साप्ताहिक संवाददाता
फाइभ जी स्मार्टफोन
अन्तर्राष्ट्रिय मोबाइल कन्फ्रेन्समा विभिन्न कम्पनीले फाइभ जी नेटवर्कमा चल्ने स्मार्टफोन सार्वजनिक गरेका छन् जसअन्तर्गत जेडटीईले एक्सोन १० प्रो नामक फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको थियो । यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भएको ट्रिपल क्यामेरा सेटअप छ । त्यसैगरी शाओमीले मी मिक्स ३ फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको थियो भने सामसुङको एक्सएक्सएल ग्यालेक्सी एस १०, मोटोरोलाको फाइभ जी मोटो मोड तथा एलजीको भी ५० आदि फाइभ जी स्मार्टफोनले धेरैका ध्यान तानेका थिए ।
५ वटा क्यामेरा भएको स्मार्टफोन
नोकिया स्मार्टफोन निर्माण एवं बिक्री गर्ने कम्पनी एचएमडी ग्लोबलले ५ वटा क्यामेरायुक्त संसारकै पहिलो स्मार्टफोन नोकिया ९ प्युअर भ्यू सार्वजनिक गरेको छ । यसको पछिल्लो भागमा ५ वटा क्यामेरा छन् र ती सबै क्यामेरा १२ मेगापिक्सेलका छन् । यो स्मार्टफोनमा ५ दशमलव ९९ इन्च टुके स्क्रिन, क्वालकम स्न्यापड्रागन ८ सय ४५ प्रोसेसर र ६ जीबी र्याम छ । आगामी मार्चदेखि बिक्री प्रारम्भ हुने यो फोनको अन्तर्राष्ट्रिय बजार मूल्य ६ सय ९९ डलर हुने बताइएको छ ।
१८ हजार एमएएच
ब्याट्रीयुक्त स्मार्टफोन
फ्रान्सको एभेनियर टेलिकमको लाइसेन्स प्रयोग गर्ने एनर्जाइजर ब्रान्डले १८ हजार एमएएच ब्याट्री क्षमता भएको स्मार्टफोन सार्वजनिक गरेको छ । यति शक्तिशाली ब्याट्री जडान गरिएको यो विश्वकै पहिलो स्मार्टफोन हो । पावरम्याक्स पी१८के पप नामक उक्त स्मार्टफोन एकपटक चार्ज गरेपछि एक सातासम्म चलाउन सकिने कम्पनीको दाबी छ । यसमा दुई दिन अर्थात् ४८ घण्टासम्म लगातार भिडियो हेर्न सकिन्छ । ६ दशमलव २ इन्चको एलसीडी डिस्प्लेले यसलाई थप सानदार बनाएको छ । यो फोनमा दुई सेल्फी क्यामेरा र ब्याक प्यानलमा तीन क्यामेरा छन् । यसमा ६ जीबी र्याम तथा १ सय २८ जीबी स्टोरेज छ । कम्पनीका अनुसार यो स्मार्टफोन १८ मिलिमिटर बाक्लो छ, जुन तीनवटा आइफोन मिलाएजति मोटो हो । यसलाई ३० मिनेटमा ८५ प्रतिशत चार्ज गर्न सकिन्छ । यो फोन आगामी जुन महिनामा सार्वजनिक गरिने र त्यसको अन्तर्राष्ट्रिय बजार मूल्य ६ सय युरो हुने बताइएको छ ।