साप्ताहिक संवाददाता
काठमाडौं युनिभर्सिटीको टिम जुनकिरीले आगामी अप्रिलमा मलेसियामा आयोजना हुने ‘सेल इको म्याराथन एसिया २०१९’ मा भाग लिने भएको छ । कम्पनीको ‘मेक द फ्युचर’ अभियान अन्तर्गत विभिन्न देशका विद्यार्थीहरूले अल्ट्रा इनर्जी एफिसिएन्ट भेइकलको डिजाइन गर्नुका साथै त्यसको परीक्षणसमेत गर्नेछन् । यसका लागि काठमाडौं युनिभर्सिटीका विद्यार्थीहरूले केयू १.० नामक प्रोटोटाइप भेइकल डिजाइन गरेका छन् ।
केयू १.० मा ५० सीसी फोर स्ट्रोक ग्यासोलिन इन्जिन छ । यसले १५० किलोमिटर माइलेज दिने बताइएको छ । उनीहरूको टिमले एरोडाइनामिक डिजाइनका साथै च्यासिसका लागि हलुका मेटरियलको प्रयोगमा जोड दिएका छन् । त्यसैगरी उच्च माइलेजका लागि आधुनिक इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (ईएफआई) तथा थोरै सीसी प्रयोग गरिएको बताइएको छ ।
नेपालबाट पहिलो पटक र पहिलो टिमका रुपमा केयूको टिम जुनकिरी सहभागी हुने भएको हो । यसका लागि डिपार्टमेन्ट अफ मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरूले वर्ष दिन भन्दा बढी समय लगाएर प्रोटोटाइप भेइकल तयार पारेका हुन् । टिम जुनकिरी पहिलो पटक सहभागी हुने भएकाले प्रोटोटाइप र ग्यासोलिन इन्जिन विधामा प्रतिस्पर्धा गर्न लागेको छ ।
टिम जुनकिरीमा डिपार्टमेन्टका एसोसिएट प्रोफेसर डा. डेनियल तुलाधर एवं टिम म्यानेजर सागर थापासहित स्मृति धमला, विश्वास न्यौपाने, इशान ताम्राकार, मदन क्षेत्री, मिलन पाठक, निशान सापकोटा, नितेशकुमार यादव एवं तिलकराज पन्त छन् ।