साप्ताहिक संवाददाता
डेविड शंकर सांगीतिक क्षेत्रमा सक्रिय भएको झण्डै एक दशक भयो । तीन वटा एकल एल्बम सार्वजनिक गरिसकेका यी गायकले दर्जनौं गीत रेकर्ड गराइसकेका छन् भने ५० भन्दा बढी चलचित्रमा पाश्र्व गायनसमेत गरिसकेका छन् । यद्यपि उनलाई दर्शक, श्रोता, चलचित्रकर्मी तथा संगीतकर्मीहरूको मन जित्न जम्मा एउटा गीत पर्याप्त भयो ।
व्यवसायिक रूपमा अत्यधिक सफल भैरहेको चलचित्र ‘छक्कापञ्जा–३’ को लोकप्रिय गीत ‘पहिलो नम्बरमा...’ लोकप्रिय भएपछि गायक शंकरको नाम नै परिवर्तन भएको छ । अचेल उनलाई ‘पहिलो नम्बरको गायक’ भनेर सम्बोधन गर्न थालिएको छ । संगीतकार दीपक शर्मासंग एउटा आधुनिक गीतको धुनका लागि अनुरोध गर्न गएका बेला शर्माले शंकरसँग पहिलो नम्बरमा गीतको डमी भोकल भर्न आग्रह गरे ।
शंकर त के संगीतकार शर्मालाई पनि थाहा थिएन, त्यही डमी भोकल चलचित्रमा समावेश गर्न योग्य हुन्छ भन्ने कुरा । रेकर्डिङको दोस्रो दिन नै दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेको सहितको समूहले डेविड शंकरको स्वरमा रेकर्ड भएको उक्त गीत सुन्यो । पहिलो पटक सुन्ने बित्तिकै सबैले सामुहिक स्वरमा भने–‘यही गीत नै फाइनल ।’ त्यसपछि गायक शंकरलाई के चाहियो र ?
कुनै बेला मेची आइडलको उपाधि जितेका यी गायकले पछिल्लो दुई महिनाको अवधिमा चार दर्जनभन्दा बढी सांगीतिक कार्यक्रममा सहभागिता जनाइसकेका छन् भने सातवटा चलचित्रका गीतमा स्वर दिइसकेका छन् । सांगीतिक व्यस्तता बढे पनि उनी हौसिएका छैनन्, शंकर भन्छन्– ‘अझै उत्कृष्ट गीत गाउने धोको पुरा भएको छैन ।’