साप्ताहिक संवाददाता
कुनै बेला काठमाडौंमा ढल खन्ने, भारी बोक्ने, लेबरको काम गर्ने एउटा व्यक्ति आज सानो पर्दाको लोकप्रिय अनुहार बन्न सफल भएको छ भन्दा धेरैलाई पत्याउन गाह्रो पर्छ । ओखलढुंगाका विश्व आनन्द पोखरेलको संघर्ष यतिमै सीमित छैन । कलाकार बन्ने भूत सवार भएपछि काठमाडौं छिरेका विश्व आनन्दले सुरु–सुरुमा धेरै हन्डर खेपे । त्यसक्रममा उनले झ्याइँकुटी झ्याइँ, गोलमाल, जय होस जस्ता श्रृंखलामा समेत काम गरे ।
एकातिर अभिनयको भूत, अर्कातिर चित्तबुझ्दो जीवनयापन गर्न नसकेपछि उनी डिप्रेसनको शिकार भएका थिए । उनका लागि डिप्रेसनबाट बाहिर आउने बाटो नै अभिनय बन्न पुग्यो । दिनेश डिसीद्वारा निर्देशित हास्य श्रृंखला ट्वाक्ट टुक्कमार्फत अभिनयमा पुनरागमन गरेका विश्वले त्यो अवधिमा झण्ड दुई दर्जन भागमा अभिनय गरेर मनोरञ्जन प्रदान गरे । अहिले उनी डिसीकै यूट्युब च्यानलमा जिन्दाल शो सञ्चालन गरिरहेका छन्, जसलाई दर्शकले अत्यन्त मन पराइदिएकोमा विश्व दंग छन् ।