साप्ताहिक संवाददाता
प्रविधिको क्षेत्रमा हाल अगमेन्टेड रियालिटी शब्द निकै प्रचलित छ । यसलाई सामान्य भाषामा भर्चुअल रियालिटी अर्थात् आभाषी दुनियाँ पनि भनिन्छ । यो शब्दको प्रयोग हाल विशेष गरी भिडियो गेमिङ सेक्टरमा निकै भैरहेको छ । व्यवसायिक क्षेत्रमा पनि यसको प्रयोग हुन थालेको छ । अमेरिकामा करिब २ प्रतिशत स्टार्टअपले यसको प्रयोग गर्न थालिसकेका छन् । यसले कुनै पनि इन्टरप्रेनरलाई आफ्ना उत्पादन ग्राहकसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
के हो अगमेन्टेड रियालिटी ?
अगमेन्टेड रियालिटी गेमिङ वल्र्डको सबैभन्दा पछिल्लो प्रविधि हो । अगमेन्टेड रियालिटीको संसारमा गेम खेल्ने भन्दा पनि त्यही संसारमै बाँचिन्छ । उक्त प्रविधिको सहयोगले कम्प्युटरमार्फत यस्तो वातावरण पैदा गरिन्छ, जहाँ प्रयोगकर्ता आफैंले त्यही संसारमा भएको अनुभूति गर्छ । यो प्रविधिले संसारभर कम्प्युटर र मोबाइल गेमिङ उद्योगको दिशा नै परिवर्तन गरिदिएको छ ।
करिब एक दशकदेखि नै यसका बारेमा अध्ययन भैरहे पनि हाल आएर मात्र अगमेन्टेड रियालिटीको प्रयोग हुन थालेको छ । पहिले सुस्त गतिमा यसको विकास भए पनि अहिले यसले तीव्रता लिँदैछ र यसको गति कति हुनेछ भनेर कसैले पनि अनुमान लगाउन सक्ने अवस्था छैन ।
के मा प्रयोग गरिन्छ ?
वर्ष २०१९ मा अगमेन्टेड रियालिटी प्रयोग गरिएका वयरेबल डिभाइसको माग करिब १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । २०१८ मा यसको माग करिब ८ प्रतिशत मात्र थियो । यसको प्रयोग नेभिगेसनदेखि इन्टरटेनमेन्टसम्ममा गर्न सकिन्छ । तोशिवा र अन्य ठूला ब्रान्डले यस्ता डिभाइस बजारमा ल्याइसकेका पनि छन् । यद्यपि यसमा निकै ठूलो लगानी गर्नुपर्ने हुनाले मिलेर काम गर्दा अझ उपयोगी हुने देखिन्छ ।
विद्यालयमा पनि यसको प्रयोग हुने देखिएको छ । यसको सहयोगले कक्षाकोठालाई आधुनिक बनाउन सकिन्छ । पुस्तक र कम्प्युटर सामग्री तथा थ्री डाइमेन्सनको सहयोगले विद्यार्थीलाई कुनै पनि च्याप्टरसँग कनेक्ट गर्न सकिन्छ । अगमेन्टेड रियालिटीको प्रयोग गरी गेममार्फत विद्यार्थीलाई पढाउन सकिन्छ । यसले फेसन इन्डस्ट्री तथा निर्माण क्षेत्रमा समेत सहयोग गर्ने बताइएको छ । त्यसैअनुसार विभिन्न कार्यसमेत भैरहेका छन् ।