साप्ताहिक संवाददाता
गत साता कजाखस्तानमा सम्पन्न अस्परा फेसन विकमा फेसन डिजाइनर रस्ना श्रेष्ठ मुसीले नेपालको प्रतिनिधित्व गरिन् । २० देशका फेसन डिजाइनरसँगै मुसीले आफ्ना १४ वटा पहिरनमा अन्तर्राष्ट्रिय मोडलहरूलाई र्याम्पमा उतारेकी थिइन् । रस्ना नेपालबाट आफू छानिए पछि नै कसरी उत्कृष्ट डिजाइन दिने भनेर लागि परेकी थिइन् । रस्नाका अनुसार कुनै पनि डिजाइनमा डिजाइनरको आफ्नोपन हुनै पर्छ । उक्त फेसन शोका लागि उनले ह्यान्डमेड फेब्रिक, आफैंले बुनेको उलनको पहिरन, वान पिस तथा कोटहरू तयार पारेकी थिइन् ।
रस्नाका पहिरन प्राकृति त्यसमा पनि विशेष गरेर समुद्रको रंगमा केन्द्रित थिए । उक्त फेसन शोमा प्रस्तुत रस्नाका पहिरन नेपाली फेब्रिकलाई पाश्चात्य शैलीमा ढालेर तयार पारिएका थिए । रस्नाका सबै पहिरन वेरेबल तथा एलिगेन्ट थिए, जसका कारण पनि उनले प्रसस्त प्रशंसा प्राप्त गरिन् । रस्ना पहिलेदेखि नै फेसन शोहरूमा बाहिर लगाएर हिँड्न मिल्ने पहिरन नै उतार्छिन् । श्रेष्ठ भन्छिन्– फेशन शोमा प्रस्तुत गरिने पहिरन जो कसैले लगाएर हिँड्न सक्नुपर्छ । नेपालमा श्रेष्ठको मुसी ब्रान्ड फेसनप्रेमीहरू माझ लोकप्रीय हुँदैछ । उनको यो छैटौं अन्तर्राष्ट्रिय प्रदर्शन हो । युवा पुस्ताकी नेपाली फेसन डिजाइनर रस्नाले यसअघि क्यानाडा, अष्ट्रेलिया, भारत, बंगलादेश तथा अमेरिकाका फेसन शोहरूमा सहभागिता जनाइसकेकी छिन् ।
अन्तर्राष्ट्रिय शोहरूमा सहभागी हुँदा आउटफिट तथा फेसन ट्रेन्डलाई नजिकबाट नियाल्न पाइने रस्नाको अनुभव छ । नेपालको प्रतिनिधित्व गर्दा रस्ना नेपाली फेब्रिकलाई नै पहिलो प्राथमिकता दिन्छिन् । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली फेब्रिकको माग पनि बढ्ने कुरा बताउँदै श्रेष्ठ भन्छिन्– हामीसँग नै यति राम्रा–राम्रा फेब्रिक छन् भने किन विदेशी फेब्रिक प्रयोग गर्ने ? कजाखस्तानको उक्त ३ दिने शोमा नेपाली डिजाइन धेरैले रुचाएको देखेर उत्साहित रस्ना नेपाल फर्किसकेकी छिन् ।
मेरा उलन कलेक्सन महँगै छन्
अन्तर्राष्ट्रिय फेसन शोहरूमा कसरी अवसर पाइरहनुभएको छ ?
नेपालमा गरेका फेसन शोहरूको तस्बिर इन्टरनेटमा हेरेरै पहिलो अफर क्यानाडावाट आयो । त्यसपछि विभिन्न देशबाट नेपालको प्रतिनिधित्व गर्न बोलाइँदै आएको छ ।
विदेशमा शोका लागि जाँदा कति खर्च हुन्छ ?
अहिलेसम्म गएका देशहरूमा आयोजकले नै आउने, जाने, बस्ने, खाने सबै व्यवस्था मिलाउँदै आएका छन् । बरु त्यहाँ बिक्री भएका पहिरनबाट थप आम्दानी हुन्छ ।
कजाखस्थानमा भएको फेसन शोका लागि उलन फेब्रिक छान्नुको कारण ?
कजाखस्थान चिसो देश भएकाले त्यो ठाउँलाई नै लक्षित गरी पहिरन तयार पार्ने सोच आयो । नयाँ कन्सेप्ट सोच्दासोच्दै उलनलाई हातैले बुनेर पहिरन बनाएँ भने मेहनतअनुसार मेरो पहिरन बिक्री पनि भए ।
तपाईंका यी पहिरन कत्तिको महँगा छन् ?
एउटै पहिरन बनाउँदा तीन हप्ता लाग्यो । समय, मेहनत र कन्सेप्टअनुसार महँगै छन् । २ सय डलरदेखि ४ सय डलरसम्मका पहिरन छन्, जुन नेपालमा १ सय ५० डलर देखि ३ सय डलरसम्ममा बिक्री गर्छु ।
नेपालमा यति महँगो क्याजुअल पहिरन बिक्री हुन्छ र ?
जसले मेहनत र डिजाइनरको महत्व बुझ्छ, उनीहरूले मेरा पहिरन खरिद गर्छन् । यी ह्यान्ड मेड उलन ड्रेस कसैले कपी गर्छु भन्दा पनि दुरुस्त निकाल्न सक्दैनन् ।
रस्ना श्रेष्ठ मुसी, फेसन डिजाइनर