साप्ताहिक संवाददाता
सयौं म्युजिक भिडियोमार्फत दर्शकमाझ पुगिसकेका अभिनेता पुष्प खड्कालाई निर्देशक तुलसी घिमिरेले चलचित्र दर्पण छायाँ–२ मार्फत रजतपटमा भित्राएका थिए । यद्यपि उक्त चलचित्रले व्यवसायिक सफलता हासिल नगरेपछि पुष्पको राम्रो अभिनयले पनि खासै भाउ पाएन । उक्त चलचित्रमा पुष्पले निर्वाह गरेको भूमिकाबाट निर्देशक नवल नेपाल भने प्रभावित थिए । नवलले पुष्पले कुनै पनि चरित्रलाई कतिसम्म न्याय गर्न सक्छन् भन्ने कुराको मूल्यांकन गरे ।
फलस्वरूप उनले आफ्नो महत्वाकांक्षी चलचित्र ‘मंगलम’ मा पुष्पलाई एउटा चुनौतीपूर्ण भूमिकामा प्रस्तुत गरे । यतिबेला उक्त चलचित्र प्रदर्शनको दोस्रो साता पूरा गरी तेस्रो सातामा प्रवेश गरिसकेको छ भने पुष्पले निर्वाह गरेको भूमिकाले चौतर्फी प्रशंसा पाइरहेको छ ।
पुष्पका समकालीन कलाकारदेखि अग्रज कलाकारसम्मले पुष्पको अभिनयको प्रशंसा गरेका छन् भने आमदर्शक पनि उनको प्रशंसक भएका छन् । मंगलमको व्यवसायिक सफलतासँगै अभिनेताका रूपमा स्थापित हुने सम्भावना देखाइसकेका पुष्पप्रति ठूलो ब्यानरका निर्माताहरूले समेत चासो देखाउन थालेका छन् ।