साप्ताहिक संवाददाता
असोज १९ मा काठमाडौं प्रहरी परिसरले मूलपानीमा पेशेवर जुवाको खालमाथि धावा बोल्यो । तीनवटा गेट पार गर्दै प्रहरीले गरेको कारबाहीका क्रममा भएको भागदौडमा तीन तलाबाट हामफाल्दा २ जनाले ज्यान गुमाए । प्रहरीले २३ जनालाई पक्राउ गर्नुका साथै जुवाको उक्त खालबाट ४ लाख ४८ हजार रुपैयाँ नगदसहित थुप्रै सुनका गहना समेत बरामद गर्यो । दुई दिनदेखि उक्त घरमा जुवा खेलिरहेका उनीहरू तेस्रो दिन अर्को ठाउँमा सर्ने योजना पूरा गर्न नपाउँदै प्रहरीको फन्दामा परेका थिए ।
असोज २८ गतेको राति गोकर्णेश्वर–५ बाट कौडा खेलिरहेका १० जना पक्राउ परे । उनीहरूबाट प्रहरीले १ लाख १५ हजार रुपैयाँ बरामद गर्यो । बौद्ध क्षेत्रबाट जुवाडे पक्राउ परेको यो पहिलो घटना होइन, यसपटककै दसंैयता मात्र ५६ जना जुवाडे पक्राउ परिसकेका छन् । त्यसको ८ दिनपछि म्हैपीस्थित ५० लाख बराबरको अवैद्य जुवाखालमा छापा मार्दा २ जना पक्राउ परे ।
सामाजिक विकृति मानिने जुवातास तिहारको मौसममा अझ बढ्ने घटनाक्रमहरूले देखाएका छन् । गत असोज यतामात्र काठमाडौं, भक्तपुर तथा ललितपुर प्रहरीले ३ दर्जनजति खालमा छापा मारिसकेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक होबिन्द्र बोगटीले काठमाडौं प्रहरीले मात्र पछिल्लो एक महिनामा झन्डै २ दर्जन ठूला–साना जुवाका खालमा रेड गरेको बताए । भक्तपुरको जगाती, नगदेश, काठमाडौंको मनमैजु, कीर्तिपुर आदि स्थानबाट पनि प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेका छ । गोप्य हेभन खडा गरेरचलाइएका कयौं ठूला जुवाखालमा करोडौ रकम बराबरका जुवा चल्ने गर्छन् ।
सबैभन्दा बढी ५६ जुवाडे पक्राउ गरेको प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दले आफूहरूले पछिल्लो एक महिनामा मात्र ७ वटा जुवाका अखडामा छापा मारेको बताए । काठमाडौंको म्हैपी, बौद्ध आदि स्थानबाट पक्राउ गरिएका केही पेसेवर जुवाडेले वर्षभरि नै जुवा खेल्ने गरेको पनि पाइएको छ । ‘उनीहरू वर्षभरि नै जुवा खेल्ने, पेशा नै जुवा देखियो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘अर्को पेशा नै छैन्, जुवातास खेलेरै जीवन चलाउनेहरू पनि फेला परेका छन् ।’
लामो समयदेखि काठमाडौं प्रहरी परिसरको मुद्दा शाखा हेरिरहेका डिएसपी मोहन थापा आर्थिक चलखेल बढी हुने भएकाले चाडपर्वका बेला जुवाका गतिविधि बढ्ने बताउँछन् । दसंै–तिहारको अवसरमा काठमाडौं उपत्यकामा ठूला–ठूला जुवा अखडा सञ्चालन हुने प्रहरी सूत्र बताउँछ । त्यसो त अरू बेला पनि काठमाडौंमा जुवा अखडा सञ्चालन नहुने होइनन्, तर ठूला चाडपर्वताका जुवाडेहरू बढी नै सक्रिय हुन्छन् । जुवाको लतमा परेका अधिकांश नेपालीमा घरजग्गा व्यवसाय, होटल रेस्टुराँ व्यवसाय, ठेकेदार तथा गिट्टी–बालुवा व्यवसायमा संलग्नहरूका साथै केही राजनीतिज्ञ एवं व्यवसायीहरू समेत छन् । निरन्तरजसो जुवा खेल्ने केही जुवाडे गुन्डागर्दी गर्ने, तस्करी गर्ने, हप्ता असुली गर्ने अपराधिक पृष्ठभूमिका पनि भएको प्रहरी सूत्र बताउँछ ।
घुम्ती शैलीमा जुवा
प्रहरी निगरानी बढ्न थालेपछि नेपाली जुवाडेहरूले आफ्नो परम्परागत जुवा खेल्ने शैलीमा ठूलै परिवर्तन ल्याएका छन् । जुवाडेहरू पहिले एकै ठाउँमा लामो समय जुवाका ठूला—ठूला खाल थापेर जुवा खेल्थे । पछिल्लो समय बढ्दो प्रहरी निगरानी, सूचना प्रविधिको विकासजस्ता कारणले प्रहरी आँखा पर्ने तथा बाह्य पक्षले सुइको पाएर प्रहरीसम्म खबर पुर्याइदिने डरले जुवाडेहरूले एकै ठाउँमा जमेर जुवा खेल्ने परम्परागत शैलीमा परिवर्तन ल्याएका हुन् ।
अहिले जुवाडेहरू जुवा खेल्न ठाउँ बदलिरहने मोबाइल शैली अपनाउँछन् । ‘एक ठाउँमा एक दिन जुवा खेल्यो भने अर्को दिन अर्को ठाउँमा सिफ्ट हुने शैलीमा जुवा सञ्चालन गरिएको पाइन्छ,’ डिएसपी थापा भन्छन्, ‘एक दिन, दुई दिन बानेश्वरमा जुवा खेलायो भने त्यसपछि सरेर भक्तपुर पुग्ने, फेरि ललितपुर पुग्ने त्यसरी सिफ्ट हुँदै घुम्ती शैलीमा जुवा खेलिएको पाइन्छ ।’ प्रहरीले मूलपानीको जुवाखालमा रेड गरेको घटनामा पनि मोबाइल शैलीमा जुवा खेलाइको कुरा खुलेको थियो । काठमाडौंमा संगठित जुवा धन्दा चलाउनेहरू अस्थायी रूपमा घरभाडामा लिएर जुवा खेलाउँछन् ।
जुवा धन्दा सञ्चालन गर्नेहरूले पहिले आफ्नै घरमा जुवा खेलाउँथे, नयाँ कानुनमा जुवा अखडा सञ्चालन गर्नेहरूलाई समेत कारबाही हुने भएपछि त्यस्ता जुवा खेलाउनेहरू अस्थायी रूपमा घरहरू भाडामा लिएर जुवा खेलाउँछन् । अझ रोचक त के भने उनीहरू एक वा दुई दिनका लागि १० देखि २० हजारसम्ममा सुविधासम्पन्न फ्ल्याट भाडामा लिएर जुवा खेलाउँछन् र त्यसपछि अर्को फ्ल्याटमा सिफ्ट हुन्छन् । यसरी निरन्तर सिफ्ट भैरहनाले प्रहरी तथा बाहिरका अन्य मानिसको नजरमा पर्न निकै गार्हो हुन्छ ।
कतिपय ठाउँमा त जुवातास खेल्नेहरूलाई भाडा दिने नै गरी घर बनाइएको समेत प्रहरी बताउँछ । यस्ता घरधनीहरूले मानिस बस्न वा व्यवसायका लागि घरभाडा दिँदैनन्, मोटो रकम कमाइ हुने लोभमा जुवाडेहरूलाई मात्र घर भाडामा उपलब्ध गराउँछन् ।
आफ्नै सुरक्षा व्यवस्था
पेशेवर जुवा सञ्चालक तथा जुवाडेहरूले प्रहरीबाट बच्न मजबुत सुरक्षा व्यवस्था पनि तयार पारेका हुन्छन् । प्रहरी गतिविधी निगरानी गर्न सुराकी राख्नेदेखि प्रहरीलाई सजिलै जुवास्थलमा पुग्न अवरोध पुग्ने गरी विभिन्न च्यानल गेट बनाएर घरको माथिल्लो तलामा सुरक्षित रूपमा जुवा सञ्चालन गरिन्छ ।
तलैदेखि दुई तीनवटा च्यानल गेट बन्द गरेर माथिल्लो तलामा जुवा खेल्दा प्रहरी आइपुग्दासम्म प्रमाण नष्ट गर्न तथा नगद लुकाउन सकिने गरी आवश्यक तयारी गरिएको हुन्छ । प्रहरीकाअनुसार जुवाडेहरूले अपनाउने मजबुत सुरक्षा प्रबन्धका कारण कारबाही चलाउन आवश्यक प्रमाण, बरामद हुनुपर्नेजति रकम तथा सामानहरू पनि बरामद हुन सकिरहेका छैनन् । यसले प्रहरीलाई जुवाको खालमा रेड गर्न पनि समस्या सिर्जना हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोगटी बताउँछन् ।
जुवाडेहरूले प्रहरी तथा आम मानिसको पहुँचबाट टाढा रहेको लोकेसन रोज्ने गरेका छन् । पटके जुवाडेहरूले प्रहरीबाट समातिँदा पटकैपिच्छे आफ्नो नाम फरक बताउँछन् । प्रहरीमा पटक—पटक कारबाहीमा परेको नदेखियोस र सजायमा घटबट हुन्छ भनेर जुवाडेहरूले आफ्नो नाम समेत ढाँट्छन् ।