साप्ताहिक संवाददाता
अप्रिल फूललाई झुक्याउने, झूट बोल्ने र रमाइलो गर्ने अवसरका रूपमा लिइन्छ । अप्रिल १ का दिन केही रमाइला प्रसंग तथा अफवाहमार्फत आनन्द लिने प्रयास गरिन्छ । सन् २०१३ मा बीबीसीले केही यस्तै रमाइला समाचार तयार पारेको थियो ।
गुगल नोज : कम्प्युटरबाट आउनेछ सुगन्ध
गुगलले आफ्नो होमपेजमा एउटा नयाँ लिंक राखेको छ, जसमा लेखिएको छ— गुगल नोज । बेबसाइटले एउटा भिडियो अपलोड गर्दै दाबी गरेको छ कि यो एउटा यस्तो सुविधा हो, जसबाट पाठकले आफूलाई मन परेको सुगन्ध लिन सक्नेछन् । गुगल सर्चमा टाइप गरेका आधारमा चिया, फूल आदि आफूलाई मन परेको कुराको सुगन्ध आउनेछ । एकछिन है, यो ठट्टा मात्र हो, के तपाईं कम्प्युटरको स्क्रिन सुँघ्न थाल्नुभएको त छैन ?
गार्डियन समाचार दिने चस्मा बेलायती अखबार गार्डियनले एउटा अनौठो चस्मा बजारमा उतार्ने घोषणा गरेको छ । त्यो यस्तो चस्मा हुनेछ, जसलाई लगाएर हेर्दा आँखा जता पर्छ, त्यससँग जोडिएका सबै जानकारी र सन्दर्भ आँखा अगाडि लिखित रूपमा देखिनेछ । यस्तो चमत्कारिक चस्मासम्बन्धी जानकारी अखबारका सम्पादकले एक भिडियोमार्फत दिएका हुन् । भिडियोको अन्तमा अखबारले भनेको छ कि यो चस्मा कुनै स्टोरमा उपलब्ध छैन, यसलाई अनलाइन अर्डर गर्नुपर्नेछ र त्यो एक वर्षपछि प्राप्त गर्न सकिनेछ । अब तपाईं उक्त चस्मा अर्डर गर्नतिर चाहिँ नलाग्नुहोला नि ।
ट्विट लेखेको पैसा तिर्नुपर्ने ट्विटरको खस्कँदो आर्थिक स्थितिलाई माथि उठाउन ट्विटरले अंग्रेजी स्वरवर्ण (ए, ई, आई, ओ, यू) अक्षरबाट आउने शब्द लेखे शुल्क लाग्ने व्यवस्था गर्ने भएको छ । यद्यपि व्यञ्जन वर्णबाट आउने शब्द लेख्दा भने कुनै शुल्क लाग्नेछैन । ट्विटरले आफ्नो वेबसाइटमा ब्लग लेख्दै स्वरवर्णबाट ट्विट लेख्न चाहने प्रयोगकर्ताले मासिक ५ डलर तिर्नु पर्ने घोषणा गरेको हो ।
युट्युब बन्द हुने भिडियो अपलोड गर्ने लोकप्रिय बेवसाइट युट्युब बन्द हुने भएको छ । ३१ मार्चमा एक विज्ञप्ति जारी गर्दै युट्युबले १ अप्रिलदेखि आफ्नो बेबसाइट बन्द हुने घोषणा गरेको हो । आठ वर्षअघि सुरु गरिएको युट्युबको उद्देश्य संसारकै सबैभन्दा राम्रो भिडियो खोज्ने रहेको बेबसाइटमा उल्लेख छ । युट्युबका अनुसार उसले एउटा प्यानल बनाएको छ, जसमा संसारभरका चुनिएका फिल्म क्रिटिक्सहरू छन्, जसले यसअघिका १० वर्षमा अपलोड गरिएका हजारौं भिडियो हेर्नेछन् । बेबसाइटका अनुसार २०२३ मा सबैभन्दा राम्रो भिडियो विजेताको नाम घोषणा गरिनेछ ।
चिन्ता नगर्नुहोस्, युट्युबले अहिले पनि काम गरिरहेको छ ।
कुकुर बिरालाका लागि सोनीको ऐनिमेलिया
इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने कम्पनी सोनीले इन्टरनेटमार्फत एउटा अनौठो जानकारी बाहिर ल्याएको छ । सोनीले चारखुट्टे जनावरहरूको आवश्यकतालाई ध्यानमा राख्दै एउटा विशेष प्रोडक्ट बजारमा ल्याउने तयारी गरेको जानकारी दिएको हो । सोनीले तयार पार्ने उक्त विशेष प्रोडक्ट ‘ऐनिमेलिया’ नामक टेलिभिजन हुनेछ, जसको रंग कुकुरको आँखालाई ध्यानमा राख्दै ट्रान्समिट हुनेछ । यसमा पन्जाले चलाउन मिल्ने रिमोट पनि उपलब्ध हुन्छ । यसको अर्को विशेषता हो हेडफोन— संगीत मन पराउने बिरालाहरूका लागि । सोनीले पिँजडामा फिट गर्न सकिने स्पिकर हैमस्टर्स पनि तयार पारेको छ, जसले गर्दा जनावरहरू पनि मानिसले जस्तै स्पिकरमा संगीत सुनेर काम गर्न सक्छन् ।
कहाँ–कसरी मनाइन्छ ?
विभिन्न देशमा विभिन्न किसिमले अप्रिल फूल मनाइन्छ । अप्रिल फूललाई मनोरञ्जक बनाउने आ–आफ्नै शैली छन् ।
जापान : यो दिन जापानमा चंगा उडाउने चलन छ । बालबालिकाहरू आफ्नो चंगामा इनाम लेखेर उडाउँछन् । उक्त चंगा पक्रेर इनाम माग्न आउनेहरू अप्रिल फूल बन्छन् ।
इंग्ल्यान्ड : इंग्ल्यान्डमा अप्रिल फूलको दिन अत्यन्तै मनोरञ्जक एवं रोचक कार्यक्रमहरू आयोजित हुन्छन् । ती कार्यक्रममा मुर्खताले भरिपूर्ण गतिविधिमार्फत एक–अर्कालाई मनोरन्जन प्रदान गरिन्छ ।
स्कटल्यान्ड : स्कटल्यान्डमा मुर्ख दिवसलाई हन्टिङ द फूलको नामले चिनिन्छ । यो दिन कुखुरा चोर्नु त्यहाँको विशेष परम्परा मानिन्छ । यसमा कुखुराको मालिकले पनि नराम्रो मान्दैनन् ।
डेनमार्क : डेनमार्कमा अप्रिल १ मै अप्रिल फूल मनाइन्छ, त्यहाँ यसलाई ‘मज कट’ भन्ने चलन छ ।
इटली, फ्रान्स, बेल्जियम तथा नेदल्यान्ड्स : फ्रेन्च भाषा पनि बोलिने यी देशमा कागजको माछा बनाएर मानिसको पछाडि टाँसिदिएर मूर्ख बनाइन्छ ।
इरान : फारसी नववर्षको १३ औं दिन एक–अर्कालाई हैरान पार्ने काम हुन्छ, जुन १ वा २ अप्रिलका दिन पर्छ ।