म र मेरी श्रीमती दुवै समान उमेरका छौं । हामी अहिले ३२ वर्षका भयौं । हाम्रा दुई सन्तान पनि भैसके । हामी दुवै जना सरकारी जागिरे हौं । हामी दुवैले काम गर्ने स्थान फरक–फरक भए पनि साँझ, बिहान, राति सँगै बस्छौं र खानपानसमेत राम्रै खाने गरेका छौं । घरको काम पनि दुवैले मिलेर गर्दै आएका छौं, यद्यपि हामीबीच यौनसम्बन्धी समस्या छ । म र मेरी श्रीमतीको यौनचाहना फरक खालको छ, मलाई रातको एक–दुई पटक सेक्स गर्न मन लाग्छ, तर मेरी श्रीमती साताको एकपटक मात्र चाहन्छिन् । के यस्तो पनि हुन सक्छ ? हरेक रातको एक पटक मात्र भए पनि सेक्सप्रति उनको चाहना बढाउन सकिन्छ कि सकिँदैन ? सकिन्छ भने त्यसका लागि के गर्नुपर्ला ? अर्को, मेरो लिंग अलि सानो छ । के मेरो लिंग सानो भएका कारणले गर्दा उनको यौनचाहना पूरा नभएर त सेक्स गर्न मन छैन भनेकी होइनन् ? यसको समाधान के छ ? लिंग ठूलो बनाउन के गर्नुपर्ला ? मेरी श्रीमती मिन्स हुनुभन्दा १०–१२ दिन पहिलेदेखि नै स्तन तथा तल्लो पेट दुख्छ भन्छिन् । अनि छाती समाउन पनि दिन्नन्, अरुको त कुरै भएन । यसको समाधान के होला ? मेरी श्रीमती सुपारी अत्यधिक खान्छिन, त्यसले यौन जीवनमा केही असर गर्छ कि गर्दैन ?
पी.
असमान यौनेच्छा
दम्पती वा जोडीमध्ये एकलाई बढी यौनेच्छा हुनु र अर्कोलाई कम हुनुलाई अनमेल वा असमान यौनेच्छा (mismatched libido) भनिन्छ । यसले वैवाहिक तथा यौन जीवनमा असजिलो सिर्जना गर्ने पक्का छ । यस्तो स्थितिमा कसैले यौन सम्पर्क नै राख्न नमान्ने हुन्छ भने कसैले यौन सम्पर्क राखे पनि त्यसमा कुनै उत्साह देखाउँदैनन् । धेरैजसोले यस्तो अनमेलताको दोष आफ्नो यौनसाथी वा श्रीमान्/श्रीमतीलाई नै दिएको पाइन्छ ।
एक त तपाईंकी श्रीमतीमा यौनचाहना नै कम भएको हुन सक्छ भने अर्कातिर अन्य कारण पनि हुन सक्छन् । तपाईंकी श्रीमती यौन क्रियाकलापमै संलग्न हुन नरुचाउनुभएको हो भने पर्याप्त मात्रामा यौन चाहना नहुने, यौन उत्तेजना नै सुरु नहुने वा यौन सन्तुष्टि प्राप्त गर्न बाधा पार्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन् । पाठेघर वा त्यसवरिपरिको संक्रमणका कारण यौनसम्पर्क नै पीडादायक हुने भएकाले कतिपय महिला यौनसम्पर्क नै गर्न मान्दैनन् ।
केही दीर्घरोगको पनि यस्तो प्रभाव पर्न सक्छ । त्यसैगरी मानसिक कारणहरूमा यौनप्रतिको गलत मानसिकता, आफैंभित्रका मानसिक विरोधाभास, श्रीमान्बाट नै भए पनि यौन दुव्र्यहारजस्ता निकै दु:खपूर्ण/आघातपूर्ण पूर्व यौन अनुभूतिजस्ता कुराले यौन क्रियाकलापमा सहज रूपमा लाग्न रोक्छ । त्यसबाहेक दैनिक जीवनमा आइपर्ने तनाव, जस्तै— चिन्ता, निराशा, थकाइ, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका कारण हुन सक्छन् । तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरा पनि यससँग सम्बन्धित हुन सक्छन् ।
उमेरअनुरूप पनि यौनेच्छाको तीव्रतामा परिवर्तन आउँछ । यी सबै कुराको सूक्ष्म अवलोकन तपाईंले नै गर्न सक्नु हुन्छ । यदि श्रीमतीमा यौन चाहना नभएको हो वा अन्य कारणले यौनसम्पर्क राख्न नचाहनु भएको हो भने त्यसलाई हटाउनुपर्ने हुन्छ । स्त्रीरोग विशेषज्ञबाट जाँच गराउनुभए प्रजनन अङ्गमा केही समस्या भए थाहा पाउन सकिन्थ्यो । तपाईंकी श्रीमतीपछि सम्पूर्ण परिस्थितिका बारेमा सबैभन्दा बढी तपाईंलाई नै थाहा हुने भएकाले त्यसको विश्लेषण गरेर समाधानको बाटो पहिल्याउनुहोस् ।
अर्को कुरा, तपाईंले चाहेजस्तै र आफ्नो अनुकूलताअनुसार नै सबै कुरा नहुन सक्छ । यसमा दुई व्यक्ति संलग्न हुने भएकाले दुवैको चाहना अनि अनुकूलतालाई विचार गरेर कुनै मध्यबिन्दुमा पुग्नुपर्ने हुन्छ । तपाईंले यौनसम्पर्क राख्ने चाहना नहुनुको कारण पत्ता लगाउने र त्यसलाई हटाउनेतर्फ ध्यान दिनुपर्ने हुन्छ ।
सानो लिंग र सन्तुष्टि
महिलाले विभिन्न किसिमले यौन उत्तेजनालाई निरन्तरता दिँदै जान सक्छन् र चरमसुख प्राप्त गर्छन् । यसका लागि महिलाले आफ्ना विभिन्न यौन संवेदनशील अङ्गको घर्षण–मर्दन गर्छन् । महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुर हो र यो बाहिरतिरै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । त्यसैगरी योनि अर्को महत्वपूर्ण अङ्ग हो ।
सम्पूर्ण योनिको लम्बाइ हेर्ने हो भने यसको भित्री भाग अर्थात् पाठेघरतिरको भाग होइन कि बाहिरतिर एकतिहाई भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्चजति हुन्छ र साधारणतया छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पर्याप्त हुन्छ । तपाईंको ३ दशमलव ५ इन्चको लिंग योनिको बाहिरतिरको १ दशमलव ३ जतिको यौन संवेदनशील भागको घर्षण गर्न पर्याप्त छ । त्यसैले लामो लिंग नै चाहिन्छ भन्ने छैन । लिंग लामो पार्ने भरपर्दो उपाय शल्यक्रिया हो, तर यसका आफ्नै जटिलता छन् ।
सामान्यत: महिलालाई पुरुषको भन्दा केही बढी समय लाग्ने भएकाले यौन क्रियाकलापमा संलग्न हुने सन्दर्भभा पर्याप्त पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । चरमसुख दुवै जनाले एकसाथ पाउनुपर्छ भन्ने छैन, आलोपालो गरेर प्राप्त गरे पनि हुन्छ ।
स्तन र तल्लो पेटको पीडा
तपाईंकी श्रीमतीलाई पहिले पनि यस्तो हुन्थ्यो कि हुँदैनथ्यो, लेख्नुभएको छैन । कतिपयलाई यस्तो समस्या तरुणावस्थामा हुने तर सन्तान भएपछि कम हुने भए पनि कसैकसैमा ३० वर्षको उमेर कटेपछि पनि हुन सक्छ । हार्मोनमा हुने उतारचढावले यस्तो भएको हुन सक्छ । पहिले हार्मोनयुक्त औषधीको सेवन गरेका महिलाले बीचमा छोडेर पछि फेरि सुरु गरेको अवस्थामा पनि यस्तो समस्या देखा पर्छ । त्यसबाहेक पाठेघर तथा त्यसको वरिपरि केही समस्या छ कि भनेर पनि हेर्नुपर्छ । तपाईंकी श्रीमतीले एकपटक यो समस्याका लागि स्त्री रोग विशेषज्ञसँग सम्पर्क गर्दा बेस होला ।
सुपारी सेवन तथा
यौन चाहना
सुपारीको सेवनको सन्दर्भमा तपाईंको शंका त्यसले यौनेच्छाका कमी ल्याउँछ कि भन्ने हुनुपर्छ, तर सुपारीले यौनेच्छा तथा यौन क्षमता बढाउँछ भन्ने मान्यता छ । पानको पत्तासँग नभै अन्य रूपमा खाइएको सुपारीले लिंग उत्तेजनामा केही समस्या ल्याएको पनि एक अनुसन्धानले देखाएको छ, तर पानको पत्तासँग खाइएको सुपारीबाट त्यस्तो देखिएन । सुपारी सेवन गर्नेहरूको यौनकार्यसम्बन्धी नतिजा तटस्थ रहेको उक्त अनुसन्धानले देखाएको छ । त्यसैले यसलाई यौनेच्छामा आएको कमीको कारण मान्नुपर्ने कुनै आधार छैन ।