साप्ताहिक संवाददाता
इन्जिनियरिङ गरेर चलचित्रमा आउने अभिनेत्री हुन्— सुरक्षा पन्त । सुरक्षा चलचित्र छनौट गर्ने कुरामा चुजी छिन् । उनी जस्तो पायो त्यस्तो चलचित्रमा अभिनय गर्न रुचाउँदिनन् । सुरक्षाले छनौट गरेका चलचित्र तथा निर्वाह गर्ने भूमिका प्राय: पृथक् रहँदै आएका छन् ।
हालै आयोजित एक समारोहमा सुरक्षाले एउटा रमाइलो कुरा सुनाइन् । ‘पारिश्रमिक ठूलो कुरा होइन,’ उनी भन्दै थिइन्– ‘यदि कुनै निर्माता–निर्देशक उत्कृष्ट स्क्रिप्टसहित कम बजेटको प्रस्तावका साथ आउनुहुन्छ भने पनि म अभिनय गर्न तयार हुन्छु ।
चलचित्रको स्क्रिप्ट र मेरो भूमिकाचाहिँ पृथक् हुनुपर्यो ।’ मौलिक विषयमा बन्ने हरेक चलचित्रका लागि आफू उपलब्ध हुने उनको भनाइ थियो । ‘फरक विषयमा चलचित्र निर्माण गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले मलाई सम्झनुभए हुन्छ— सुरक्षाले निर्माता–निर्देशकहरूसँग आग्रह गरिन् ।