साप्ताहिक संवाददाता
हिजोबाट राजधानीको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा ‘दोस्रो नेपाल अर्न्तराष्ट्रिय फिल्म फेस्टिभल’ सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्कमल दाहालले महोत्सवको बिहीबार उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपाली सिनेमा ‘हरि’ प्रदर्शन गरियो ।
पाँच दिनसम्म चल्ने फेस्टिवलमा ३१ देशका पाँच दर्जन चलचित्र देखाइनेछ । चलचित्र प्रदर्शनका अलावा महोत्सवमा विभिन्न विषयमा छलफल पनि चलाइनेछ ।
कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले चलचित्र संस्कृति आदानप्रदानका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । आफ्नो पहिलो कार्यकालमा नेपाली चलचित्रको विकासका लागि नीतिनिर्माणसहित विभिन्न कार्य गरेको पनि अध्यक्ष दाहालले स्मरण गरे ।
सो महोत्सवका निर्णायक प्रमुख एवं चलचित्र निर्माता निर्देशक कलाकार नीर शाहले फेस्टिवलमा सिनेमा हेर्न बिताएको समय सिकाइका हिसाबले महत्वपूर्ण हुने बताएका थिए । पोखराबाट सुरु भएको यो महोत्सव दोश्रो वर्षमै अझ ससक्त भएको उनले बताए ।
महोत्सवको दोश्रो दिन आज १० सिनेमा देखाइदैं छ भने ‘सिनेमामा महिला’ तथा ‘सिनेमा उद्योगका लागि चुनौती’ गरी दुईवटा विषयगत छलफल राखिएको छ । पहिलो छलफलमा रेखा थापा, दिपाश्री निरौला र संगीता श्रेष्ठ प्रमुख वक्ता रहेका छन् भने साढे दुई बजे हुने छलफलमा आकाश अधिकारी, प्रदिप उदय, हेमराज बिसी तथा रविन्द्र सिंह बानियाँ प्रमूख वक्ता रहेका छन् ।