मेरो विवाह भएको ५ वर्ष भए पनि बच्चा हुनसकेको छैन । नियमित यौनसम्पर्क हुन्छ तर पनि बच्चा भएको छैन । यसले गर्दा चिन्ता बढ्दै गएको छ । बुढीको परसर्ने समय पनि ढिला हुँदै गएको छ, १५ देखि २० दिनको फरक पर्छ । यौनसम्पर्कका क्रममा स्खलन हुँदा मेरो लिंग अलिअलि चिलाउँछ र श्रीमतीलाई पनि कहिलेकाहीँ पोल्छ र चिलाउँछ । मेरो तथा श्रीमतीको रगत जँचाएको थिए । अरू सबै टेस्ट समेत गराएको थिए बच्चाका लागि । तै पनि अहिलेसम्म सन्तान नभएको हुँदा साह्रै चिन्ता भएको छ । सन्तानका लागि कुन अस्पताल र कुन डाक्टरसँग जँचाउनु पर्ला ?
एसपी
बच्चा नहुनुको कारण ?
सन्तान जन्माउन गर्भधारण हुनुपर्छ । गर्भधारणका लागि यौनसम्पर्क, वीर्यस्खलन, डिम्ब निस्कासन, डिम्ब निसेंचन अनि डिम्बरोपण जस्ता कुरा हुनु आवश्यक छ । सफल गर्भधारणका लागि भ्रुण विकसित हुँदै सन्तानका रूपमा जन्मन्छ । सन्तान जन्माउने यी सबै कुराको बीचमा तालमेल जरुरी छ । गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भनेर चाहेर एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु मनासिव हुन्छ । सन्तान जन्माउन नसक्नुका केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छ । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब दश प्रतिशत जति यस्ता घटनामा सन्तानहिनताको कारण नै पत्ता लाग्दैन ।
महिलाको शरीरमा कतिपय हर्मोनको गडबढी हुँदा पनि सन्तान उत्पादन नहुन सक्छ । केही परिस्थितिमा यसको मानसिक कारण पनि हुन्छ । महिलाको प्रजनन अङ्गसँग सम्बन्धित विकारहरूका कारणले सन्तान जन्माउन नसक्ने हुनुसबै भन्दा प्रमुख कारण हो । पाठेघरभित्र मासु बढ्ने, पाठेघरको भित्री तहको खराबी वा संक्रमण (जस्तै टीबी) वा अन्य खराबी भए पनि सन्तान जन्मन नसक्ने हुन्छ । विभिन्न कारणले डिम्ब वाहिनी नलीको संक्रमण हुँदा यो नली बन्द हुन सक्छ । यो नली बन्द भए डिम्ब तथा शुक्रकिटको मिलन हुन सक्दैन । कतिपय यौन रोग डिम्बवाहिनी नली बन्द हुनुको प्रमुख कारक हो । निसन्तान महिलाहरूमा हुने कारणहरूलाई केलाएर हेर्ने हो भने पाठेघरको मुखसँग सम्बन्धित खराबी गर्भधारण हुन नसक्नुको कारण हुन्छन् । कतिपय जटिल दीर्धरोग वा कडा शारीरिक रोगले पनि सन्तान जन्माउन सक्ने क्षमतामा नकारात्मक असर पार्छन् ।
महिनावारी गडबडी र गर्भधारण
तपाईंलाई थाहै होला महिनावारी सामान्यतया: २८ देखि ३० दिनमा हुने भए पनि केही दिनको ढिलो चाँडोलाई पनि सामान्य नै मानिन्छ । कुनै–कुनै महिलामा महिनावारी प्रत्येक २१ दिनमा समेत हुनसक्छ भने कसैमा यो ३५ दिन वा त्यसभन्दा बढी हुनसक्छ । यस्ता कुरा नियमित रूपमै भैरहेको छ भने केही चिन्ता लिनुपर्दैन । योनीबाट रगत आउन सुरु भएको पहिलो दिनलाई दिन १ मानिन्छ र साधारणतया ३ देखि ५ दिनसम्म रगत बग्छ । बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनपछि महिनावारी सुरु हुन्छ । महिनावारी ठीकसँग नहुनुले डिम्ब निष्कासन ठीकसँग नभएको कुरालाई संकेत गर्छ ।
वीर्य परिक्षण किन ?
सन्तान जन्माउने क्षमता कुनै व्यक्तिमा छ– छैन भनेर पत्ता लगाउन विभिन्न किसिमको परीक्षण तथा जाँच पडताल गर्नुपर्ने हुन्छ । महिलामा जटिल परिक्षण सुरु गर्नुभन्दा पहिले पुरुषको वीर्यमा शुक्रकिटको परीक्षण गर्नुपर्छ ।
तपाईंलाई थाहै होला यही वीर्यमा शुक्रकिट (Spam) हुन्छन् । एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५मिली भन्नाले १ चियाचम्चा जति) वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकिटहरूको संख्या संधै एकनासको नहुनसक्छ । शुक्रकिटको संख्या ४ देखि १२ करोड प्रतिमिलीसम्म हुनुलाई सामान्य मानिन्छ । हामीले देख्ने वीर्यको सानो अंशमात्र शुक्रकिटले ओगटेको हुन्छ । शुक्रकीट निकै साना हुन्छन् ।
प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परीक्षण गरिन्छ । सामान्यभन्दा कम मात्रामा शुक्रकीट हुनुलाई संख्या कम भएको भन्न सकिए पनि चिकित्सकिय दृष्टिकोणले oligo (zoom) spermie अर्थात शुक्रकीट कम भएको भन्न प्रतिमिली २ करोडभन्दा कम शुक्रकीट हुनुपर्छ । अहिले त २ करोडसम्मलाई सामान्य मान्न थालिएको पाइन्छ ।
यसरी वीर्य परीक्षण गर्दा त्यसमा पर्याप्त मात्रामा शुक्रकीट नै नभएको भेटिएको स्थितिमा गर्भ रहन सक्ने भएन । यस्तो अवस्थामा महिलामा जटिल परिक्षणहरू गरिरहने आवश्यकता पर्दैन अनि दम्पत्तीले सन्तानको रहर पुरा गर्न अन्य उपाय जस्तै कृत्रिम गर्भधारणका बारेमा विचार गर्न सकिन्छ ।
समाधान के त ?
oligo (zoom) spermie तपाईंले परीक्षण गराइसक्नु भयो भने पनि त्यसमा के–कसो देखिएको थियो भन्ने सन्दर्भमा खासै केही जानकारी दिनु भएको छैन । परीक्षण रगतको मात्र गराएर नपुग्ला, तपाईंको वीर्य अनि श्रीमतीको प्रजनन अङ्गको संरचना अनि तिनले ठीकसँग कार्य गरिरहेका छन्–छैनन् वा भनौं डिम्ब निष्कासन अनि निसेचन अनि डिम्बरोपण हुने वातावरण अनुकूल छ–छैन हेराउनु पर्ने हुन्छ ।
जे होस् अहिले नेपालका ठूला अस्पताल जस्तै स्त्रीरोग तथा प्रसूति अस्पताल अनि अञ्चल वा प्रादेशिक अस्पतालमा पनि सन्तानहीनताको उपचार हुन्छ । त्यसबाहेक कतिपय निजी अस्पतालमा समेत यस्ता सेवा उपलब्ध छन् । तपाईंले अस्पतालमा गै कुनै स्त्रीरोग विशेषज्ञवाट जँचाउन सक्नुहुन्छ । उहाँले तपाईंको समस्या पहिचान गरी समाधानको उपाय खोज्नुहुनेछ ।
अन्तमा, योनि सुख्खा हुँदा पनि योनि पोल्नसक्छ । चिलाउनुले तपाईंमा ढुसी ( fungus) संक्रमण भएको संकेत गरेको छ । समस्या कायम रहे चिकित्सकलाई देखाउनु होला ।