साप्ताहिक संवाददाता
प्रविधिको क्षेत्रमा तीव्र रूपमा परिवर्तन भैरहेको छ । अहिले विभिन्न प्रविधिका कारण मानिसको जीवनमा सहजता थपिँदै गएको छ । यद्यपि प्रविधिको प्रयोग सही रूपमा गर्न जान्नु भने आवश्यक छ । अनुसन्धान संस्था गार्टनरले अब आउने मुख्य १० प्रविधिका सम्बन्धमा एउटा भविष्यवाणी गरेको छ, जुन खासगरी उद्योगसँग सम्बन्धित छ । गार्टनरले हालसम्म गरेका भविष्यवाणीमध्ये ८५ प्रतिशत सही सावित भएका छन् ।
१. सन् २०२० सम्म आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग ८० प्रतिशतसम्म पुग्नेछ । विभिन्न क्षेत्रमा यस्ता प्रोजेक्ट चलाउने दक्ष व्यक्तिहरू जादुगरजस्ता मानिनेछन् । त्यसैले एआईको प्रयोग र यसको सम्भावनाका बारेमा सबैले जान्नु आवश्यक छ । यसबाट संसारभर निकै ठूलो परिवर्तन देखा पर्नेछ ।
२. सन् २०२३ सम्म एआईको सहयोगले फेसियल रिकग्निसन प्रविधिको प्रयोग बढ्नेछ । मानिसको अनुहार पहिचान गरेर विभिन्न कार्य गर्न सकिनेछ । यसबाट हराएको कुनै चिज फेला पार्न वा मानिस पहिचान गर्न मात्र होइन अरू पनि धेरै कार्य गर्न सकिनेछ । यो प्रविधिमा आगामी वर्ष अझ धेरै सुधार आउनेछ ।
३. सन् २०२३ सम्म इमर्जेन्सी हेल्थकेयर सर्भिसका लागि मानिसहरू अस्पताल वा डाक्टरकहाँ जाने क्रममा निकै कमी आउनेछ । विभिन्न प्रकारका वेरेबल डिभाइस तथा एआईमा आधारित भर्चुअल केयरका कारण बिरामीहरूले पहिले त्यसकै सहयोग लिनेछन् । यसका लागि इन्टिग्रेटेड हेल्थ केयर सिस्टमको विकास हुनेछ र डिभाइस तथा एपमा आधारित भर्चुअल केयरको प्रयोग व्यापक हुँदै जानेछ ।
४. सन् २०२३ सम्म करिब २५ प्रतिशत कम्पनीले आफ्ना कर्मचारीमा हुने साइबरबुलिङ रोक्न अनिवार्य रूपमा सपथ लिने छन् । एक–अर्कामा साइबरबुलिङ अर्थात अनलाइनको माध्यमबाट विभिन्न प्रकारले दु:ख दिने सम्भावना हुने भएकाले माथिल्लो तहबाटै यसलाई रोक्न निश्चित विधि अपनाउनु पर्ने बाध्यता हुनेछ ।
५. सन् २०२२ सम्म ७५ प्रतिशत कम्पनीले आफ्नो लक्ष्य पूरा गर्न सबै कर्मचारीलाई सहभागी गराएर लक्ष्य सार्वजनिक गर्नेछन् । विश्वका विभिन्न स्थानका मानिसहरू कम्पनीमा हुने भएकाले सांस्कृतिक विविधतालाई सम्मान गर्दै टिम लिडरले सबैलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बाध्यता हुनेछ । यसबाट सबै कर्मचारी सम्मानजनक भूमिकाको अनुभूति गर्दै काममा सहभागी हुनेछन् ।
६. सन् २०२१ सम्म ७५ प्रतिशत सर्वसाधारण ब्लकचेन प्राइवेसी पोइजनिङबाट समस्यामा पर्नेछन् । हाल यससम्बन्धी कुनै कानुन नबनेकाले आफ्नो ब्यक्तिगत डाटाको उपयोग गर्नबाट समेत बन्चित हुनुपर्ने अवस्था आउने सम्भावना पनि छ । यो समस्या समाधान नगरे प्राइवेसी समस्याकै कारण नयाँ प्रविधिका रूपमा आइरहेको ब्लकचेनको भविष्य नै संकटमा पर्न सक्छ ।
७. सन् २०२३ सम्म ई–प्राइवेसी लेजिलेसन कुकिजको प्रयोग कम गरी अनलाइन लागतमा कमी ल्याउन प्रयास गरिनेछ । यसबाट इन्टरनेट बिज्ञापनमा कमी आउनेछ । हाल प्रचलित विभिन्न अनलाइनमा विज्ञापन प्रदान गर्ने कार्यमा कमी आउनेछ । यसबाट विज्ञापनको बजार निकै प्रभावित हुनेछ । हाल प्रचलित फेसबुक, गुगल आदिको माध्यमले व्यक्तिको निजी जानकारी जथाभावी सार्वजनिक गर्ने कार्यमा समेत कम हुनेछ ।
८. सन् २०२२ सम्म डिजिटल संसारमा आइरहेको तीव्र प्रगतिका कारण कम्पनीहरूले आफ्नो आन्तरिक दक्षता बाहिरी क्षेत्रबाट आउने आय वृद्धि गर्ने कार्यमा लगाउने छन् । यस क्रममा क्लाउड इकोनोमीको प्रयोग बढ्ने छ । इन हाउस अर्थात कम्पनीभित्रै उत्पादन भैरहेका विभिन्न उत्पादनको बिक्री विभिन्न तरिकाले संसारको जुनसुकै कुनामा पुर्याउन सम्भव हुनेछ ।
९. सन् २०२२ सम्म धेरै मानिसले डिजिटल संसारलाई प्रयोगमा ल्याउने छन् । डिजिटल इकोसिस्टमको प्रयोग अझ बढ्नेछ र कम्पनीहरूले डिजिटल दिग्गजअरूको सहयोगमा ग्लोबल मार्केट सेयरमा आफ्नो हिस्सा समेत बढाउन सक्नेछन् ।
१०. सन् २०२१ सम्म सोसल मिडियामा हुने विभिन्न काण्ड तथा सेक्युरिटी उल्लंघनको असरमा निकै कमी आउनेछ । सोसल मिडियाले ब्यक्तिको प्राइवेसीमा थप ध्यान दिने भएकाले यसको स्थायी प्रभाव देखिनेछैन । यद्यपि यसको केही असर भने बाँकी नै हुनेछ । व्यापारिक हिसाबले भने यसको प्रयोग निकै बढ्नेछ । व्यापारमा नैतिकताको मूल्य बढ्नेछ ।