साप्ताहिक संवाददाता
चलचित्र खागको प्रदर्शन आज शुक्रबार प्रारम्भ भएको छ । कमलजंग कुँवरद्वारा लिखित ‘गैडालाई चार वर्ष’ पुस्तकमा आधारित यो चलचित्रमा प्रवीण खतिवडा मुख्य भूमिकामा छन् । चलचित्रमा खतिवडा लेखक कुँवरको भूमिकामा देखापर्छन् ।
मनोज पण्डितकले निर्देशन गरेको चलचित्र खागकी निमात्रीमा प्रमिला कुँवर हुन् । खाग एउटा इमान्दार एवं संघर्षशील व्यक्तिमा आधारित चलचित्र भएको निर्देशक पण्डित बताउँछन् । पण्डितका अनुसार खाग एउटा प्रतीक हो, जसले हाम्रो समाजमा भ्रष्टाचार र तस्करी व्याप्त छ र त्यसबाट मुक्त हुन विरोध गर्ने मानिसहरू पनि छन् भन्ने कुरा प्रस्तुत गर्नेछ ।
चलचित्रमा निर्देशक पण्डित, दीपा पन्त, पुष्कर गुरुङ, अशान्त शर्मा आदि कलाकारले अभिनय गरेका छन् । हेटौंडा, चितवन तथा नवलपरासीका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रमा दीपक बज्राचार्यको छायांकन तथा पदम तिमल्सिनाको सम्पादन हेर्न पाइन्छ । चलचित्र खागको निर्माणमा ४५ लाख खर्च भएको पण्डितले जानकारी दिए ।