गत फेब्रुअरी ९ देखि १४ तारिखसम्म भारतको दिल्लीमा सम्पन्न अटो एक्स्पो–२०१८ मा ६ लाख ५ हजार १ सय ७५ अवलोकनकर्ता उपस्थित थिए । सधैं झै यो वर्ष पनि अटो एक्स्पोलाई दुई भागमा विभाजन गरिएको थियो । ग्रेटर नोयडाको इन्डिया एक्स्पो मार्टमा मोटर शो अर्थात् नयाँ कार तथा मोटरसाइकलहरू प्रदर्शित थिए भने नयाँ दिल्लीस्थित प्रगति मैदानमा अटो पार्ट्स तथा कम्पोनेन्टको प्रदर्शनी भएको थियो । नेपाली बजारमा भारतीय कार तथा मोटरसाइकल कै वचश्र्व रहेको सन्दर्भमा उक्त एक्स्पो नेपालीहरूको पनि चासोमा रह्यो किन भने यही मेलामा सार्वजनिक भएका सवारी साधन ढिलो–चाँडो नेपाल आइपुग्ने छन् ।
चर्चित कार
अटो एक्स्पो–२०१८ मा भारतका साथै संसारका विभिन्न देशका कार निर्माता कम्पनीको सहभागिता थियो । एक्सपोमा मारुती सुजुकी, होन्डा, हुन्डाई, टाटा, महिन्द्रा, बीएमडब्ल्यू र मर्सिडिजका साथै अन्य विभिन्न कम्पनीले आफ्ना ह्याचब्याक, सेडान, एसयुभी एवं कन्सेप्ट कार सार्वजनिक गरेका थिए ।
भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले ‘स्मार्ट मोबिलिटी–स्मार्ट सिटी’ थिममा आफ्ना सवारी साधन प्रदर्शनीमा उतारेको थियो । टाटाले ५ वटा इलेक्ट्रिक कार तथा १ वटा इलेक्ट्रिक बस प्रदर्शनीमा राखेको थियो । उक्त अवसरमा मारुती सुजुकीले पनि आफ्नो आगामी इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गर्यो । कम्पनीले एसयुभी कन्सेप्टमा हाइब्रिड र इलेक्ट्रिक दुवै किसिमका कारलाई प्राथमिकतामा राखेको देखिन्छ ।
‘क्लिन, कनेक्टेड एण्ड कन्भेनियन्ट’ थिमसहित महिन्द्राले भविष्यमा आउने आफ्ना कारको कन्सेप्ट प्रदर्शनीमा देखायो । महिन्द्रा सहरी क्षेत्रलाई उपयुक्त हुने एटम नामक विद्युतीय कार सार्वजनिक गर्यो भने १ वटा बस तथा ३ वटा नयाँ कारको कन्सेप्ट पनि सार्वजनिक गरेको थियो । महिन्द्राले केयुभी ३०० को इलेक्ट्रिक भर्सन सार्वजनिक गर्यो भने होन्डाले आफ्नो हाइब्रिड कार ‘क्यारिटी’ लाई प्रदर्शनीमा राखेको थियो । टोयोटाले ‘प्रियस’ हाइब्रिड कार तथा अन्य ७ वटा मोडलका इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गर्यो । विश्वकै ठूलो विद्युतीय कार निर्माता बन्ने होडमा रहेको कियाले सन् २०२५ सम्ममा २५ वटा नयाँ मोडलका कार उत्पादन गर्ने लक्ष्यलाई एक्स्पोमा सार्वजनिक गरेको थियो ।
हुण्डाई र रेनोले समेत इलेक्ट्रिक भेइकलको कन्सेप्ट सार्वजनिक गरे । मर्सिडिज, बीएमडब्लूजस्ता ब्रान्डले समेत हाइब्रिड तथा इलेक्ट्रिक कारलाई प्राथमिकतामा राख्दै आफ्ना आगामी उत्पादनको कन्सेप्ट सार्वजनिक गरेका थिए । अटो एक्स्पोको सुरुवात नै मारुती फ्युचर एस कन्सेप्टको प्रदर्शनबाट गरिएको थियो । फ्युचर एस मारुती सुजुकीको कन्सेप्ट एसयुभी हो, जुन अन्य एसयुभीभन्दा सानो छ तर बोल्ड लुक्स र फिचरका कारण यसले आफ्नो साइजको कमीलाई पूरा गर्छ । यसको एक्स्टेरियर र इन्टेरियर दुवै शानदार छ । यसमा सेतो कलरको बोर्डरका साथ स्लिक एलइडी हेडलाइट छ भने यसको टायर पनि ठूलो छ ।
टोयोटा यारिस कारलाई पनि अटो एक्स्पोमा निकै नै रुचाइएको पाइयो । भारतमा यो कार यही वर्ष बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । अब टोयोटा यारिसले होन्डाको सिटी, हुन्डाईको भर्ना तथा मारुती सुजुकीको सियाज आदि कारसँग प्रतिस्पर्धा गर्नेछ ।
हुन्डाईले आफ्नो प्रसिद्ध ह्याचब्याक एलिट आई २० को नयाँ भर्सन अटो एक्सपो–२०१८ मा लन्च गरेको
थियो । यसको एक्सटेरियर र इन्टेरियर दुवैमा परिवर्तन गरिएको छ । यसको सेफ्टी फिचरमा विशेष ध्यान दिंदै ड्युअल एयरब्याग र एबीएस उपलब्ध गराइएको छ ।
अटो एक्स्पोमा होन्डा कार्स इन्डियाले आफ्नो नयाँ सबकम्प्याक्ट सेडान भर्सन अमेज प्रदर्शन गरेको थियो । यसको स्टाइलिस लुक्सलाई धेरैले मन पराएको पाइयो । कम्पनीका अनुसार यो कार यही वर्ष भारतीय बजारमा उपलब्ध हुनेछ । सेकेन्ड जेनरेसनको अमेजमा नयाँ बोल्ड डिजाइन, आकर्षक इन्टेरियर, अत्यधिक कार्यकुशल पावरट्रेन, राइड पर्फमेन्स तथा सानदार ड्राइभिङ डाइनामिक आदि विशेषता छन् ।
एचफाइभ एक्स टाटा मोटर्सको कन्सेप्ट एसयुभी हो । यो टाटा मोटर्सको नयाँ इम्प्याक्ट डिजाइन २.० सिद्धान्तमा आधारित छ । टाटाले यो एसयूभीलाई अर्को वर्षको सुरुवातमा बजारमा उतार्ने अनुमान गरिएको छ । अटो एक्सपोमा महिन्द्रा एन्ड महिन्द्राले हाल प्रचलित टीयुभी ३०० मोडलमा आधारित नयाँ र कन्भर्टिबल एसयूभी टीयूभी स्टिंगरको कन्सेप्ट मोडल सार्वजनिक गरेको थियो । चार सिटयुक्त उक्त कन्भर्टिबल एसयुभीमा महिन्द्राले एमहक डिजेल इन्जिन प्रयोग गरेको छ । यसले १४० बीएचपी पावर तथा ३२० एनएम टर्क प्रदान गर्छ । एसयुभी र कन्टभर्टिबल दुवै मोडलमा अब्बल सावित हुन कम्पनीले यस्तो कन्सेप्ट निर्माण गरेको बताएको छ ।
एक्स्पोमा दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले एसपी कन्सेप्ट एसयुभी सार्वजनिक गरेको थियो । उक्त कार भारतमा सन् २०१९ को अन्त्यसम्ममा उपलब्ध हुने बताइएको छ । यसको अघिल्लो भागमा रहेको एलइडी फ्रन्ट र पछिल्लो भागको टेल लाइट, स्लोपिङ रुफलाइन र कन्ट्रास्ट रुफका साथमा भएका अन्य फिचर हेर्दा यो भविष्यको उपयुक्त कार भएको अनुमान गर्न गाह्रो पर्दैन ।
लक्जरी कार निर्माताका रूपमा परिचित मर्सिडिज बेन्जले एस सिरिजको लक्जरी कार मेब्याक एस ६५० लाई एक्स्पोमा राखेको थियो । अटो एक्सपोमा रेनोले नयाँ कन्सेप्ट कार ‘ट्रेजर’ प्रदर्शन गरेको थियो । यसलाई अटो एक्सपोको सर्वाधिक हट कार मानिएको छ । पूरै छत खुल्ने भएकाले यो कारमा सेल्फी लिनेहरू निकै थिए । यसको क्याबिन विशेष प्रकारको छ, जसलाई ज्वेलरी बक्स खोले जसरी खोल्न सकिन्छ । यो जीटी कन्सेप्टको दुई सिटे कार हो । यसलाई सबैभन्दा पहिले सन् २०१६ को पेरिस मोटर शोमा प्रदर्शन गरिएको थियो । यसमा फर्मुला ईमा आधारित ३ सय ५० बीएचपीको मोटर छ, जसले पछिल्लो पांग्रामा पावर पठाउँछ । यसले रेनोको भविष्यको डिजाइन फिलोसोफीलाई समेत प्रदर्शन गरेको बताइएको छ ।
लोभ लाग्दा बस
दिल्ली अटो एक्सपोमा विभिन्न कम्पनीले आकर्षक बस प्रदर्शन गरेका थिए । यी बसका बारेमा सुन्दा जो कोही अचम्मित हुन सक्छन् । खासगरी इलेक्ट्रिक बस तथा त्यसमा भएका विभिन्न फिचरका कारण यी बसले धेरैको ध्यान खिचेको बताइन्छ ।
पिनेक्कल स्पेसियालिटी कम्पनीले निर्माण गरेको बस कुनै लक्जरी अपार्टमेन्टको ड्रइङ रुम जस्तो लाग्छ । यो बसको नाम फिनेत्जा हो । यसको लम्बाइलाई डेढ मिटरसम्म बढाउन सकिन्छ । त्यसैगरी टाटाको म्याग्ना बस अर्को आकर्षक बस हो । यो बसमा ट्वाइलेट, किचेन, सीसीटिभी, दुईवटा टिभी तथा रिभर्स क्यामेरा छन् । यसका १९ सिट इकोनोमिक तथा १९ सिट बिजनेस क्लासका छन् ।
जेबीएम कम्पनीले ५ मिनेटमै चार्ज हुने इको लाइफ इलेक्ट्रिक बस ल्याएको छ । यो बस फुल चार्जपश्चात् १ सय ५० देखि २ सय किलोमिटरसम्म गुड्न सक्छ । यसको ब्याट्री एकदेखि डेढ घण्टामै फुल चार्ज हुन्छ । बसमा दुईवटा सीसीटिभी क्यामेराका साथै प्रत्येक सिटमा स्टप बटन दिइएको छ ।
अशोक लेल्यान्डले सर्किट एस नामक इलेक्ट्रिक बस उपलब्ध गराएको छ । यसको ब्याट्री चार्ज गर्न कतै रोकिनु पर्दैन । यो बस एक पटक फुल चार्ज गरेपछि ५० किलोमिटरसम्म चल्न सक्छ । ब्याट्रीको चार्ज सकिए पछि इन्टरचेन्ज स्टेसनमा ब्याट्री परिवर्तन गर्न सकिन्छ । यसको ब्याट्री परिवर्तन गर्न एकदेखि दुई मिनेट मात्र लाग्छ ।