साप्ताहिक संवाददाता
जर्मन लक्जरी कार निर्माता कम्पनी आउडीले सान फ्रान्सिस्कोमा आयोजित एक इभेन्टमार्फत आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । यो कार एकदमै नयाँ प्रविधिका आधारमा तयार गरिएको छ । आउडीको उक्त ई–ट्रोन ५५ क्वाट्रो कारलाई स्पोर्टी एसयूभी भनिएको छ, जसले एकपटकको फुल चार्जमा ४ सय २ किलोमिटर दूरी तय गर्न सक्छ । इलेक्ट्रिक कार भए पनि यसले शून्यदेखि ९६ दशमलव ५ किलोमिटर प्रतिघण्टाको गति केवल ५ दशमलव ५ सेकेन्डमै लिन सक्छ ।
यो कारमा ९५ किलोवाटको ब्याट्री युनिट जडान गरिएको छ । यो टेस्लाको इलेक्ट्रिक कारमा भएको ब्याट्री युनिटभन्दा पनि राम्रो भएको बताइएको छ । उक्त ब्याट्री युनिटलाई १ सय ५० किलोवाट चार्जरको सहयोगले ३० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसको अर्थ अब चार्जिङका लागि घण्टौं पर्खनुपर्ने बाध्यता हुनेछैन ।
आगामी वर्ष अर्थात् सन् २०१९ को दोस्रो त्रैमासिकसम्म यो कार बिक्रीका लागि उपलब्ध भैसक्नेछ । यसको अन्तर्राष्ट्रिय मूल्य ७४ हजार ८ सय डलर अर्थात करिब ८७ लाख रुपैयाँ हुनेछ । आउडीले सन् २०२५ सम्म २० भन्दा बढी इलेक्ट्रिक कारको मोडल ल्याउने जानकारी दिएको छ । यसबाट पनि आगामी दिनमा इलेक्ट्रिक कारको प्रयोग अझ बढ्ने अनुमान गर्न सकिन्छ ।