साप्ताहिक संवाददाता
चर्चित रियालीटी सो हिमालय रोडिजको दोस्रो संस्करण प्रारम्भ भएको छ । साउन १४ सुरु भएको यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण भैरहेको छ । युवापुस्तामा लक्षित यो एड्भेन्चर रियालीटी शोको अघिल्लो संस्करणमा समन श्रेष्ठ तथा अनिमेश शाही विजेता भएका थिए । यो शोमा रेमनदास श्रेष्ठ, दिया मास्के तथा अशिष राना ‘लाउरे’ यो वर्ष पनि निर्णायकको भूमिकामा देखिने छन् ।
कुल १८ श्रृंखला प्रशारण हुने रियालिटी शो हिमालय रोडिजका ५ वटा श्रृंखलामा चितवन, बुटवल, पोखरा, इटहरी तथा काठमाडौंको अडिसन समेटिनेछ भने बाँकी १३ वटा श्रृंखलामा जर्नी राउन्ड प्रस्तुत हुनेछ । सामाजमा सजिलै खुलेर बोल्न नसकिने विषयहरूलाई गत संंस्करणभन्दा यो संस्करणको अडिसनमा अझ सशक्त ढंगले समेटिएको निर्देशक अमन प्रताप अधिकारीले बताए ।
हिमालय रोडिजको विजेताले २० लाख रुपैयाँसम्मको नगद तथा यामाहा एफ जेड्– २५० सीसीको मोटर साइकल प्राप्त गर्नेछन । हरेक साताको सोमबार साँझ आठ बजे हिमालय रोडिजको प्रसारण हुनेछ भने यसलाई युट्युबमा समेत हेर्न सकिनेछ । भारतलगायत दक्षिण एसियामा निकै प्रख्यात रहेको यो एड्भेन्चर रियालटी शो एम टिभी रोडिजको फ्रेन्चाइज हो ।