साप्ताहिक संवाददाता
बालबालिकालाई अनलाइन गेमिङको लतबाट जोगाउन टेक्नोलोजी कम्पनी टेन सेन्टले चीनमा कडा नियम बनाएको छ । सेप्टेम्बरको मध्यदेखि नै लागू हुने उक्त नियमअनुसार गेम खेल्ने बालबालिकाले आफ्नो वास्तविक नामबाटै रजिस्ट्रेसन गर्नुपर्नेछ । यदि उमेर कम छ भने रजिस्ट्रेसन हुँदैन र त्यसपश्चात् अनुगमन पनि गरिन्छ । संसारमै पहिलो पटक गेमिङका लागि यस प्रकारको पहल भएको हो ।
टेन सेन्टले चीनमा सोसल नेटवर्किङ साइट विच्याट पनि सञ्चालन गर्छ । अनर अफ किङ नामक गेम टेन सेन्टको सबैभन्दा बढी खेलिने गेम हो । उक्त खेल चीनको ऐतिहासिक महत्वको पात्रलाई आधार बनाएर डिजाइन गरिएको छ । यो गेम खेल्न मोबाइल प्लेटफर्म मात्र भए पुग्छ, कम्प्युटर चाहिँदैन । यसलाई सजिलै खेल्न अनि नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।
बालबालिकाले उक्त गेम खेल्न अत्यधिक चासो देखाएकाले कम्पनीले १२ वर्ष भन्दा कम उमेरका बालबालिकाका लागि १ घण्टा तथा १३ देखि १८ वर्षका किशोर–किशोरीहरूका लागि २ घण्टाको समय सीमा निर्धारण गरेको छ ।