नाम चलेका र धेरै म्युजिक कम्पनीले पत्याएका गायक हुन्— प्रमोद खरेल । उनका गीत विभिन्न म्युजिक कम्पनीका युटुयुब च्यानलमा लाखौं पटक हेरिएका छन् । युटुयुबमार्फत प्रमोदका गीतको व्यापार गरेर पैसा असुलिरहेका कुनै पनि म्युजिक कम्पनीले आजसम्म उनलाई एक रुपैयाँ रोयल्टी दिएका छैनन् । आफ्ना कुन गीतका कारण कुन म्युजिक कम्पनीले कति आम्दानी गर्यो, आफूले कति रोयल्टी पाउनुपर्ने हो, त्यसको कुनै हिसाव–किताब नै नभएको गायक खरेल बताउँछन् ।
नेपाली गीत–संगीतको युट्युब व्यापार हेर्दा संगीतकार राजनराज शिवाकोटी सबैभन्दा भाग्यमानी सर्जक देखिन्छन् । उनका कैयौं गीतले पटक–पटक कीर्तिमान बनाएका छन् । आफ्ना गीतले युट्युबमा करोडौं दर्शक पाए पनि रोयल्टीका रुपमा एक रुपैयाँ नबुझेको शिवाकोटीको दाबी छ । साना ठूला सबैजसो म्युजिक कम्पनीमा आफ्ना गीत भए पनि कुनै म्युजिक कम्पनीले तिम्रो गीतले युट्युबबाट गरेको आम्दानी यति हो, यति रोयल्टी तिम्रो नाममा भनेर उनलाई हिसाब देखाएका छैनन् ।
संगीतको बजारमा चलेका संगीतकार हुन्– अर्जुन पोखरेल । नेपालका साना–ठूला सबैजसो म्युजिक कम्पनीका युट्युब च्यानलमा उनका गीत अपलोड भएका छन् । अन्य सर्जकको जस्तै अर्जुनको पनि गुनासो छ, —उनले आजसम्म युट्युबको रोयल्टीबापत कुनै पनि म्युजिक कम्पनीबाट पैसा बुझेका छैनन् ।
झन्डै १ सय २० वटा आफ्ना गीत विभिन्न म्युजिक कम्पनीका युटुयुबमा रहेको बताउने गीतकार विपिन किरणसँग पनि आफ्नै खालको पीडा छ । कतिपय आफ्नै लगानीमा रेकर्ड भएका र म्युजिक भिडियो निर्माण भएका गीत/संगीत पनि विपिनले एक रुपैयाँ पाएका छैनन् ।
गायक शिव परियारको पनि उस्तै दुखेसो छ । गायिका जानकी तारमी मगरले पनि आफैले लगानी गरेका गीत/संगीतले युट्युबमा व्यापार गरेबापत पाउनुपर्ने रोयल्टी बुझ्न पाएकी छैनन् । संगीतकार हरि लम्साल पनि गीत/संगीतको युट्युब प्रयोग बापतको रोयल्टी बुझ्न नपाएको बताउँछन् ।
रोयल्टी आन्दोलनमा समेत हिडेका गीतकार लोकराज अधिकारी युट्युबबाट रोयल्टी प्राप्त गर्ने प्रक्रिया जटिल भएको बताउँछन् । युट्युबको कमाइ केही म्युजिक कम्पनी तथा स्रष्टाबीच सेयरिङ भए पनि रोयल्टी नै भनेर कसैले नदिने अधिकारी बताउँछन् ।
एक समय सर्जकले सिडी बिक्री गरेर कमाउँथे । त्यो समय पनि म्युजिक कम्पनीकै हालीमुहाली चल्थ्यो । त्यसपछि सिआरबिटी डाउनलोडबाट स्रष्टाको हातमा केहि रोयल्टी पुग्थ्यो । नेपाल टेलिकमले केहि समय बन्द गरेको सिआरबिटी सेवा पुन: सुरु गरे पनि त्यसको रोयल्टी नपाएको स्रष्टाहरूको गुनासो छ । सिआरबीटी डाउनलोडबाट आउने रकममा पनि म्युजिक कम्पनीहरूले स्रष्टाको शोषण गर्दै आएका छन् ।
अहिले स्रष्टाको कमाइको माध्यम युट्युब मात्र भएको छ, तर युट्युबमा करोडौं भ्यूज पाएका र चलेका कलाकारले समेत आफ्नो सिर्जनाको रोयल्टी बुझ्न पाएका छैनन् भने, नव–कलाकारहरूले त पाउने कुरै भएन । स्रष्टाका सिर्जना म्युजिक कम्पनीका लागि कमाइ खाने भाँडो भएका छन् ।
खोज्न आउनेलाई दिएका छौँ : म्युजिक कम्पनी
विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी खोज्न आउने स्रष्टालाई आफूले हिसाबसहित रोयल्टी दिएको दाबी गर्छन् । युट्युबको रोयल्टी गुगलले रोकेर राखेको छ त्यो व्यवसायिक म्युजिक कम्पनीले ल्याउन नसक्ने रेग्मीको भनाइ छ । उक्त रकम रोयल्टी संकलन समाजले पहल गरेर ल्याउनुपर्ने हो, रेग्मी भन्छन्— तर त्यस्तो कुनै पहल भएको छैन् ।
युट्युबबाट भएको आम्दानीको ४५ प्रतिशत रकममात्रै कम्पनीले ल्याउन पाउने र त्यही रकमबाट १५ प्रतिशत रोयल्टी सर्जकलाई प्रदान गरिने रेग्मी बताउँछन्, आफै खोज्न आउने कलाकारलाई रोयल्टी दिए पनि स्रष्टालाई बोलाएर भने नदिएको रेग्मी स्वीकार गर्छन् ।
बाहिर हल्लाभए जस्तो युट्युबको कमाइ नरहेको उनको दु:खेसो छ । केही सिर्जनाले थोरै कमाई गरे पनि धेरैजसो सिर्जनाले कुनै आम्दानी गर्दैनन् । कमाई थोरै भए पनि आफ्नो कम्पनीसँग काम गरेका प्रोडुसर तथा स्रष्टाले आफ्नो भागको व्यवसायिक अंश लाने गरेको बताउँदै रेग्मीले भने ‘असाध्यै थोरै रकम हुने हुनाले बोलाएर चाहिँ दिने गरेको छैन् ।’
रेग्मी भन्छन्, ‘युट्युब प्रयोग बापतको रोयल्टी म्युजिक कम्पनीले दिने होइन । गुगलले काटेको ५५ प्रतिशतमध्येको १३ प्रतिशत स्रष्टाले पाउने हो । उक्त रोयल्टी पनि अहिले गुगलसँगको संस्थागत दुरुपयोगका कारण रोकिएको छ ।’
बूढासुब्बा म्युजिकका महा–प्रबन्धक विश्व खड्का कलाकारसँग गरेको करारनामाका आधारमा आफूले रोयल्टी बाँड्ने कुरा बताउँछन् । स्रष्टाले लगानी गरेका भिडियोहरूले गरेको आम्दानीको ६० प्रतिशत रकम स्रष्टालाई दिने गरेको उनको दाबी छ । करिब ५ सय स्रष्टाले विगत ५ वर्षदेखि आफ्ना सिर्जनाको रोयल्टी निरन्तर रुपमा बुझ्दै आएको बताउने खड्का भन्छन् ‘पुराना स्रष्टाका सिर्जनाको रोयल्टी प्रत्येक ३ महिनामा संकलन गरेर दिने गरेका छौं ।’ नयाँ कलाकारका सिर्जनाले भने खासै आम्दानी नगर्ने हुँदा एक–एक वर्षमा मात्र रोयल्टी प्रदान गरिने खड्का बताउँछन् ।
आफ्नै सिर्जनामा छैन अधिकार
केही समयअघि गायिका समृद्धि राईले आफ्नो फेसबुक पेजमा आफूलाई म्युजिक नेपालले अन्याय गरेको कुरा उल्लेख गरिन् । आफ्नै शब्द/संगीत तथा स्वरको एउटा गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानलबाट अपलोड गर्दा म्युजिक नेपालले कपिराइटको दाबी गरेपछि उनले चेतावनी सहित स्टाटस पोस्ट गरिन् । कपिराइट नहटाए प्रहरीकहाँ जाने चेतावनीपछि म्युजिक नेपालले उक्त क्लेम हटाएको उनले अर्को स्टाटसमार्फत सार्वजनिक गरिन् ।
करिब दुई वर्ष अघि गायक अविनाश घिसिङ आफ्नै गीतमाथि म्युजिक नेपालले कपिराइट लगाएपछि न्यायालयको ढोका ढकढक्याउन पुगेका थिए । आफ्नै पुरानो गीतको रिमेक रिमेक तयार पारेका घिसिङविरुद्ध म्युजिक नेपालले रिमेक भर्सनमा समेत कपिराइटको दाबी गरेपछि उनी आक्रोशित भएका थिए । गायिका रेखा शाह पनि आफ्नो गीत आफंैले रिमेक गर्न खोज्दा म्युजिक नेपालले नदिएपछि म्युजिक नेपाल विरुद्ध उत्रिएकी थिईन ।
यी त सामान्य उदाहरण मात्र हुन् । आरबिटी काटेकै भरमा, स्रष्टाले लगानी गरेका सिर्जनामा व्यानर दिएकै भरमा म्युजिक कम्पनीहरूले स्रष्टाका सिर्जनामाथि आफ्नो अधिकार जमाएर कपिराइट दाबी गर्दा हैरानी खेप्ने, आफ्नै सिर्जना माथि सर्जकले मेरो हो भनेर गर्व गर्न नपाउने तथा आफ्ना सिर्जनाले लाखौँ आम्दानी गर्दा पनि एक रुपैयाँ रोयल्टी नपाएर मन दुखाउने स्रष्टा–कलाकार थुप्रै छन् ।
सचेत बन्दै स्रष्टा
यद्यपि अहिले कलाकारहरू आफैं पनि सचेत हुन थालेका छन् । धेरै कलाकारले आफ्नै नामको युट्युबमार्फत आफ्ना सिर्जना अपलोड गर्ने गरेका छन् । थुप्रै गीत विभिन्न म्युजिक कम्पनीका युट्युबमा निरन्तर गैरहँदा पनि कुनै रोयल्टी नपाएका गायक शिव परियारले आफ्नै च्यानलमार्फत राम्रो आम्दानी गर्दै आएका छन् । गायक हेमन्त शर्मा भन्छन्— युट्युबमार्फत मासिक २० देखि २५ हजार कमाइ हुन्छ । गायक टंक तिमल्सिना तथा मोडल दुर्गेस थापाले पनि युट्युबबाट मनग्य आम्दानी गरिरहेका छन् ।