा पुगेको पाइएपछि उनी छानबिनमा तानिए । बैंकिङ कसुर लागेपछि सेनाले उनलाई सैनिक हिरासतमा राखेर छानबिन गरिरहेको छ । विष्ट नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत थिए । उक्त रकम हिनामिनाकी मुख्य योजनाकार दीपिका रेग्मी भने जेल चलान भएकी छिन् । रेग्मी र विष्ट प्रेमी–प्रेमिका भएको बताइन्छ ।
पृथु बास्कोटा कुनै समय नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान थिए– पृथु बाँस्कोटा । उनको नेतृत्वमा नेपाली युवा क्रिकेट टिमले युवा विश्वकपसमेत खेल्यो । त्यसपछि उनले सिनियर राष्ट्रिय टिमबाट पनि खेले । पृथुलाई नेपाली युवाका रोलमोडल क्रिकेटरका रूपमा लिइन्थ्यो । यद्यपि दरबारमार्गस्थित क्बल डेजाभूमा सञ्चालक हुनु नै उनका लागि अभिशाप बन्यो । २७ मंसिरमा चर्चित डिजे मार्सेमेलोलाई ल्याउने भन्दैं नाइट क्बल डेजाभूले ७ हजार मानिसलाई टिकट बेच्यो, तर मार्सेमेला बिरामी भएको भन्दै कार्यक्रममा उपस्थित भएनन् । आक्रोशितहरूले क्बल डेजाभूमा तोडफोड गर्नुका साथै सञ्चालकहरूले ठगी गरेको भन्दै उजुरी समेत दिए । त्यसपछि अन्य सञ्चालकसहित पृथु पनि पक्राउ परे । त्यसपछि उनी २३ दिन प्रहरी हिरासतमा बसेर अहिले धरौटीमा रिहा भएका छन् ।
दीपिका रेग्मी कृषि विकास बैंकको न्युरोड शाखामा कार्यरत सहायक टेलर हुन्—दिपिका रेग्मी । उनले एक वर्षको अवधिमा बैकको झण्डै ५ करोड रुपैयाँ क्लियरिङ देखाएर ठगी गरिन् । त्यसपछि उक्त आर्थिक हिनामिनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले छानविन गर्यो । छानविनका क्रममा प्रहरीले १४ मंसिरमा दिपिकालाई पक्राउ गर्यो । रकम हिनामिना गरेको अभियोग लागेकी दिपिकालाई २४ माघमा उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दियो ।
नीलमणि उपाध्याय मेडिकल काउन्सिलका पूर्व रजिस्ट्रार प्रा.डा. नीलमणि उपाध्यायले आफूविरुद्ध अख्तियारमा परेको मुद्दा मिलाउन तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग राम्रो सम्बन्ध बनाए । त्यो सम्बन्धकै कारण उनले अख्तियारको मेडिकलविज्ञका रूपमा नियुक्ति पनि पाए र आफूविरुद्ध लागेका चिकित्सकहरूलाई छानी–छानी १३ पन्ने फारम भराउन शंकास्पद भूमिका खेले । त्यतिमात्र नभएर काउन्सिल र अख्तियारको शक्तिको आडमा सैनिक मेडिकल कलेजमा प्राध्यापन पनि गरे भने आफ्नी श्रीमतीलाई गण्डकी मेडिकल कलेजको जागिरे समेत बनाए । यी सबै कार्यको पर्दाफास त्यतिबेला भयो, जतिबेला चिकित्सा शिक्षा जाँचबुझ आयोगले उनका कर्तुतहरू बाहिर ल्यायो । आयोगले उनीमाथि भ्रष्टाचारमा समेत छानबिन गरी कारबाही गर्न सिफारिस गरेको छ ।