साप्ताहिक संवाददाता
अभिनेत्रीहरूले चलचित्रमा डाक्टरको भूमिका निर्वाह गर्नु सामान्य हो । थुप्रै चलचित्रमा अभिनेत्रीहरूलाई चिकित्सकका रूपमा प्रस्तुत गरिएको छ । विज्ञापनमा समेत मोडलहरूलाई डाक्टर बनाउनु सामान्य भैसकेको छ । नेपाली ग्ल्यामरको क्षेत्रमा भने एक जना डाक्टर नै मोडलका रूपमा स्थापित भएकी छिन् ।
हो, २२ वर्षीया इशु श्रेष्ठले यही वर्ष एमबीबीएसको अध्ययन पूरा गरेकी हुन् । नेपाली सेनाको मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण इशु अहिले त्यही अस्पतालमा कार्यरत छिन् । अघिल्लो वर्ष सम्पन्न मिस नेवा:–११३७ को उपाधि जित्दा इशु एमबीबीएसको अन्तिम वर्षमा थिइन् । भविष्यमा छाला रोग विशेषज्ञ बन्ने लक्ष्य लिएकी इशुले चिकित्सा पेशासँगै मोडलिङलाई समेत निरन्तरता दिइरहेकी छिन् ।
आफूमा भएको आत्मविश्वासकै कारण सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएर उपाधि जित्न सफल भएको बताउने इशुले यो अवधिमा केही विज्ञापनमा काम गरिसकेकी छिन् । भविष्यमा मिस नेपालमा समेत सहभागिता जनाउने योजना बनाएकी इशुले अध्ययनसँगै ग्ल्यामरको क्षेत्रको आफ्नो प्रवेश धेरैका लागि प्रेरणादायक हुन सक्ने अनुमान गरेकी छिन् ।