साप्ताहिक संवाददाता
निर्देशक : यादवकुमार भट्टराई
कलाकार : रामनारायण ठाकुर, राजेश सक्सेना तथा डोली सरकार
तराईमा व्याप्त दाइजो प्रथालाई मुख्य विषय बनाइएको चलचित्र भोर आजदेखि प्रदर्शनमा आएको छ । यादवकुमार भट्टराईले चर्चित चलचित्र झोला कै ब्रान्डमा चलचित्र भोरको निर्देशन गरेका हुन् । त्यसैले पनि यो चलचित्रप्रति दर्शकको राम्रै चासो छ । चलचित्रको कथा कृष्ण धारावासीले लेखेका हुन । सम्पूर्ण छायांकन जनकपुरमा गरिएको चलचित्र भोरमा मुख्यत: मिथिलाञ्चलको प्रमुख समस्या दाइजो प्रथाका विभिन्न पाटो केलाइएको छ ।
मिडिया फर कल्चरको ब्यानरमा निर्मित यो चलचित्रमा प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पूजा कर्ण आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रका सबैजसो कलाकार स्थानीय छन, जहाँ रंगमञ्चका धुरन्धरदेखि नयाँ अनुहारसम्म अटाएका छन् । यो चलचित्रलाई दीपक बज्राचार्यले खिचेका हुन् ।