साप्ताहिक संवाददाता
युवापुस्तामाझ चर्चित उपन्यास समर लभमा आधारित चलचित्र ‘समर लभ’ शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ । युवापुस्ताको प्रेममाथि लेखिएको उपन्यासले पाठकमाझ निकै चर्चा कमाएको थियो । मुस्कान ढकालले त्यही लोकप्रिय उपन्यासमाथि बनेको चलचित्र ‘समर लभ’ निर्देशन गरेका हुन् । चलचित्रमा आशिष पिया तथा रेवती क्षेत्रीको मुख्य भूमिका छ ।
उपन्यासका पात्रअनुसार चलचित्रमा अतीतको भूमिका आशिषले तथा सायाको भूमिका रेवतीले निर्वाह गरेका छन् । उपन्यासकी अर्की मुख्य पात्र सुस्मिताको भूमिकामा नम्रता सापकोटा देखिँदै छिन् । चलचित्रमा लेखकको भूमिका सुरजसिंह ठकुरीले निर्वाह गरेका छन् । यस्तै, अतीतका साथी किरण भण्डारीको भूमिकामा शिशिर भण्डारी छन् । आशिष र रेवतीको यो पहिलो चलचित्र हो ।
चलचित्रका पात्रमा दर्शकले आफैंलाई फेला पार्न सक्ने निर्देशक मुस्कान ढकाल बताउँछन् । चलचित्रका बारेमा निर्देशक ढकाल भन्छन्, ‘समर लभ पुस्तकलाई पाठकहरूले जति माया दिनुभएको छ, जसले यसको भाव बुझ्नुभएको छ, सोहीअनुसार कथाको मर्म मर्न दिएको छैन, उपन्यास जति दमदार छ, चलचित्र अझ दमदार छ ।’
समर लभ प्रेममा आधारित चलचित्र हो । यो चलचित्रको छायांकन कथामा उल्लेख भएका ठाउँहरूमै गएर गरिएको निर्माण पक्षले जनाएको छ । समर लभमा काठमाडौं, पोखरा, धनगढी, नर्वेको ओस्लो, सिंगापुर, मलेसिया आदि ठाउँ समेटिएका छन् । योचलचित्र निर्माणमा २ करोड ८० लाख रुपैयाँ खर्च भएको बताइएको छ । यो चलचित्रको छायांकन सञ्जय लामाले गरेका हुन् ।