साप्ताहिक संवाददाता
अभिनेत्री वर्षा राउत झन्डै तीन महिना अष्ट्रेलिया बसेर केही साताअघि स्वदेश फर्किइन् । भन्नेहरूले उनी सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन अष्ट्रेलिया गएको भने, यद्यपि उनले त्यहाँ कुनै कार्यक्रममा सहभागिता जनाएको तस्बिर सार्वजनिक भएन । कार्यक्रममा सहभागिता नै नजनाएपछि तस्बिर सार्वजनिक हुने कुरै थिएन । त्यसो भए के उनी बिदा मनाउन मात्र अष्ट्रेलिया पुगेकी थिइन् त ?
निकटतम सहकर्मीहरूका अनुसार वर्षा आफ्नो मोटो ज्यान घटाउन अष्ट्रेलिया पुगेकी थिइन्, तर स्वदेश फर्कंदा उनको तौल घटेको देखिएन । तौल बढी भएकै कारण उनले चलचित्र ‘शत्रुगते’ मा प्रियंका कार्कीले निर्वाह गरेको भूमिका गुमाउनुपरेको थियो । निर्देशक विकास आचार्यको चलचित्र ‘नाइँ नभन्नु ल–५’ को एउटा भूमिका उनी आफैंले अस्वीकार गरिन् ।
अभिनेत्री स्वस्तिमा खड्काकी दिदीको भूमिकामा प्रस्ताव गरिएपछि वर्षाले उक्त काम छाडेकी हुन् । निर्देशक आचार्यकै चलचित्र ‘नाइँ नभन्नु ल–४’ मार्फत रजतपटमा पदार्पण गरेकी वर्षाले त्यही चलचित्रको नयाँ श्रृंखलामा अभिनय नगर्नुका पछाडि बढ्दो तौलले भूमिका निर्वाह गरेको बताइन्छ । त्यसो त वर्षालाई उनको मोटो ज्यानमै मन पराउने दर्शकहरूको संख्या पनि उत्तिकै छ ।