‘आज (बुधबार) बिहानै छोरीले फोन गरेकी थिइन्, मिस वल्र्ड–२०१८ को उत्कृष्ट ३० पर्न सफल भैसकेकी नेपाली चेली श्रृंखला खतिवडाका बुवा विरोध खतिवडाले साप्ताहिकसँगको कुराकानीमा भने– असाध्यै उत्साही छिन्, नेपाललाई गौरवशाली बनाउन सक्दो प्रयास गर्छु भनेकी छिन् ।
बुवा खतिवडासँगको टेलिफोन वार्तामा श्रृंखलाले बुधबारदेखि नै मिस वल्र्डको अन्तिम प्रतिस्पर्धाका लागि स्टेज प्रस्तुतिको अभ्यासमा सक्रिय हुने बताएकी थिइन् । ‘बुधबारदेखि तीन दिनसम्म स्टेज प्राक्टिसअन्तर्गत र्याम्प वाक, स्टेज प्रस्तुति, प्रश्नोत्तर जस्ता क्रियाकलापको प्रशिक्षणमा व्यस्त हुँदैछु, श्रृंखलाले भनेकी छिन्– ‘ब्युटी विद द पर्पस तथा मल्टी मिडियाको प्रतिस्पर्धामा पहिलो स्थानमा छनौट हुँदै उत्कृष्ट ३० को अन्तिम चरणमा पुगेकी छु, अब मलाई भाग्यको साथ चाहिएको छ ।’
‘म फाइनलमै पुगिसकेकी छु, श्रृंखलाले भनेकी छिन्–‘दुई महत्वपूर्ण विधाको विजेता भएपछि म उत्कृष्ट ३० मा स्थान बनाउन सफल भएकी हुँ । ब्युटी विद द पर्पसको उपाधिलाई मिस वल्र्डपछिको सबैभन्दा महत्वपूर्ण उपलब्धि मानिन्छ । त्यस अर्थमा मैले नेपाललाई महत्वपूर्ण उपलब्धि दिइसकेकी छु । अब शनिवारको प्रतिस्पर्धामा मेरो भाग्यको फैसला हुनेछ ।’
भोलि शनिबारको अन्तिम प्रतिस्पर्धाका लागि श्रृंखलाले दिन–रात एक गरेर मेहनत गरिरहेको उनका बुवाको भनाइ छ । ‘उनलाई कस्तो प्रश्न सोधिने हो, उनले कुन शैलीमा जवाफ दिन सक्ने हुन्, तीनै कुराले उनको भाग्य निर्धारण हुनेछ, बुवा खतिवडा भन्छन्– ‘हामीले यहाँ बसेर उनलाई शुभकामना मात्र दिन सक्छौं, आशावादी हुन सक्छौं । अन्तिम निर्णय त निर्णायकहरूकै हुनेछ ।’
श्रृंखलाले बुवालाई अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट तीस प्रतिस्पर्धीबाट उत्कृष्ट १५ अथवा उत्कृष्ट १६ छानिने र बाँकी बाहिरने बताएकी छिन् भने त्यसपछिको चरणबाट उत्कृष्ट ५ जना मात्र अन्तिम चरणमा पुग्ने छन् ।
नेपाली समयअनुसार शनिबार सवा ३ बजे मिस वल्र्ड–२०१८ को ग्रान्ड फिनाले प्रारम्भ हुनेछ । उक्त प्रतियोगितालाई मिस वल्र्डको आधिकारिक यूट्युब च्यानलसहित स्टार वल्र्डमा समेत हेर्न सकिनेछ ।
मिस वल्र्डको अन्तिम ३० मा नेपालकी श्रृंखला खतिवडासँगै बंगलादेश, चिली, फ्रान्स, भारत, इन्डोनेसिया, जापान, मलेसिया, मोरिसस, मेक्सिको, न्यूजिल्यान्ड, सिंगापुर, थाइल्यान्ड, युगान्डा, अमेरिका, भेनेजुएला तथा भियतनामका सुन्दरीहरू पुगिसकेका छन् भने अन्तिम ३० मा पुग्न बाँकी १३ देशका सुन्दरीको नाम यो समाचार तयार पार्दासम्म सार्वजनिक गरिएको थिएन ।
चीनको सान्या सहरमा मंसिर २२ गते सञ्चालन हुने ६८ औं संस्करणको मिस वल्र्डमा नेपाली सहभागी मिस नेपाल वल्र्ड–२०१८ श्रृंखला खतिवडा मल्टिमिडिया तथा ब्युटी विथ अ–पर्पजको एवार्ड जित्न सफल भएसँगै उत्कृष्ट ३० भित्र परेकी हुन् । यो उपलब्धि बीसौं वर्ष लामो मिस नेपालको इतिहासमा आफैंमा सबैभन्दा ठूलो हो । यो उपलिब्ध सँगै श्रृंखला यस पटकको प्रतियोगिताको शीर्ष स्थानका लागि प्रबल दाबेदारका रूपमा देखा परेकी छिन् । आम नेपाली जनमानसको भावना एवं अपेक्षामा विश्वास गर्ने हो भने यस पटकको विश्व सुन्दरी प्रतियोगिताको शीर्ष उपाधि नेपाली चेलीको शिरमा सजिने सम्भावना प्रबल छ । शनिबार साँझ गत वर्षकी मिस वल्र्ड मानषी चिल्लरले मिस वल्र्ड–२०१८ को मुकुट नयाँ मिस वल्र्डलाई हस्तान्तरण गर्ने छिन् ।
मिस वल्र्डको फम्र्याट अनुसार उत्कृष्ट ३० भित्र पर्ने फास्ट ट्रयाकअन्तर्गत ब्युटी विथ अ पर्पस, मिस वल्र्ड स्पोर्ट्स च्यालेन्ज, मिस वल्र्ड ट्यालेन्ट, मिस वल्र्ड टप मोडल तथा मिस वल्र्ड मल्टिमिडिया गरी पाँचवटा स्पेसल एवार्ड छ, जसअन्तर्गत श्रृंखलाले मिस वल्र्ड मल्टिमिडिया र ब्युटी विथ अ पर्पस गरी दुईवटा एवार्ड जितेर इतिहास रचेकी छिन् । योसँगै श्रृंखला मिस वल्र्डको लामो इतिहासमा दुईवटा फास्ट ट्रयाक एवार्ड जित्ने पहिलो मिस नेपाल भएकी छिन् । मिस वल्र्डमा मिस नेपाल सुन्दरीहरूमध्ये सबैभन्दा सफल र चर्चा कमाएकी सुन्दरी पनि उनी नै भएकी छिन् । मिस वल्र्डमा सहभागी भएदेखि श्रृंखलाको चर्चा सामाजिक सञ्जाल, अनलाइन मिडियादेखि राष्ट्रिय दैनिक अखबारहरूमा निरन्तर चलिरहेको छ । सौन्दर्य प्रतियोगिताहरूको समीक्षा गर्ने विभिन्न अन्तर्राष्ट्रिय अनलाइन, फोरम, सामाजिक संजाल, युट्युब च्यानल आदिले समेत श्रृंखलालाई मिस वल्र्ड–२०१८ को प्रबल दाबेदारका रूपमा लिएको पाइन्छ ।
ब्युटी विद अ पर्पसमा श्रृंखला
मिस वल्र्डको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार मिस नेपाल श्रृंखला खतिवडाले जितेको ब्युटी विद अ पर्पस विधामा २५ वटा भिडियो सर्ट लिस्ट गरिएको थियो । श्रृंखलाले यो विधामा उपाधि जितेकै दिन अर्थात गत सोमबार मल्टी मिडियातर्फको उपाधि समेत जितेकी थिइन् । मकवानपुरका चेपाङ बस्तीमा पुगेर श्रृंखलाले तयार पारेको ‘डिजाइन्स एन्ड बिल्ड्स हेन्थ सेन्टर फर रिमोट भिलेज’ शीर्षकको भिडियोले उनलाई उक्त सफलता दिलाएको हो । वृत्तचित्र उनकै गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका–७, भार्तास्थित चेपाङ बस्तीमा केन्द्रित छ ।
मल्टिमिडिया च्यालेञ्जमा पनि श्रृंखला
फेसबुक, इन्स्टाग्राम, मोबस्टार, ट्वीटर तथा मोडलपावरलाइभ गरी विभिन्न पाँचवटा सामाजिक सञ्जालमार्फत यस वर्षको मिस वल्र्डमा मल्टी मिडियातर्फको विजेताको छनोट गरिएको हो, जसमा श्रृंखला खतिवडा नै बाजी मार्न सफल भएकी छिन् । सामाजिक सञ्जालमा पाएको मत, दर्शकहरूको सहभागिता, मौलिक प्रतिक्रिया तथा प्रभावकारीतालाई आधार मान्दै खतिवडालाई विजेताको छनौट गरिएको हो ।
यसअघि सन् २०१२ को मिस वल्र्डमा नेपाली चेली सृष्टि श्रेष्ठ २० स्थानमा रहँदै प्रतियोगिताको क्वाटरफाइनलसम्म पुगेकी थिइन् भने सन् २०१३ मा इशानी श्रेष्ठले ब्युटी विद अ–पर्पसको उपाधि जित्दै टप टेनसम्म पुग्न सफल भएकी थिइन् ।