कुनै साता एउटा पनि चलचित्र प्रदर्शन नहुनु, कुनै साता कम बजेटका चलचित्रहरूले सिंगल थिएटरमा समेत दर्शक नपाउनु तथा कुनै साता ठूलो बजेटका तीन–चारवटा चलचित्र एकै दिन प्रदर्शनमा आउनु नेपाली चलचित्र उद्योगकै लागि एउटा ठूलो विडम्बना हो । माघ १८ गते शुक्रवार अर्थात् आज एउटा त्यस्तै संयोग जुरेको छ । आज सम्भावना बोकेका, राम्रो प्रचार–प्रसार भएका, ठूलो लगानी गरिएका तथा राम्रा कलाकारहरूले अभिनय गरेका तीनवटा चलचित्र एकै दिन प्रदर्शनमा आउँदैछन् ।
गोपी
प्रदर्शन हुनुअघि नै गत सोमबार तथा बुधबार दुईवटा विशेष शो गरिएको चलचित्र ‘गोपी’ लाई निर्माण संस्थाले अग्र्यानिक विषयवस्तुमा आधारित भनेको छ । चलचित्रमा अमेरिका जाने अवसरलाई लत्याएर स्वदेशमै गाई पाल्ने एउटा युवकको कथा चित्रण गरिएको छ । अभिनेता विपिन कार्कीले ती कृषकको भूमिका निर्वाह गरेका छन्, जो काठमाडौं नजिकैको एउटा गाउँमा गाई पालकका रूपमा स्वरोजगार छन् । शिक्षित व्यक्तिले स्वदेशमै बसेर कृषि पेसासमेत अँगाल्न सक्छन् भन्ने सन्देश बोकेको यो चलचित्रलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । कृषिमा आधारित भए पनि चलचित्रमा व्यवसायिक फर्मुलासमेत समावेश गरिएको निर्देशक दीपेन्द्र लामाको दावी छ । चलचित्रमा विपिनलाई दुई अभिनेत्री वर्षा राउत तथा सुरक्षा पन्तले साथ दिएका छन् । चलचित्रमा उनीहरू गोपीलाई प्रेम गर्ने भूमिकामा छन् । सूर्य लिम्बूको कला निर्देशनको यो चलचित्रका लागि सुष्मा थापाले कस्ट्यूम डिजाइन गरेकी छिन् । यो चलचित्रका छायाँकार शैलेन्द्र डी कार्की हुन् भने गोपाल रसाइली तथा आशिष अविरलको संगीत संयोजनमा तयार पारिएका यो चलचित्रका गीत विप्लव प्रतीक तथा बुद्धिसागरले रचना गरेका हुन् । गोपीका गीतमा शिव परियार, सन्तोष लामा, बानिका प्रधान, ध्रुव विश्को तथा एञ्जिला रेग्मीको आवाज सुन्न सकिन्छ । गोविन्द्र राईको नृत्य निर्देशनको यो चलचित्र निर्देशक लामाकै कथामा निर्माण भएको हो ।
निर्देशक : दीपेन्द्र लामा
कलाकार : विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, प्रकाश घिमिरे, भोलाराज सापकोटा, कमलमणि नेपाल, रमेश अधिकारी, अंकित खड्का आदि ।
संगीतकार : न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल तथा कल्याण सिंह ।
सय कडा दश
लामो समयदेखि हास्य कलाकारितामा सक्रिय अभिनेता राजाराम पौडेलको पहिलो लगानीको चलचित्र हो– सय कडा दश । भ्रष्टाचारविरुद्ध प्रेम भन्ने नारा बोकेको यो चलचित्रमा व्यंग्यकार मनोज गजुरेल पनि पहिलो पटक अभिनेताका रूपमा प्रस्तुत हुँदैछन् । चलचित्रमा उनी सामाजिक अभियन्ताको भूमिकामा छन् । समाजमा घटिरहेका वास्तविक घटनाक्रमहरूलाई आधार बनाएर तयार पारिएको यो चलचित्रमार्फत समाजमा व्याप्त भ्रष्टाचारको जरो पत्ता लगाउने प्रयास गरिएको छ भने प्रेममार्फत समाजलाई भ्रष्टाचारमुक्त बनाउन सकिन्छ भन्ने सन्देश पनि दिन खोजिएको छ । भ्रष्टाचार रोक्न प्रेम जरुरी छ भन्दै प्रचार–प्रसारमा उत्रिएको यो चलचित्रको विषयवस्तु उत्कृष्ट रहेकैले आफू अभिनयमा आएको व्यंग्यकार गजुरेलले बताएका छन् । यो चलचित्र भ्रष्टाचारलाई राजनीतिले भन्दा प्रेमले रोक्न सकिन्छ भन्ने विषयमा केन्द्रित छ । चलचित्रको विषयवस्तुकै कारण आफू पहिलो पटक निर्माता बनेको दावी गर्ने अभिनेता राजाराम पौडेलले हालसम्म दुई सय वटा चलचित्रमा अभिनय गरे पनि आफ्ना लागि यही चलचित्र सबैभन्दा उत्कृष्ट भएको दाबी गरेका छन् । यसअघि प्रेमगीत तथा प्रेमगीत–२ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका रामशरण पाठकका लागि यो चलचित्र चुनौतीपूर्ण समेत छ । अभिनेत्री करुणा श्रेष्ठले यही चलचित्रबाट डेब्यु गरेकी छिन् । उनी मोडलिङबाट चलचित्रमा आएकी हुन् । यो चलचित्रका गीत डीआर उपाध्याय, रामशरण पाठक तथा रवि मल्लले रचना गरेका छन्, जसमा स्वप्न सुमन, त्रिशाला गुरुङ, सन्देश पाठक तथा सागर संसार राईको स्वर सुन्न सकिन्छ । रीत खड्का तथा बोनिका कार्कीले चलचित्रका लागि कस्ट्यूम डिजाइन गरेका छन् । चलचित्रमा दिलीप ओखेडाको नृत्य निर्देशन छ भने जूगल डंगोलले पृष्ठभूमि संगीत तयार पारेका छन् । बनिश शाह तथा भूपेन्द्र अधिकारीद्वारा सम्पादन गरिएको यो चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् ।
निर्देशक : रामशरण पाठक
कलाकार : राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुंगाना, अमित पोखरेल, करुणा श्रेष्ठ, उत्सव न्यौपाने आदि ।
संगीतकार : कल्याण सिंह तथा जुगल डंगोल
रणवीर
गोपी र सय कडा दशभन्दा ठिक विपरित रणवीर व्यवसायिक मर–मसलायुक्त बदलाको कथामा आधारित चलचित्र हो । चलचित्रकै मुख्य पात्रको नामबाट शीर्षक जुराइएको रणवीरमा अभिनेता सुशिल सिटौला केन्द्रिय भूमिकामा छन् । सुशीलले यसअघि होस्टल, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, गाँजाबाजा आदि चलचित्रमा अभिनय गरिसकेका छन् । आफूलाई रणवीरको चरित्रमा ढाल्न झन्डै ६ महिना मेहनत गरेको बताउने अभिनेता सिटौलाले चलचित्रको चरित्रलाई सशक्त बनाउन आफ्नो शरीरको तौल समेत बढाएका थिए । उनी यो चलचित्र आफ्नो करियरकै लागि महत्वपूर्ण हुने बताउँछन् ।
यही चलचित्रबाट दुई नयाँ अनुहार अभिनेत्रीका रूपमा रजतपटमा भित्रिएका छन्— सन् २०१२ की मिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का तथा मोडल सुपुष्पा भट्ट । चलचित्रमा माया, मित्रता तथा बदलाको कथा चित्रण गरिएको छ । ठूलो बजेटको यो चलचित्रलाई गोमा विष्ट थापा तथा दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । तीन जना संगीतकारद्वारा संगीतबद्ध चलचित्रका गीतलाई रिकेश गुरुङ तथा राजन इशानले संगीत संयोजन गरेका छन् । हर्कुलस बस्नेत, प्रविशा अधिकारी, राजनराज शिवाकोटी, अञ्जु पन्त, चक्र बम, प्रताप दास, नरेन्द्र राज रेग्मी तथा सतिशले चलचित्र पाश्र्व गायन गरेका छन् । गम्भिर विष्ट, सुरेन्द्र बसेल तथा रामजी लामिछानेले चलचित्रका गीतमा नृत्य निर्देशन दिएका छन् । चन्द्र पन्तको द्वन्द्व निर्देशनको यो चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक गोविन्द सिंह भण्डारीले नै तयार पारेका हुन् ।
निर्देशक : गोविन्द सिंह भण्डारी
कलाकार : सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, भोलाराज सापकोटा, रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी आदि ।
संगीतकार : राजनराज शिवाकोटी, हर्कुलस बस्नेत तथा अमित श्रेष्ठ