साप्ताहिक संवाददाता
बाँके, कोहलपुरकी सुनिता दहित अहिले म्युजिक भिडियोमा व्यस्त छिन् । केही नेपाली गीतमा म्युजिक भिडियोका अभिनय गरे पनि उनी थारु भाषाका गीतका गायक, गायिका तथा भिडियो निर्देशकको पहिलो च्वाइस बन्न थालेकी छिन् ।
२१ वर्षीया यी मोडललाई थारु भाषाका गीतका थुप्रै भिडियोमा देख्न सकिन्छ । रहरै–रहरले अभिनयप्रति आकर्षित ५ फिट ४ इन्च अग्ली सुनिताले अहिले आएर अभिनयलाई अहिले प्रोफेसन बनाइसकेकी छिन् ।
प्रत्येक भिडियोबाट राम्रै पारिश्रमिक पाइरहेकी सुनिताले हालसम्म नेपाली तथा थारु गरी झन्डै दुई दर्जन भिडियोमा अभिनय गरिसकेको बताइन् । केही तीज गीतका भिडियोमा समेत कम्मर मर्काइसकेकी सुनिता ओभरसियर अध्ययनरत छिन् ।
नृत्यमा अब्बल सुनिताले केही वर्षअघि कोहलपुर महोत्सवमा गरेको नृत्यले धुम मच्चाएको थियो । चार वर्षदेखि मोडलिङमा सक्रिय सुनिताले भारतको लखनउ पुगेर हाई मोरे डार्लिङ–१ गीतको भिडियोमा अभिनय गरेपछि उनी सीमा पारी समेत चर्चित हुँदै गएकी छिन् ।