साप्ताहिक संवाददाता
कार्तिक १२, २०७५
केही साताअघि एउटा अनौठो संयोग जुर्यो । उक्त दिन एकसाथ तीन नयाँ चलचित्र प्रदर्शनमा आए । रमाइलो कुरा के रह्यो भने कथा काठमाडौं, छिरिङ तथा अनुराग एकै दिन प्रदर्शन भए पनि व्यवसायिक रुपमा कुनै पनि चलचित्र चलेनन् ।
कथा काठमाडौं र छिरिङले दर्शकबाट सकारात्मक टिप्पणी त पाए तर लगानी उठाउन सकेनन् । एलिजा गौतमको पहिलो चलचित्र भए पनि अनुरागले दर्शकको साथ पाएन । अब कुरा गरौं संयोगको । तीन वटै चलचित्रका निर्देशकका यी पहिलो निर्देशकीय चलचित्र थिए ।
कथा काठमाडौं संगीता श्रेष्ठको पहिलो निर्देशन हो भने गायक यश कुमारले चलचित्र छिरिङमार्फत नै निर्देशनको क्षेत्रमा हात हालेका हुन् । अनुरागलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । निर्देशकका रूपमा तीनै जनाले ईमान्दार प्रयास गरे पनि दर्शकले तीनै जनालाई निराश बनाइदिए ।