साप्ताहिक संवाददाता
चलचित्र ‘द ब्रेकअप’ आखिर के मा रुमलियो ? सरसर्ती चलचित्रलाई नियाल्ने हो भने मुख्य भूमिकामा रहेका अभिनेता आशिरमान देशराज जोशी तथा अभिनेत्री शिल्पा मास्केको प्रेम र ब्रेकअपमै चलचित्र अलमलिएको देखिन्छ । ब्रेकअपको उठान नै कमजोर पाइन्छ । जुन कमजोरीलाई निर्देशक हेमराज बिसीले समेत स्विकार गरिसकेका छन् । प्रेम कथामा आधारित यो चलचित्रलाई अन्य प्रेमकथात्मक चलचित्रको तुलनामा भिन्न पाउन मुस्किल पर्छ । ‘द ब्रेकअप’ हेरिसकेपछि चलचित्रकर्मीहरूको पनि मिश्रित प्रतिक्रिया छ ।
जसमा कतिपयले चलचित्र उत्कृष्ट भएको बताएका छन् भने कतिपयले आशा गरेअनुरूप नभएको बताएका छन् । धेरैजसो चलचित्रकर्मी द ब्रेकअपको कमजोर पक्ष भनेको यसको स्क्रिन प्लेमै देख्छन् । यसमा जति मेहनत गर्न सकिन्थ्यो त्यो नपुगेको उनीहरूको भनाइ छ । चलचित्रको सिनेम्याटोग्राफी सबल देखिन्छ भने चलचित्रको सम्पादन पनि उत्कृष्ट छ ।
अभिनेता–अभिनेत्रीको हकमा कुरा गर्ने हो भने उनीहरूको अभिनय औसत पाइन्छ । आशिरमानका लागि द ब्रेकअप दोस्रो चलचित्र हो । यसभन्दा अघि उनले ग्याङस्टर ब्लुजमा अभिनय गरेका थिए । ग्याङस्टर ब्लुजको तुलनामा आशिरमानले आफ्नो अभिनय कलामा केही सुधार भने पक्कै ल्याएका छन् । अभिनेत्री शिल्पा मास्केका लागि यो डेब्यु फिल्म हो । पहिलो चलचित्रमै उनले गरेको अभिनय प्रशंसनीय छ । निर्देशक बिसी पनि चलचित्रको सबल पक्ष भनेको कलाकारहरूको प्रस्तुति रहेको बताउँछन् ।
बिसी भन्छन्, ‘कुनै पनि काम गर्दा केही कमीकमजोरी हुनु सामान्य हो, यो चलचित्रमा पनि केही कमजोरी छन्, तर चलचित्रमा कलाकारहरूको अभिनयकलामा भने दाग लाउने ठाउँ छैन ।’ बिसीको भनाइ नै ठीक माने पनि उनले चलचित्रमा जति मेहनत गर्न सक्थे त्यो भने गर्न नसकेको चलचित्रमा प्रष्ट देखिन्छ । यस्तै कलाकारका सम्बन्धमा भन्ने हो भने सहायक भूमिकामा रहेका रेमनदास श्रेष्ठ र इच्छा कार्कीको अभिनय उत्कृष्ट छ । उनीहरूको अभिनयले केही हदसम्म दर्शकलाई टिकाउन सक्छ ।
द ब्रेकअपको कथा सहरमुखी छ । यसले सहरी परिवेशलाई नै उजागर गर्न खोजेको छ । सहरी परिवेशबाट दिक्क भएका दर्शकका लागि भने यो चलचित्र अनुकूल नहुन सक्छ । चलचित्रमा २० प्रतिशतभन्दा बढी अंग्रेजी शब्द प्रयोग भएको छ, जसले गर्दा सामान्य दर्शकलाई चलचित्रको कथा बुझ्न अलि गाह्रो पर्छ । वास्तवमा भन्ने हो भने कतिपय अवस्थामा त अंग्रेजी नबुझ्ने दर्शकका लागि कथाबीचमै टुंगिन सक्छ । चलचित्रमा केही अष्ट्रेलियाको पनि कथा भएकाले अंग्रेजी संवाद राख्न बाध्य भएको निर्देशक बिसीको भनाइ छ ।
यद्यपि निर्देशक बिसीले पनि कतिपय अंग्रेजी संवादमा कैंची चलाउन सक्थे, तर त्यसमा उनले ध्यान नपुर्याएको प्रष्ट देखिन्छ । यस्तै, चलचित्रमा अभिनेता सलोन बस्नेतको अनुहार पनि देखिन्छ, तर उनको कुनै संवाद वा भूमिका भने छैन । टेक्निकल समस्याले गर्दा यस्तो भएको निर्देशक बिसीको भनाइ छ । यो चलचित्रमा अभिनेता बस्नेत छैनन् । उनलाई सुरुमा अनुबन्धित गराएर पोखरामा केही सिन पनि लिइएको थियो । त्यसपछि द ब्रेकअपको टिम सुटिङका लागि अष्ट्रेलिया गयो, तर त्यहीबेला सलोन यात्रा चलचित्रमा ब्यस्त भएकाले उनी द ब्रेकअपबाट बाहिरिएका थिए । पोखरामा लिइएको उनको त्यो सिनलाई भीएफएक्सबाट हटाउन नमिल्ने भएपछि सलोनसँग कुरा गरेर त्यसलाई राख्न बाध्य भएको निर्देशक बिसी बताउँछन् ।
यतिबेला नेपाली चलचित्रको व्यापार चौपट रहेको चलचित्रकर्मीहरू बताउँछन्, जसको मार आशा गरिएका दुई चलचित्र क्याप्टेन र द ब्रेकअपमा पनि पर्यो । द ब्रेकअपको तुलनामा क्याप्टेनले बढी व्यापार गरेको पक्कै हो । यद्यपि क्याप्टेनलाई पनि लगानी उठाउन धौ–धौ नै छ । अब द ब्रेकअपको कुरा गर्ने हो भने यो चलचित्र घाटामै छ । बुधबारसम्मको कलेक्सनलाई हेर्ने हो भने चलचित्रले करिब ६० लाखको हाराहारीमा कलेक्सन गरेको निर्मातासमेत रहेका बिसी बताउँछन् ।