साप्ताहिक संवाददाता
चलचित्र ‘ह्दयभरि’ निर्माण गर्ने औपचारिक घोषणा गरिएको छ । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने यो चलचित्रमा पल शाह, नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बू, कविता रेग्मी, अभिदित खाती, बिके श्रेष्ठ, दीपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री आदिले अभिनय गर्नेछन् । यही चलचित्रमार्फत श्रद्धा छेत्री नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । भारतको कोलकातामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँकी सुपरिचित मोडल हुन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यो चलचित्रको फस्ट लुक्ससमेत सार्वजनिक गरिएको छ । ह्दयभरिको छायांकन फागुनको तेस्रो साता प्रारम्भ हुनेछ ।
को के भन्छन् ?
पल शाह : कथा राम्रो लागेर नै मैले यसमा अभिनय गर्न लागेको हुँ । यो चलचित्रले दर्शकलाई बाँध्छ, विषयवस्तु राम्रो छ । फिल्ममा मलाई चकलेटी ब्वाइकै रूपमा पाउनु हुनेछ तर अघिल्ला फिल्मभन्दा फरक रूपमा ।
सुरज सुब्बा नाल्बो : फिल्मले अहिलेको समयको युवापुस्ताको कथा भन्छ, त्यही अनुरुप नै हामीले कास्ट लिएका छौ । हामीलाई चकलेटी हिरो र फ्रेश अनुहार चाहिएको थियो, त्यसैले श्रद्धालाई प्रस्ताव राख्यौं । पलसँग जोडीसुहाउने भएकाले पनि उनलाई डेब्यु गराउन लागेका हौं । मेरो पछिल्लो फिल्मले पनि मनोरंजनसँगै कहीँ कतै सन्देश दिएकै छ, यसमा पनि छ । राम्रो टिम पाएको छु, राम्रो फिल्म बनाउने आत्मविश्वास छ ।
निकेश लिम्बू : म विदेशमा भए पनि नेपाली फिल्मसँग जोडिएकै छु । मैले निर्माण गरेका चलचित्रले मनोरञ्जन पनि दिएका छन् भने केही सन्देश पनि । हँसिया, रातो घर, ब्लाइन्ड रक्सपछि अब ह्दयभरि लिएर आउँदैछु । कथावस्तु राम्रो छ, त्यसैले यो टिममा म पनि छु ।
यसो भन्छिन् श्रद्धा
मलाई फिल्ममा अभिनय गर्ने रहर थियो । त्यसै अनुरूप मोडलिङ हुँदै फिल्ममा आइपुगेकी छु । कोलकातामा काम गरे पनि मलाइ नेपाली फिल्ममै आउन मन थियो । मलाई पहिले त कास्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने अझ प्रभावित भए । मेरा लागि राम्रो प्रवेश टाइम भएजस्तो लागेको छ, आशा छ दर्शकको माया पाउनेछु ।