साप्ताहिक संवाददाता
झन्डै २ सयवटा सार्वजनिक कार्यक्रम सफलतापूर्वक आयोजना गरिसकेका इभेन्ट म्यानेजर हुन्— कमल जिसी । लोक दोहारी गीत–संगीतका सर्जक जिसीले महोत्सवदेखि कन्सर्टसम्मका कार्यक्रम आयोजित गरिरहेका छन् । अभिनेता अनमोल केसीलाई पहिलो पटक स्टेजमा उतार्ने श्रेय पाएका जिसीले आफ्नो रोजाइका पाँच जना स्टेज किङ तथा क्विनको छनौट यसरी गरेका छन् ।
भुवन केसी, अभिनेता
अभिनेता भुवन केसी स्टेजमा उक्लिएपछि हजारौंको क्राउडलाई समेत होल्ड गरेर उनीहरूलाई मनोरञ्जन प्रदान गर्न सफल हुन्छन् । दर्शकसँग भिज्दै गीत गाउनेदेखि नृत्य गर्न सक्ने उनको क्षमता अद्वितीय छ ।
रामजी खाँड, गायक
लोकदोहोरी गायक रामजी खाँड स्टेजमा उक्लिएपछि उनलाई हेर्न र सुन्न भेला भएका दर्शकहरू एक सेकेन्डका लागि पनि दायाँ–बायाँ गर्दैनन् ।
मञ्जु पौडेल, गायिका
गायन तथा उद्घोषणमार्फत हरेक स्टेज कार्यक्रमलाई सफल बनाउन यी सुन्दर गायिकाको ठूलो भूमिका रहन्छ ।
हेमन्त शर्मा, गायक
उहाँलाई स्टेजको रियल हिरो भन्दा फरक पर्दैन । स्टेजमा उक्लिएपछि बालकदेखि वृद्धसम्मलाई कसरी झुमाउनुपर्छ, शर्मालाई राम्रोसँग थाहा छ ।
केदार घिमिरे माग्नेबूढा, अभिनेता
माग्नेबूढा स्टेजमा उक्लिनु भनेकै दर्शकहरू हाँस्न तयार हुनु हो । उनी कार्यक्रममा आउँदैछन् भन्ने जानकारी पाउने बित्तिकै दर्शकहरू यसरी झुम्मिन्छन् कि आयोजकहरूलाई भीड नियन्त्रण गर्नै गाह्रो हुन्छ ।