साप्ताहिक संवाददाता
अघिल्लो साता प्रदर्शन भएको चलचित्र हो— पुरानो बुलेट । भीषण राई निर्देशित यो चलचित्रले काठमाडौं उपत्यकाका सिनेमा हलहरूमा खासै राम्रो व्यापार नगरेको हलवालाहरू बताउँछन् । यद्यपि काठमाडौंबाहिरका सिनेमा हलहरूमा भने यो चलचित्रले सन्तोषजनक व्यापार गरेको छ । तैपनि यो चलचित्रलाई लगानी उठाउन धौ–धौ परेको छ । १ करोड रुपैयाँ लगानी गरिएको यो चलचित्रमा एउटा बेरोजगार युवाको कथा प्रस्तुत गरिएको छ ।
चलचित्रमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बू मूख्य भूमिकामा छन् । चलचित्रमा अनुप ‘प्रताप’ पात्रको भूमिकामा छन् । प्रताप एउटा बेरोजगार युवा हुन्छ । ऊ गाउँमा पुरानो बुलेट मोटरसाइकल चढेर हिँड्छ । यही क्रममा माला अर्थात् बनिका उसको गाउँमा घुम्नका लागि आइपुग्छिन् । प्रतापले बनिकालाई आफ्नो गाउँ घुमाउँछ । बिस्तारै बनिकालाई मन पराउँछ । प्रेम प्रस्ताव राख्छ, तर उसको प्रस्तावलाई बनिकाले नकार्छे । यही क्रममा ऊ आफूसँग भएको पुरानो बुलेट बेचेर सहर पस्छ । सहरमा उसले एउटा चिया पसलमा काम गर्न थाल्छ । त्यही क्रममा उसले वर्षालाई पनि मन पराउँछ । बिस्तारै ऊ भरिया पनि बन्छ । एक दिन सामान पु¥याउने क्रममा उ बनिकाको घरमा पुग्छ । त्यहाँ उसको बनिकासँग भेट हुन्छ । त्यसपछि बनिकाले उसलाई मन पराउन थाल्छिन् । बनिकाको एउटा ठूलो कम्पनी हुन्छ । प्रताप पनि बनिकाकै कम्पनीमा काम गर्न थाल्छ । उसले गाउँमा आफ्नो बाबुआमालाई भने आफू कतार गएको भनेर ढा“ट्छ । ऊ आखिर कतार जानकै लागि गाउँबाट सहर आएको हुन्छ । बनिकाको कम्पनीमा काम गर्न थालेको केही समयमै प्रताप गाडीमा सयर गर्छ । उसलाई गाडी बनिकाले किनिदिएकी हुन्छे । चलचित्रमा वर्षा शिवाकोटीले जमुना पात्रको भूमिकामा अभिनय गरेकी छिन् । उनलाई डिभी परेको हुन्छ । तैपनि उनी कोरस नाच्नतिर लाग्छिन् । यस्तै–यस्तै कथालाई चलचित्रले प्रस्तुत गरेको छ । निर्देशक राई स्वयं पूर्वका भएकाले हुन सक्छ, पूर्वको ठेट लवजलाई चलचित्रमा समावेश गरिएको छ । त्यसैले चलचित्रको डायलग सुन्दा फरकपन पाउन सकिन्छ । चलचित्रमा पूर्वका विभिन्न गाउँको दृश्यलाई पनि समावेश गरिएको छ ।
सरसर्ती हेर्दा मध्यभागसम्म चलचित्र जति उत्कृष्ट छ, मध्यान्तरपछि चलचित्रलाई कथाको विपरीत दौडाइएको छ, जसले गर्दा सामान्य दर्शकलाई कथा बुझ्न गाह्रो पर्छ । यसै कारण चलचित्रको क्लाइमेक्स कथाअनुरूप हुन सकेको छैन । चलचित्रको पोस्टर, ट्रेलरमा एक्सनलाई महत्व दिइएको भए पनि चलचित्रमा एक्सनका दृश्यहरू कमै छन् । अभिनेतालाई जसरी पनि नायक नै बनाउनुपर्छ भन्नेमा चलचित्र केन्द्रित रहेको देखिन्छ । चलचित्रको सिनेम्याटोग्राफी पनि गतिलो छैन ।
चलचित्रमा कलाकारहरूको अभिनय कामचलाउ देखिन्छ । अनुप र वर्षाले पहिलेका चलचित्रको तुलनामा ठीकठाक अभिनय गरेका छन् । निर्देशक भीषण राईको पहिलो चलचित्र भएकाले उनको प्रयासलाई औसत श्रेणीमा राख्न सकिन्छ ।