साप्ताहिक संवाददाता
चलचित्रको आफ्नो भूमिकाका लागि कलाकारले कतिसम्म गर्न सक्छन् ? नयाँ अभिनेता कबिर खड्का समक्ष यो जिज्ञासा राख्ने हो भने रमाइलो जवाफ पाइनेछ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लम्फू’ का अभिनेता खड्काले चलचित्रको एउटा महत्वपूर्ण दृश्यका लागि एक वर्षभन्दा लामो समय दार्ही पालेको रहस्य सार्वजनिक गरेका छन् ।
चलचित्रका अधिकांश अभिनेताले आफ्नो भूमिकाका लागि नक्कली दार्ही–जुँगा प्रयोग गर्ने चलन चलिरहेका बेला कबिरले भने चलचित्रको क्लाइमेक्सका लागि झन्डै १४ महिना दार्ही पाले । ‘आफ्नो चरित्रलाई वास्तविकतासँग नजिक पुर्याउन म एक वर्षभन्दा लामो समय दार्ही पालेर बसें, कबिर भन्छन्– ‘जेलको कैदीको भूमिकाका लागि निर्देशक गोपाल चन्द्र लामिछानेले दार्ही पाल्न आग्रह गर्नुभयो ।
निर्देशकको आग्रहबमोजिम मैले एक दिनको छायांकनका लागि आफ्नो दार्हीलाई निरन्तरता दिइरहें ।’ उक्त अवधिमा कबिरले दार्हीकै कारण केही चलचित्र तथा विज्ञापनको प्रस्ताव अस्वीकार गरेको समेत बताएका छन् ।