साप्ताहिक संवाददाता
नेपाली चलचित्र जगत्मा अभिनेता–अभिनेत्रीहरूको सम्बन्धलाई लिएर प्रशस्तै चर्चा–परिचर्चा हुने गरेको छ । उनीहरूको सम्बन्धका कुराले आम सञ्चारमाध्यमलाई समेत तताउँछ । यतिबेला भने भुवन केसी र रेखा थापाको सम्बन्धलाई लिएर चर्चा हुन थालेको छ ।
केही समयअघि अभिनेत्री रेखा थापाले भुवनका छोरा अनमोल केसीप्रति लक्षित गर्दै दुई–तीनवटा चलचित्र खेल्दैमा सुपरस्टार भन्न नमिल्ने भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिबाट भुवन निकै आक्रोशित भएका थिए । यतिसम्म कि भुवनले तिहारमा रेखाले निर्माण गरेको चलचित्र मलिकासँग अनमोल अभिनीत क्याप्टेन जुधाउने ध्वाँससमेत दिन भ्याए ।
यद्यपि अहिले उनीहरूको सम्बन्ध देखेर सबै आश्चर्यमा पर्छन् । केही दिन अघि कमलपोखरीस्थित कुमारी हलमा सम्पन्न चलचित्र रामकहानीको शोमा भुवन र रेखाको भेट भयो । जसमा उनीहरूले एक–अर्काको प्रशंसा गरे । उनीहरूबीचको त्यो प्रशंसालाई धेरैले नौटंकीको संज्ञासमेत दिए । केही समयअघिसम्म शीतयुद्धमा मस्त भुवन र रेखाबीचको सम्बन्ध साँच्चै सुध्रिएको होला त ?