साप्ताहिक संवाददाता
आगमी फागुन २६ गते शनिबार टुँडिखेलमा बलिउड अभिनेता सलमान खानको हुने भनिएको ‘दबंग: द सलमान खान लाइभ इन नेपाल’ कन्सर्ट स्थगित भएको छ ।
आयोजक ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङका अनुसार ‘विशेष कारण’ले सलमान खानको नेपाल भ्रमण कार्यक्रम अहिले स्थगित भएको हो । हामी बैशाखको पहिलो साता यही कार्यक्रम लिएर आउने छौं । गुरुङका अनुसार अहिले टिकट काटेका दर्शकले सोही टिकट मार्फत् बैशाखमा कार्यक्रम हेर्न पाउनुहुने जनाएका छन् । उक्त कार्यक्रममा सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्सलगायत आउने कार्यक्रम थियो।
यस्तो थियो तयारी
बलिउडका सर्वाधिक हटकेट सेलिब्रेटी कोही छन् भने ती सलमान खान नै हुन् । मेगास्टार सलमानको स्टारडम भारतमा मात्र सीमित छैन, विश्वभर फैलिएको छ । अझ बलिउडप्रेमीहरूको ठूलो जमात भएको नेपालमा त उनीप्रति विशेष मोह झल्किन्छ, जुन उनले अभिनय गरेका चलचित्रमा उर्लने भीडबाटै प्रस्ट देखिन्छ ।
बलिउड अनलाइनहरूले सार्वजनिक गरेको एक तथ्यांकअनुसार सलमानको दैनिक कमाइ नै ६६ लाख भारतीय रुपैयाँ छ, जुन १ करोडभन्दा बढी नेपाली रुपैयाँ हुन्छ । सन् २०१७ मा फोब्र्सले जारी गरेको बलिउडका सर्वाधिक कमाउने कलाकारहरूको सूचीमा उनी ३७ मिलियन डलर कमाइ गर्दै दोस्रो स्थानमा छन् । भारतका सर्वाधिक स्टारडम भएका अभिनेता तथा दैनिक १ करोडभन्दा बढी कमाउने सलमान २५ फागुनमा काठमाडौं ओर्लंदैछन् । सांगीतिक कार्यक्रम ‘दबंग–द सलमान खान लाइभ इन नेपाल’ शीर्षकमा फागुन २६ गते शनिबार टुँडिखेलमा हुने सांगीतिक कन्सर्टमा प्रस्तुति दिन नेपाल आउन लागेका हुन् । उनको यो दोस्रो नेपाल भ्रमण हुनेछ, २३ वर्षअघि सन् १९९४ मा उनी चलचित्र ‘बुलन्दी’ को सुटिङका क्रममा नेपाल आएका थिए ।
चलचित्र ‘दबंग’ को फ्रेन्चचाइज शोका रूपमा डिजाइन गरिएको ‘दबंग–द टुर’का सिलसिलामा उनी नेपाल आउन लागेका हुन् । यसको लेखन तथा निर्देशन सलमानका भाइ सोहेल खानले गर्दै आएका छन् भने आयोजना सलमानको निर्माण कम्पनी खान इन्टरटेनमेन्ट तथा जेएन इभेन्टले विश्वव्यापी रूपमा गर्दै आएको छ । ‘दबंग–द टुर’ हङकङ, अस्ट्रेलिया तथा न्युजिल्यान्डमा सम्पन्न भैसकेको छ भने काठमाडौंलगत्तै अमेरिकामा आयोजना हुनेछ ।
सात वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई नेपाल ल्याएर अहिलेसम्मकै सर्वाधिक ठूलो ‘म्युजिकल कन्सर्ट’ गरेको ओडीसी इन्टरटेनमेन्टले सलमानलाई काठमाडौंमा उतार्न लागेको हो । काठमाडौंमा ‘दबंग–द टुर’ आयोजना गर्ने ओडिसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानको कार्यक्रमलाई भव्य बनाउने तयारी तीव्र गतिमा भैरहेको छ । ‘प्रोडक्सनका काम फाइनलाइज हुँदैछन्,’ गुरुङले साप्ताहिकसँग भने, ‘सेक्युरिटीका काम केही दिनमै फाइनल हुनेछन् ।’ कन्सर्ट हुने स्थान, तयारी, होटल, सुरक्षा आदिका सम्बन्धमा बुझ्न उनका भाइ सोहेल केही साताअघि नै काठमाडौं आएर फर्किसकेका छन् । नेपालमा अहिलेसम्मकै ‘मेगा स्टेज’ कार्यक्रम गर्न तम्सिएका गुरुङ टुँडिखेलमा हुने ‘दबंग–द टुर’ मिनी आइफाजत्तिकै भब्य हुने दाबी गर्छन् । ‘४० देखि ४५ जना नाच्न मिल्ने, ५० जना जति अट्ने, ७५ फिट बाइ १०० फिटको भव्य स्टेज तयार गरिनेछ,’ उनले भने, ‘सामान्यत: यो आइफा एवार्डजस्तै हुनेछ । लाइनअप पनि धेरै राम्रो छ, अभिनेत्री सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन तथा पञ्जाबी भाँगडा डान्सर मित बोस यसमा सहभागी हुनेछन् ।
सलमानसँगै ‘दबंग–द टुर’का लागि १ सय १० जनाको समूह काठमाडौं आउनेछ । कन्सर्टका क्रममा सलमान खानको पूरै परिवार काठमाडौंमा हुनेछ । ‘नेपाल आउने भनेपछि सलमानकी आमा पनि आउने योजनामा हुनुहुन्छ,’ उनले भने, ‘सलमानका दुवै भाइ आउनेछन् ।’ कन्सर्ट सुरु हुनुपूर्व नेपाली कलाकारलाई लाइनअप गराउने तयारीसमेत गरिएको छ । त्यसका लागि नेपाली कलाकारहरूसँग कुराकानी भैरहेको उनले बताए ।
सलमानले टुँडिखेलमा ठ्याक्कै एक घण्टा प्रस्तुति दिनेछन् । टोटल शो भने साढे दुईदेखि तीन घण्टाको हुनेछ । सीमान्तले कसन्र्टमा झन्डै १५ करोड खर्च हुने जानकारी दिए । सलमान खानलाई मात्र पारिश्रमिकबापत ४ करोड ५० लाख नेपाली रुपैयाँ पठाइसकिएको उनले बताए । अन्य कलाकारहरूका लागि ३ करोड २० लाख रुपैयाँ पारिश्रमिकबापत पठाइएको छ ।
कार्यक्रमका लागि आयोजकले १ फ्रेबुअरीदेखि नै चार थरी मूल्यका टिकट बिक्री गरिरहेको छ, जसमा ३ हजार, ५ हजार, १० हजार तथा २० हजार रुपैयाँका टिकट छन् । टिकट मेरोसोज् डटकम अनलाइनमार्फत किन्न सकिन्छ, यसैगरी भाटभटेनी र आईएमई रेमिटले समेत टिकट बिक्री गरिरहेका छन् । आयोजकहरूले यसपटकको कार्यक्रममा ५० हजार दर्शक उपस्थिति हुने अपेक्षा गरेका छन् । नेपालमा लामो समयदेखि ठूलो शो हुन नसकिरहेका बेला पर्यटनलाई समेत टेवा पुगोस् भनेर सलमानलाई नेपाल ल्याउन लागिएको आयोजकहरूको दाबी छ । कन्सर्ट हुने स्थानमा फास्ट फुडका स्टलहरूसमेत राख्ने तयारी भैरहेको छ ।
काठमाडौं रुटिङ
सलमान २५ फागुनमा अबुधावीबाट काठमाडौं ओर्लनेछन् । ‘दबंग–द टुर’ का अन्य टिम मेम्बर भने मुम्बईबाट काठमाडौं आउनेछन् । सलमान रेस–३ को सुटिङमा व्यस्त भएकाले अबुधावीबाट काठमाडौं आउन लागेका हुन् । उनीसँगै डेजी शाह पनि दुबईबाटै काठमाडौं अवतरण गर्नेछिन् ।
काठमाडौं ओर्लिएलगत्तै उनको प्रेस मिट हुनेछ । त्यसपछि सलमानले आफ्नो कार्यक्रमको रिहर्सलमा समेत केही समय बिताउनेछन् । २६ फागुनमा टँुडिखेलमा कन्सर्ट हुनेछ भने सलमानको बसोबास होटल सोल्टीमा हुनेछ । सलमान चन्द्रागिरि हिल्ससमेत जानेछन् । २७ फागुनमा माउन्टेन फ्लाइटमा माउन्ट एभरेस्ट लाने तयारी पनि छ, तर यो कुरा मौसममा पनि निर्भर रहनेछ । मौसम सफा भयो भने उनी एभरेस्ट हेलीको हेलिकप्टरमा माउन्टेन फ्लाइटबाट सगरमाथा बेस क्याम्प पुग्नेछन् । यद्यपि सलमानले यो कार्यक्रम निश्चित गरिसकेका छैनन् । अरू ९० प्रतिशत कलाकारले भने माउन्टेन फ्लाइटमा जान कन्फर्मेसन दिइसकेका छन् ।
१ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने सलमान खानको टुँडिखेलमा हुने ‘दबंग–द टुर’ कार्यक्रमको सुरक्षाका विषयमा आयोजकहरूले पहिलो चरणको छलफल सम्पन्न गरिसकेका छन् । सुरक्षाको सम्पूर्ण बन्दोबस्त कस्तो हुने हो भन्ने विषयमा भने अन्तिम टुंगो लाग्न बाँकी नै छ ।
गुरुङले सुरक्षा निकायबाट विगतका कार्यक्रममा धेरै राम्रो सहयोग पाएको कुरा उल्लेख गर्दै यस पटक पनि आफूहरूले अझ राम्रो सहयोग प्राप्त गर्ने अपेक्षा गरेको बताए । ‘अझ ठूलो शो छ, यसमा पहिलेको भन्दा अझ राम्रो सहयोग पाइने अपेक्षा हामीले गरेका छौं,’ उनले भने । गुरुङका अनुसार प्रहरी महानिरीक्षक प्रकाश अर्याल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखलाई कार्यक्रममा विषयमा जानकारी दिइसकिएको छ, जसमा प्रहरी महानिरिक्षक अर्यालले आवश्यक पर्ने सुरक्षा दिने भरोसा दिएका छन् ।
आयोजक स्वयंले दंबग टोलीका लागि ५० जनाको सेक्युरिटी गार्डको व्यवस्था गर्नेछ । ‘प्रत्येक आर्टिस्टलाई एक/एक जना गार्ड दिनुपर्ने माग उहाँहरूले राख्नुभएको छ,’ गुरुङले भने, ‘एयरपोर्टदेखि फर्कने बेला एयरपोर्टसम्मका लागि सेक्युरिटी उपलब्ध गराउँछौं ।’ प्रहरीबाहेक सेक्युरिटी र भोलिन्टियर गरी ५ सय जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।
जिल्ला प्रशासन कार्यलय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आफूहरूले कन्सर्टको सुरक्षाको ब्यवस्थाका लागि आएको निवेदन काठमाडौं प्रहरी परिसरमा पठाएको बताए । ‘हामी कहाँ सुरक्षाका लागि निवेदन आएको थियो,’ उनले भने, ‘हामीले त्यसलाई प्रहरी परिसर काठमाडौंमा पठाइदिएका छौं ।’
काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व पोखरेलले सलमान खानको कार्यक्रममा विषयमा आफूहरूलाई जानकारी आएको बताउँदैं आयोजकसँग बसेर थप सुरक्षा योजना बनाइने जानकारी दिए । ‘अब हामी चाडै आयोजकहरूसँग बसेर स्पष्ट सुरक्षा योजना बनाउँछौं,’ उनले भने, ‘सेक्युरिटी थ्रेटहरुको विश्लेषण गरेपछि सुरक्षा योजना बनाउछौं ।’ परिसरका एक प्रहरी अधिकारी भन्छन्— झन्डै ५ सय प्रहरी परिचालित हुन सक्छन् । सुरक्षाको स्पष्ट योजना अझै बनिनसकेकाले यसमा केही तलमाथि हुन सक्छ ।
सलमानको मुख्य बडी गार्ड शेरासहित अन्य पाँच/छ जना बडिगार्ड उनको सुरक्षाका लागि उतैबाट आउनेछन् ।
उनलाई थप सेक्युरिटी आयोजकहरूले प्रोभाइड गर्नेछन् । यसबाहेक सलमानलाई नेपाल प्रहरीले पिएओ दिने कि नदिने भन्ने विषय अझै स्पष्ट भैसकेको छैन । परिसरका एक अधिकारी भन्छन्, ‘यसअघि अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौं आउँदा एयरपोर्टमा उनलाई सैनिक अधिकारीले सुरक्षा दिएको तस्बिर सार्वजनिक भएपछि निकै आलोचना भएको थियो, त्यसैले यस विषयमा अहिले नै केही भन्न सकिँदैन ।’ उनका अनुसार सलमानजस्ता मेगा स्टारको सुरक्षा संवेदनशील भएकाले गृह मन्त्रालय तथा प्रहरी हेडक्वार्टरले पिएसओ दिने परिपत्र गरे प्रहरीले पिएओ समेत खटाउनेछ ।
यसअघि ब्रायन एडम्सको कार्यक्रममा आयोजकहरूले ८ सयजति सुरक्षाकर्मीको माग गरेका थिए, तर यसपटक आयोजकले प्रहरीलाई सुरक्षाकर्मीको संख्या नतोकी पत्र लेखेका छन् । ठूलो मास जम्मा हुने भएकाले सुरक्षा चुनौती थपिन नदिन आयोजकहरूले मास व्यवस्थापनका लागि छुट्टै तयारी गरेका छन् । त्यसका लागि स्पेसलाई पार्टिसन गर्न मोजो ब्यारिकेडको समेत प्रयोग गरिनेछ । मोजो ब्यारिकेड मासलाई पार्टिसन गर्ने बार हो ।
मोजो ब्यारिकेडले मासलाई निश्चित क्षेत्रलाई बक्स–बक्समा विभाजन गर्छ । यस्ता बक्स बनाएपछि यताबाट ठेल्ने उताबाट ठेल्ने भन्ने हुँदैन । एउटा बक्समा ६/७ सय दर्शकको व्यवस्थापन हुने आयोजकहरूको भनाइ छ । ब्यारिकेडको बीच–बीचमा सेक्युरिटी पनि राखिनेछ । ‘अन्तर्राष्ट्रिय स्तरमा पनि त्यही अभ्यास हुँदै आएको छ, त्यसैले त्यति समस्या हुँदैन,’ गुरुङले थपे, ‘तीन–चार ट्रक मोजो ब्यारिकेड हामीले दिल्लीबाट ल्याएका छौं ।’ उनले विगतमा ठूला शोहरू सम्पन्न गरिसकेको अनुभव भएकाले मास व्यवस्थापन ठूलो समस्या नभएको बताए ।
को–को आउँदै छन् ?
सलमान खान
सलमान खानको वास्तविक नाम अब्दुल रशीद खान हो । ५२ वर्षीय सलमानको जन्म मध्यप्रदेशको इन्दौरमा भएको हो । उनको बुवा सलिम खान प्रख्यात चलचित्र लेखक हुन् । उनका दुई भाइ अरबाज खान र सोहेल खान पनि बलिउडमा क्रियाशील छन् । उनका दुई बहिनी अलविरा र अर्पिता हुन् । सलमानले आफ्नो पढाइ सिन्धिया स्कुल ग्वालियरबाट सुरु गरेका हुन् । त्यसपछि उनले मुम्बईको ब्रान्द्रास्थित सेन्टस्टेनिसलान्स हाइस्कुलमा पढे । ‘मैने प्यार किया’, ‘अन्दाज अपना–अपना’, ‘हम आपके है कौन’, ‘दबंग’, ‘बजरंगी भाइजान’ तथा ‘टाइगर जिन्दा है’जस्ता सुपरहिट चलचित्रमा अभिनय गर्ने सलमानले अहिलेसम्म १ सय बढी चलचित्रमा काम गरिसकेका छन् ।
सलमानले सन् १९८८ मा फिल्म ‘बीबी हो तो ऐसी’बाट अभिनयको दुनियाँमा पाइला टेकेका हुन् । उनले चलचित्र ‘हिरो’को शीर्ष गीतमा श्वर समेत दिएका छन् । अमेरिकाको ‘पिपुल’ पत्रिकाले सन् २००४ मा उनलाई संसारकै सबैभन्दा सुन्दर पुरुषको सातौ नम्बरमा राखेको थियो भने भारतको सर्वाधिक सुन्दर पुरुषमा । सलमानले अहिलेसम्म विवाह गरेका छैनन् र विवाहकै विषयलाई लिएर उनी बारम्बार चर्चा एवं विवादमा रहन्छन् ।
सोनाक्षी सिन्हा
‘दबंग गर्ल’का रूपमा बलिउडमा सोनाक्षी सिन्हाको बेग्लै परिचय छ । सन् २०१० मा सुपरस्टार सलमान खान मुख्य अभिनेता रहेको ‘दबंग×’बाट उनले बलिउडमा डेब्यु गरेकी हुन् । सोनाक्षीले डेब्यु फिल्म ‘दबंग’बाटै सर्वोकृष्ट नवोदित अभिनेत्रीको पुरस्कार हात पारिन् । यसअघि पनि नेपाल आइसकेकी सोनाक्षी प्रख्यात अभिनेता शत्रुघ्न सिन्हाकी छोरी हुन । पटना, विहारमा जन्मिएकी ३० वर्षीया सोनाक्षीले ‘राउडी राठौर’, ‘सन अफ सरदार×’, ‘दबंग–२’, ‘आर राजकुमार’जस्ता धेरै सुपरहिट चलचित्र दिइसकेकी छिन् ।
प्रभु देवा
बलिउडका प्रख्यात कोरियोग्राफर हुन्— प्रभु देवा । उनले भिन्न–भिन्न प्रकारका नृत्यमा महारत हासिल गरेका छन् । यसबाहेक उनी अभिनेता, निर्देशक तथा निर्माता समेत हुन् । माइकल ज्याक्सनलाई आफ्नो प्रेरणाको स्रोत मान्ने देवा स्वयंमलाई भारतको माइकल ज्याक्सन पनि भनिन्छ । उनका ‘लक्ष्य’, ‘राउडी राठोर’, ‘आर–राजकुमार’, ‘वान्टेड’, ‘एक्सन–ज्याक्सन’जस्ता चलचित्र प्रसिद्ध छन् ।
डेजी शाह
भारतको महाराष्ट्रमा जन्मिएकी डेजी शाह अभिनेत्री, मोडल, डान्सर तथा कोरियाग्राफर हुन् । उनले सन् २०१४ मा सलमान खानको फिल्म ‘जय हो’ मार्फत बलिउडमा कदम राखेकी हुन् । त्यसअघि उनले ‘बडीगार्ड’मा करिना कपुरकी साथीको भूमिका निर्वाह गरेकी थिइन् । ३३ वर्षीया डेजी बलिउडकी प्रख्यात नृत्यांगना मानिन्छन् ।
कृति सेनन
कृति सेनन भारतीय अभिनेत्री तथा मोडल हुन् । कृति इलेक्ट्रोनिक्सकी विद्यार्थी थिइन् तर उनलाई चलचित्रले तान्यो । कृतिले तेलगु फिल्म १: नेनोक्डीनेमा महेशबाबुको अपोजिट भूमिकामार्फत डेब्यु गरेकी थिइन् । कृतिको बलिउड यात्रा भने ‘हिरोपन्थी’बाट सुरु भएको हो । यही चलचित्रले उनलाई फिल्म फेयर एवार्डमा वेस्ट फिमेल डेब्युको एवार्ड दिलाएको थियो । कृतिको चलचित्र ‘दिलवाले’ प्रदर्शनको क्रममा छ ।
मित ब्रदर्स
मित ब्रदर्स दुई भारतीय संगीत निर्देशक तथा गायक हुन् । उनीहरूको जोडीलाई बलिउडमा मनमीत सिंह र हरमित सिंहको जोडीजस्तै मानिन्छ । मीट ब्रदर्सले बलिउडमा कैयौं सुपरहिट संगीत दिएका छन्, जसमा ‘ओ माई गड’, ‘क्या सुपर कुल है हम’, ‘पुलिसगिरी’ आदि प्रमुख छन् ।
मनिष पाल
मनिष पाल भिजे/आरजे/अभिनेता तथा टिभी कलाकार हुन् । उनलाई भारतमा राम्रो टिभी एंकर समेत मानिन्छ । उनले सर्वश्रेष्ठ टिभी होस्टिङका लागि जी–सिने एवार्ड समेत जितिसकेका छन् ।
अर्को पटक शाहरूख खानलाई ल्याउने योजना छ
कार्यक्रमको तयारी कस्तो छ ?
सबै काम तीव्र गतिमा फाइनलाइज हुँदैछन् । सेक्युरिटीको काम केही दिनमै फाइनल हुनेछ ।
कार्यक्रमको मुख्य उद्देश्य के हो ?
कार्यक्रमको मुख्य उद्देश्य नेपालको टुरिज्म बुस्ट नै हो । हामीले नेपालमा शान्ति–सुरक्षा राम्रो छ भन्ने सन्देश पनि दिन खोजिरहेका छौं । हाम्रा लागि भारत र चीनबाट मात्र पर्यटक आए भने पनि त्यसले पर्याप्त लाभ हुन्छ ।
नेपाली कलाकारहरूका लागि यसले के महत्व राख्छ ?
बलिउड तथा नेपाली कलाकारबीचको सहकार्य राम्रो होस् भन्ने हाम्रो चाहना छ । यसपटक हामी नेपाली कलाकारहरूलाई पनि अतिथिहरूसँग चिनजान गराउँदैछौं । किनभने, सलमान खान आफैंमा राम्रो ब्रान्ड हुन् । राम्रो नाफा भयो भने त्यसबाट कुनै राम्रो कार्यका लागि फन्ड बनाऔं भन्ने पनि सोचिरहेका छौं ।
यसअघि तपाईंले कुन–कुन विदेशी कलाकारलाई नेपाल भित्र्याउनुभएको छ ?
ब्रायन एडम्स–२०११ र त्यही वर्षको नोभेम्बरमा माइकल असुल हक डेरिज ब्यान्ड । २०१३ मा आतिफ असलमको शो पनि निकै राम्रो भएको थियो । सलमान खान आउने यो कार्यक्रममा ५० हजार दर्शक सहभागी हुने अपेक्षा हामीले गरेका छौं ।
कार्यक्रमको मुख्य चुनौती के देख्नुहुन्छ ?
हाम्रो यहाँ मुख्य समस्या भनेको स्थान हो । रंगशाला एउटा छ, त्यसको पनि मर्मत भैरहेको छ । टुँडिखेलमा कार्यक्रम गर्दा ठुलो खर्च लाग्छ र व्यवस्थापनमा समेत ठूलो चुनौती छ, हामी त्यसलाई म्यानेज गरिरहेका छौं । टिन ब्यारेगेटिङको व्यवस्था गरिसकेका छौं ।
सेक्युरिटीका विषयमा को–कोसँग छलफल भयो ?
मैले प्रहरी महानिरीक्षकसँग पनि भेटिसकेको छु, उहाँले गो अहेड, राम्रो छ भन्नुभएको छ । हामी सबै टिम बसेर भेन्युको म्याप बनाएर कतिवटा गेट राख्ने, ट्राफिक व्यवस्थापन कसरी गर्ने, कुन–कुन बार (बार्किन) कहाँ लगाउने आदि सबै तयारी गर्दैछौं ।
सलमान खानको पर्सनल सेक्युरिटी कसले दिने भन्ने केही तय भएको छ ?
पर्सनल सेक्युरिटी त उनको आफ्नै हुन्छ । प्रहरीबाट पहिले पिएसओ दिइएको थियो । यसपटक पनि दिइन्छ होला, तर यसपटक चाहिँ हामी प्राइभेट सुरक्षाको व्यवस्था पनि गर्छौं । उहाँहरूले ल्याउने र लिने क्रममा भ्यानले स्कर्टिङ गरिदिनुहुन्छ होला ।
मास कन्ट्रोल कत्तिको चुनौती छ ?
अहिलेका प्रशंसकहरू सभ्य, भलाद्मी र अनुशासित भैसकेका छन् । यो फेस्टिबल टाइपको कार्यक्रम भएकाले सबै दर्शक अनुशासित र सभ्य रूपमा रमाउँछन् । नेपालमा यस्तो ठूलो शो नभएको धेरै भैसकेको छ ।
अघिल्लो पटक अन्तिम समयमा रद्द गरिएको थियो । यसपटक यो सम्भावना त छैन ?
पटक्कै छैन ।
सबै व्यवस्थापनमा कति खर्च गर्दै हुनुहुन्छ ?
यो १५ करोड रुपैयाँको प्रोजेक्ट हो । हामी इभेन्ट म्यानेजमेण्ट कम्पनी भएकाले १०/१५ प्रतिशत लगानी गर्ने हो । त्यसैले हामी स्पोन्सरको आशा गर्छौं । स्पोन्सरले हामीलाई सपोर्ट गर्ने हो, यसपटक हामीले साह्रै राम्रो सपोर्ट पाएका छौं ।
कत्तिको उत्साहित हुनुुहुन्छ, यो इभेन्टलाई लिएर ?
एकदमै उत्साहित छु, धेरै पछि यसरी इन्भेट गर्न लागिरहेका छौं । सलमान खानको ठूलो टिम आउँदैछ । एक्साइटेड नै छु, अलिकति च्यालेन्जिङ पनि छ । आशा गरेअनुरूप कार्यक्रम सफल भयो भने अर्को पटक शाहरूख खानलाई ल्याउन सकिन्छ ।
सीमान्त गुरुङ,
प्रबन्ध निर्देशक, ओडिसी