साप्ताहिक संवाददाता
अभिनेता प्रदीप कार्की यतिबेला नेपाली चलचित्रको हट केक भएका छन् । प्राय: लभर ब्वाइको भूमिकामा प्रस्तुत हुने प्रदीपले चलचित्र प्रेमगीतका दुई श्रृंखला तथा लिलिबिलीमार्फत दर्शकको मन जितिसकेका छन् । उनले अभिनय गरेका हरेक चलचित्र व्यवसायिक रुपमा सफल हुन थालेपछि ठूला ब्यानरले समेत उनको समय पर्खन थालेका छन् ।
गोपीकृष्ण मुभिजले समेत उनलाई आफ्नो चलचित्रमा आबद्ध गरेको छ । छायांकनका क्रममा रहेको निरक पौडेलद्वारा निर्देशित चलचित्र ‘रोजी’ प्रदीपको पछिल्लो चलचित्र हो । रमाइलो कुरा के छ भने यो चलचित्रमा उनलाई एउटा पृथक गेटअपमा देख्न सकिन्छ ।
आफ्नी प्रेमिकाको हत्याराको भूमिका निर्वाह गरिरहेका प्रदीप लामो केश अनि झ्याप्प दारी पालेको कैदीका रूपमा प्रस्तुत भएका छन् । चकलेटी अनुहारका प्रदीप यो नयाँ गेटअपमा निकै फरक देखिएका छन् । यद्यपि प्रदीपलाई यो फरक गेटअपमा दर्शकले चाहिँ कत्तिको रुचाउने हुन्, हेर्न बाँकी नै छ ।