साप्ताहिक संवाददाता
हिजोआज प्रविधिको क्षेत्रमा नयाँ शब्द थपिएको छ– ब्लकचेन । ब्लकचेनको सहयोगमा सुरक्षित एवं तत्काल आर्थिक लेनदेन गर्न सकिन्छ, तर यसको कार्य यतिमै सीमित छैन । यसको प्रयोग कानुनी कागजात, विभिन्न तथ्यांक तथा निजी दस्तावेजलाई सुरक्षित राख्ने कार्यमा समेत गर्न सकिन्छ । त्यसैगरी सूचना प्रविधि तथा तथ्यांक प्रशोधन, बैंकिङ एवं बिमा, डिजिटल प्रमाणीकरण, साइबर सेक्युरिटी, क्लाउड स्टोरेज, ई–गभर्नेन्स, ई–भोटिङ आदिमा समेत यसको प्रयोग गर्न सकिन्छ । यसका लागि विभिन्न देशमा आवश्यक कार्य प्रारम्भ भैसकेको छ ।
के हो ब्लकचेन ?
लाखौं कम्प्युटरलाई आपसमा जोडेर इन्टरनेटको आविष्कार भएजस्तै डाटा ब्लकको लामो श्रृंखलालाई जोडेर ब्लकचेन बनाइन्छ । इन्टरनेट, पर्सनल की तथा प्रोटोकल नियन्त्रण गरी तीन अलग–अलग प्रविधिको संयोजन नै ब्लकचेन हो ।
ब्लकचेन एक प्रकारको डिजिटल प्लेटफर्म हो, जसमा डिजिटल रकम मात्र नभै कुनै पनि वस्तुलाई डिजिटल बनाएर रेकर्ड राखिन्छ । यसमार्फत धनको लेनदेन वा अन्य जानकारी संग्रह गरिन्छ, तर यसका लागि कुनै बैंक वा वित्तीय संस्था अथवा अन्य कुनै विचौलियाको आवश्यकता हुँदैन । ब्लकचेन नेटवर्कमा भएका संसारका सबै मानिसलाई उक्त कारोबारका बारेमा जानकारी हुन्छ । संसारमा भएका लाखौ कम्प्युटर नेटवर्कमा उक्त कारोबारको जानकारी सुरक्षित रूपमा संग्रहित भएर बस्छ । एक–अर्कामा धनको हस्तान्तरण पनि सहज तरिकाले हुन्छ र ह्याकिङ वा कुनै अन्य डर पनि हुँदैन । यसका लागि कुनै शुल्कसमेत लाग्दैन ।
ओपन लेजर
ब्लकचेनको केन्द्रमा ‘ओपन लेजर’ को अवधारणा लागू गरिएको छ । संसारका सबै बैंकको आफ्नो लेजर अर्थात् खाताबही हुन्छ । उक्त लेजरमा सबै कारोबारको विवरण राखिन्छ र सबै काम बैंकका कर्मचारीहरूले गरिरहेका हुन्छन् । यो एक प्रकारको बन्द प्रणाली हो जसको कारोबारको जानकारी अरूलाई हुँदैन, तर ओपन लेजर त्यसको ठीक विपरीत अवधारणा हो । कुनै व्यक्ति वा संस्थाले ओपन लेजरको सहयोगले अर्को व्यक्ति वा संस्थालाई कुनै धनराशि पठाए एक स्थानमा अपडेट गरिन्छ र उक्त अपडेट अर्को ब्यक्तिको खातामा पनि जान्छ ।
ब्लकचेनमा ओपन लेजर हुन्छ । यसमा कुनै व्यक्तिको कारोबार केन्द्रीकृत रूपमा गरिँदैन । संसारभर रहेका अनगिन्ति कम्प्युटरमा यसको प्रतिलिपि सुरक्षित रूपमा राखिएको हुन्छ । ब्लकचेनको माध्यमबाट गरिएका सबै लेनदेन अनगिन्ति नेटवर्कमा इन्ट्री हुन्छ । ब्लकचेन नेटवर्कमा जोडिएका कम्प्युटरलाई ‘नोड’ भनिन्छ ।
नेटवर्कमा प्रत्येक दस मिनेटको अन्तरमा सबै नोडमा भएका लेजर अपडेट भैरहेको हुन्छ । यसको अर्थ कुनै नयाँ कारोबार भयो भने पनि दस मिनेट भित्रै उक्त जानकारी सबै कम्प्युटरमा अपडेट हुन्छ र सम्बन्धित व्यक्ति समक्ष आवश्यक रकम पुग्छ । त्यहाँ बैंकको कुनै भूमिका हुँदैन । यद्यपि उक्त कारोबारको जानकारी संसारका सबै व्यक्तिलाई हुन्छ ।
सुरक्षित कारोबार र जानकारी
ब्लकचेनमा गरिने इन्ट्री ब्लकका रूपमा हुन्छ । प्रत्येक लेनदेनसँग सम्बन्धित ब्लकलाई सिरिजका रूपमा आपसमा जोडिन्छ । यसका कारण प्रत्येक सूचनालाई बीचमा विच्छेद गर्न सकिँदैन । यदि कुनै ब्लक बीचमा छुट्यो भने सिरिज टुट्छ र कतै गल्ती भयो भनी तुरुन्तै पत्ता लाग्छ । यसकारण पनि ब्लकचेन सुरक्षित भएको हो । कुनै ह्याकरले उक्त लेजरको सिरिजलाई टुटाएर ह्याक गर्न सक्दैन ।
यो एक ओपन र वितरित लेजर हो । यदि कुनै एक, दुई, दस वा सय कम्प्युटर ह्याक गरे पनि संसारभर रहेका लाखौ नोडमा यसको डाटा सुरक्षित हुन्छ । यदि कसैले समग्र ब्लकचेन नेटवर्क नै ह्याक गर्न चाह्यो भने वा विश्वव्यापी ब्लकचेन नेटवर्क नै ध्वस्त पार्न चाह्यो भने विश्वभर रहेका आधाभन्दा बढी नोड ध्वस्त पार्नु पर्ने हुन्छ, जुन लगभग असम्भव छ । यसकारण पनि लेनदेन प्रणालीको भविष्य ब्लकचेनमा निहित रहने भविष्यवाणी गरिएको हो ।