साप्ताहिक संवाददाता
निर्देशक दिनेश राउत आफूले निर्देशन गरेको चलचित्र ‘प्रसाद’ ले व्यवसायिक सफलतासँगै समीक्षकको सकारात्मक टिप्पणी तथा दर्शकको साथ पाएपछि खुसी तथा उत्साहित छन् । आइ एम सरी, नोभेम्बर रेन, क्लासिक, पर्व जस्ता कमर्सियल तथा रोमान्टिक चलचित्र निर्देशन गरिसकेका निर्देशक राउतले ‘प्रसाद’ का लागि ठूलै रिस्क लिएका थिए ।
सञ्चारकर्मी सुशिल पौडेलको लेखनको चलचित्र ‘प्रसाद’ को विषयवस्तु निर्देशक राउतले यसअघि निर्देशन गरेका चलचित्रभन्दा शतप्रतिशत भिन्न छ । त्यति हुँदा समेत उनले यो चलचित्रबाट सफलताको स्वाद चाखेका छन् । विपिन कार्की, नम्रता श्रेष्ठ तथा निश्चल बस्नेतले मुख्य भूमिका निर्वाह गरेको प्रसादमा नेपाली समाजकै एउटा पाटो उनिएको छ ।
अन्तरजातीय विवाह गर्ने निम्न आर्थिक हैसियत भएका दम्पत्ति नि:सन्तान हुनु परेपछि उत्पन्न हुने सामाजिक परिवेशमा यो चलचित्रको कथा बुनिएको छ । चलचित्र प्रदर्शन हुनुभन्दा केही दिनअघि निर्देशक राउतले भनेका थिए– दर्शकले रुचाउँछन् भनेर होइन, एउटा विचार व्यक्त गर्न प्रसाद निर्माण गरिएको हो । त्यही विचारलाई दर्शकले रुचाइदिएकोमा उनी दंग छन् ।