साप्ताहिक संवाददाता
चलचित्र ‘ऐश्वर्य’ को व्यवसायिक सफलतापछि निर्देशक दीवाकर भट्टराई अनमोल केसीको चलचित्र ‘क्याप्टेन’ को प्रि–प्रोडक्सनमा व्यस्त छन् भने चलचित्रकी नायिका दीपिका प्रसाईं आफ्नो अध्ययन पूरा गर्ने काममा सक्रिय छिन् । निर्माता तथा अभिनेता रमेश उप्रेती आफ्नो चलचित्रलाई विदेशका विभिन्न सहरमा प्रदर्शन गराइरहेका छन् ।
ऐश्वर्यका यी तीन पात्र आ–आफ्नो काममा व्यस्त भैरहेको बेला अघिल्लो साता केही सञ्चारमाध्यममा निर्देशक भट्टराई तथा अभिनेत्री प्रसाईंको प्रेम सम्बन्धका बारेमा गसिपहरू प्रकाशित भए । भ्यालेन्टाइन सप्ताह चलिरहेकाले पाठकहरूले ती गसिपमा खासै ध्यान दिएनन् । यद्यपि गसिपलाई वास्तविकताका रूपमा बुझ्ने क्रम बढेपछि निर्देशक भट्टराईले मुख खोलेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै निर्देशक भट्टराईले उक्त प्रसंगमा आफ्नो मात्र नभइ अभिनेत्री प्रसाईंको समेत आपत्ति रहेको बताएका छन् । ‘हामी दुई आ–आफ्नो व्यवसायिक तथा व्यक्तिगत सम्बन्धभन्दा माथि नरहेको जानकारी गराउँछौं, भट्टराईले भनेका छन्– ‘सत्यता नभएको समाचार तथा गसिपले मानिसको जीवनमा पार्न सक्ने असर तथा त्यसको संवेदनशीलतामा गम्भीर भैदिनुहुन आग्रह गर्छु ।’