अभिनेता राजेश हमालको हनिमुनले त निकै चर्चा पायो । विवाह भएकै साँझ हमालले आफ्नो होटलको कोठाको तस्बिर सहित आफ्ना तस्बिर मधुलाई समेत थाहा नदिई सामाजिक सञ्जालमा पोस्ट गरेपछि त्यो भाइरल समेत भयो । कतिसम्म भने मधुले आफ्नी दिदीले विदेशबाट फोन गरेपछि मात्र यो कुरा थाहा पाएकी थिइन् ।
अभिनेता हमालले आफ्ना फ्यानहरूको चित्त बुझाउन हनिमुनको तस्बिर सार्वजनिक गर्नुपरेको जानकारी गराएका थिए । विवाह लगत्तै धुलिखेल रिसोर्ट पुगेका हमालमा हनिमुनको सम्झना ताजै छ । हमालका दिदी– भिनाजुले उपहार स्वरुप उक्त रिसोर्टको रुम बुक गरिदिएका थिए । नाम चलेका अभिनेता भएकाले रिसोर्टले समेत उनीहरूको रुमको डेकोरेसन निकै आकर्षक ढंगले गरेको थियो । झण्डै ४० हजार रातको पर्ने कोठामा रोमान्टिक जोडिका लागि रिसोर्टले विशेष व्यवस्था मिलाएको थियो ।
बेडरुमको सजावटले हामीलाई आकर्षित गरिहाल्यो नी ! हमाल भन्छन्– फूलका गुच्छाले झकिझाकाउ आकर्षक रुमका कारण पार्टनरलाई पनि खुसी बनाउँदोरहेछ ।’ उनीहरू सुरुमा रुममा जाँदा जुन खालको सजावट थियो, डिनर गरेर रुममा फर्कंदा अर्कै किसिमको सजावट थियो । यसले यो जोडीलाई थप रोमान्चित तुल्यायो । पहिलो हनिमुन धुलिखेलमा मनाए पनि हमाल दम्पती विवाह भएको एक महिनापछि पुन: पोखरा समेत पुगेका थिए ।
कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुब्रे) को हनिमुन सम्झना अचम्मको छ । लामो समयको प्रेमलाई विवाहमा परिणत गरेका धुव्रे श्रीमतीसँग हनिमुनका लागी अष्ट्रेलिया पुगे । त्यहाँ उनको कार्यक्रम पनि थियो । पहिलोपटक देशबाहिर घुम्न गएको यो जोडी त्यसै खुसी थियो, सोही क्रममा श्रीमतीलाई अघि राखेर स्टेजमा प्रस्तुति दिन पाउँदा बल्छी आफैं मख्ख परे । केही दिन अष्ट्रेलियाका विभिन्न ठाउँ घुमेका उनीहरूले त्यतिबेला विभिन्न अविस्मरणीय सम्झना बटुले । त्यसक्रममा एउटा सम्झना भने कहिल्यै बिर्सन नसक्ने बताउँछन् उनी ।
घुम्ने क्रममा एकदिन समुद्रको छाल आउने स्थलमा गए । उनीहरूलाई के थाहा त्यो छालले कति तर्साउँछ भन्ने कुरा । श्रेष्ठ सम्झन्छन्, ‘श्रीमती छाल नजिकै थिइन्, म फोटो खिचिरहेको थिए । एक्कासि छाल आउँदा हामी एकदमै डरायौं ।’ समुद्रको छेउमै रहेकी श्रीमतीले होसियारी नपनाएको भए जे पनि हुन सक्थ्यो– धुव्रे भन्छन् । त्यतिबेला सामान्य रूपमा लिए पनि पछि भने एकदमै डर लागेको बताउँछन् उनी ।
अभिनेता मुकेश ढकाल र अभिनेत्री मेलिनाको हनिमुन खासै सम्झनलायक रहेन । झण्डै ११ वर्षअघि विवाह बन्धनमा बाँधिएका उनीहरूले सामान्य ढगंबाट हनिमुन मनाए । विवाहको केही दिनमै चलचित्रको छायाँकन परेकाले हनिमुन जाने मौका मिलेन, अभिनेत्री मेलिना सम्झन्छिन्, ‘संयुक्त परिवार भएकाले परिवारको चाहना पनि बुझ्नुपर्यो । बुहारी भएपछि जिम्मेवारी फेरिँदो रहेछ । चाहेको कुरा भन्न नसकिने, मन लागेको कुरा तुरुन्त गर्न नसकिने हुँदोरहेछ ।’
उनीहरू विवाहको एक महिनापछि भने एउटा कार्यक्रमका लागि पोखरा जाने क्रममा एकजना साथीले उनीहरूलाई उपहार स्वरुप एक रातका लागी होटलमा हनिमुन रुम बुक गरिदिए । साँझपख उनीहरू होटलबाट बाहिर निस्किए । मेलिनाले बाटोमा बेकरी शप देखिन् । मेलिना केक भनेपछि हुरुक्कै हुने । यो कुरा उनले श्रीमान्लाई भनिन् तर मुकेश कुन मुडमा थिए कुन्नी, तिमीलाई जतिबेला पनि जे देख्यो त्यही चाहिन्छ भने । मेलिना रिसाइन् । उनीहरूको त्यो रात नबोलीकनै बित्यो । अहिले मेलिनालाई लाग्छ, ‘हामीले त्यो रात निकै रमाइलोसँग बिताउन सक्थ्यौं । त्यति सानो कुरामा त्यो रमाइलो पल गुमायौं ।’
अभिनेत्री सरिता लामिछाने तथा निर्देशक ऋषि लामिछानेले १९ वर्षअघि विवाह गरेका हुन् । उनीहरूको प्रेम विवाह थियो । सामान्य तबरवाट विवाह बन्धनमा बाँधिएका उनीहरूले अहिले जस्तो विशेष ढगंवाट हनिमुन मनाउन पाएनन् । अचानक एक दिन उहाँले विवाह गरौं भन्ने प्रस्ताव गर्नुभयो, सरिता लामिछाने भन्छिन्, ‘उहाँको प्रस्तावमाथि मैले गहिरो ढगंले सोच्ने आवश्यकता मानिन । हामीले घरमा कसैलाई जानकारी नदिई मन्दिरमा गएर विवाह गर्यौ र सँगै बस्न थाल्यौं ।’ सँगै बस्न थालेपछि मात्र उनीहरूले घर परिवारलाई जानकारी दिएका थिए । संघर्षको समय भएकाले हनिमुनलाई खासै सेलिब्रेट गर्न नपाएको अभिनेत्री सरिताको कथन छ ।
चर्चित कलाकार सिताराम र कुन्जनाको चिनजान धेरै पुरानो थियो । हाँस्य टेलिश्रृंखला मेरी बास्सै सुरु हुनुभन्दा अघिदेखिनै साथी थिए उनीहरू । साथीका रूपमा अघि वढिरहेका बेला सीतारामले कुन्जनालाई मन पराइरहेका रहेछन् । मेरी वास्सै सुरु भएको झण्डै चारवर्षपछि उनीहरू विवाह बन्धनमा बाँधिए । त्यसपछि वल्ल गहिरो प्रेमको अनुभूति गरेको कुन्जना बताउँछिन् । विवाह भएको तीन दिनपछि कार्यक्रमका लागी पोखरा जानुपर्ने भयो । त्यतिबेलै हनिमुन मनाउने साइत जुर्यो । लामो चिनजान र प्रेम विवाह भएकाले हनिमुनमा विशेष केहि स्मरणीय काम भने नभएको उनीहरूको तर्क छ । धुर्मुस हाँस्दै भन्छन्– विवाह कहिले भयो भन्दा पनि अहिले पनि हामी नवजोडी जस्तै लाग्छ ।’
अभिनेता निर्मल शर्माको १८ वर्षअघिको हनिमुन सम्झना पनि गज्जवको छ । उनका लागि नगरकोटस्थित होटल कन्ट्रि भिल्लाले हनिमुन विशेष भन्दै नि:शुल्क कोठाको व्यवस्था मिलाएको थियो । उनीहरूले सामान्य खानपिनको पैसा मात्र तिरेका थिए । सम्भवत: २ हजारदेखि ३ हजारमा हाम्रो हनिमुन पूरा भएको थियो, शर्मा भन्छन्, ‘गर्मी महिना थियो । वान नाइट बस्यौं । विवाहपछि एकवाट दुई भएको क्षण गज्जवको हुँदोरहेछ । यति मात्र होइन विल्कुनै शान्त ठाउँमा जाँदा छुट्टै किसिमको मज्जा हंँुदोरहेछ ।’
लोभलाग्दो हनिमुन
गत जेठमा संयुक्त अधिराज्यका राजकुमार ह्यारी र हलिउड अभिनेत्री मेगन मोर्कलबीच विवाह सम्पन्न भयो । विवाहलगत्तै संसारभरका मानिसहरूको ध्यान उनीहरूको हनिमुनतर्फ तानियो । कतिले उनीहरूको हनिमुन डेस्टिनेसन अफ्रिका, क्यानाडा अथवा कोलम्बिया हुने अनुमान गरे, तर अहिलेसम्म पनि यो जोडीले कुन ठाउँमा हनिमुन मनायो रहस्यमै छ ।
जसरी संसारका ठूला सेलिब्रेटीहरूको विवाहले मानिसको ध्यान खिच्छ, त्यसैगरी उनीहरूको हनिमुनलाई पनि चासोका रूपमा लिन थालिएको छ । ०७४ को मंसिरमा विवाह बन्धनमा बाँधिएका भारतीय क्रिकेटर विराट कोहली र अनुष्का शर्माले इटालीमा एक साता लामो हनिमुन मनाए । त्यतिबेला इटालीको रोमबाट विराट र अनुष्काका हनिमुनका तस्बिर भाइरल भएका थिए । साथै उनीहरु हनीमुनका लागि फिनल्याण्ड पनि पुगेका थिए ।
हालै मात्र अमेरिकी नागरिक निक जोन्सनसँग विवाह बन्धनमा बाँधिएकी बलिउड अभिनेत्री प्रियंका चोपडा हनिमुनका लागि ओमान पुगिन् जहाँ प्रियंकाले समुद्री किनारको बालुवामा हार्ट सिंग्नल बनाएर लेखिएको ‘एनजे’ र ‘एसीजे’ का साथै अँगालोमा बेरिएर हनिमुनको मस्ती लुटिरहेको तस्बिर सार्वजनिक गरिन् । मंसिर १६ गते विवाह गरेका उनीहरू त्यसको केही दिनपछि मुकेश अम्बानीकी छोरीको विवाहको प्रि—वेडिङ सेलिब्रेसनमा सहभागी भएका थिए । त्यहाँबाट उनीहरू हनिमुनका लागि ओमान पुगेका हुन् ।
बलिउडका चर्चित अभिनेता साहरूख र गौरी खानले पेरिस, अभिषेक र ऐश्वर्याले युरोप, करिना कपुर र सैफ अलि खानले स्वीट्जरल्यान्ड, शिल्पा सेट्टी र राज कुन्द्राले क्यारेबियन आइल्याण्ड तथा आमिर खान र किरण रावले भारतको पचगनीमा हनिमुन मनाएका थिए ।
गत वैशाख २५ गते व्यापारी आनन्द आहुजासँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री सोनम कपुर भने व्यस्तताका कारण विवाह लगत्तै हनिमुन जान पाइनन् तर, सोनमको व्यस्तता सकिएलगत्तै यो जोडी हनिमुनका लागि ग्रीस जानसक्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । विवाहलगत्तै सेलिब्रेटीहरू विभिन्न रमणीय तथा मिडियाको नजरबाट जोगिन सकिने गन्तव्य खोज्दै हनिमुनमा निस्कन्छन् । आइल्याण्ड्स डटकमले इटालीको अमालफी कोष्ट, लेक कोमा, एङ्गुलिया, बाली इन्डोनेसिया, बिग आइल्याण्ड हवाई, कोस्टारिका, फ्लोरिडा किज, लेक कोमा, इटाली, मेक्सिको, माल्दिभ्स, आयरल्याण्ड, पेरिस, फ्रान्स तथा तान्जिनिया आदिका ठाउँलाई सेलिब्रेटी हनिमुन गन्तव्यका रूपमा उल्लेख गरेको छ ।