साप्ताहिक संवाददाता
विपिन कार्की प्रतिभाशाली कलाकार हुन् भन्ने कुरामा एक प्रतिशत पनि शंका छैन । पशुपति प्रसाद, जात्रा जस्ता चलचित्रमा उत्कृष्ट अभिनय गरेपछि उनको पारिश्रमिकले पनि २० लाख रुपैयाँको सीमा पार गर्यो । विपिनले अभिनय गरेका चलचित्रहरू पालै–पालो सफल भएपछि उनलाई चलचित्रमा लिन चाहने निर्माता–निर्देशकहरूको संख्या समेत ह्वात्तै बढ्यो ।
धेरैभन्दा धेरै चलचित्रबाट प्रस्ताव आएकाले विपिनले अभिनयलाई निरन्तरता दिइरहे । दर्शकमाझ राम्रो क्रेज भएकाले निर्माताले उनलाई भने जति पारिश्रमिक दिन गाह्रो मानेनन् भने वितरणले पनि उनका चलचित्र लिन हिच्किचाएनन् । पछिल्ला केही महिनायता विपिनले अभिनय गरेका तीन चलचित्र पालैपालो प्रदर्शनमा आए । विडम्बना, तीनवटै चलचित्र व्यवसायिक रूपमा असफल भए ।
सुरुमा चलचित्र लालपुर्जाले लगानी समेत सुरक्षित गर्न सकेन । चलचित्र नाकाको अवस्था पनि उस्तै रह्यो अर्थात यसले धेरै दिनसम्म सिनेमा हलमा बस्न पाएन । अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘हरि’ बाट विपिन निकै आशावादी थिए । समीक्षकहरूले उत्कृष्ट रेटिङ गरे पनि दर्शकले यसलाई रुचाएनन् । यति भएपछि उनका चलचित्रले असफलतामा ह्याट्रिक गरे भन्दा के फरक पर्ला र ?