साप्ताहिक संवाददाता
चलचिक्र साइँली आज शुत्रबारदेखि प्रदर्शनमा आएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनको यो चलचित्रमा आफ्नो परिवारको ऋण तिर्न वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा परेका ३० वर्षीय पिताम्बर थापा तथा २५ वर्षीय माया थापामगर (साइँली) को अन्तरजातीय प्रेम जीवनमा आउने उत्तारचढाव एवं बाधाहरू समेटिएको छ ।
सुखद् भविष्यको कल्पना गर्ने प्रेमिल जोडीको यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इष्टु कार्की, सरोज अर्याल, अरुणा कार्की आदि कलाकारले अभिनय गरेका छन् । विशाल गुरुङ तथा मोहन रानामगरले निर्माण गरेको चलचित्र साइँलीका सह–निर्माता विजय अवाले, विकास पुजाज तथा शुभेच्छा केसी हुन् ।
मणिराम पोखरेल यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा नाच माया र प्याट प्याटे गरी दुईवटा गीत समावेश छन् । यसमध्ये नाच माया गीतले युट्युबमा ५० लाखभन्दा बढी भ्युज पाएको छ । चलचित्रका गीतमा कालिप्रसाद बास्कोटा तथा सुशान्त गौतमको संगीत छ भने ब्याकग्राउण्ड स्कोर रोहित शाक्यको छ । शैलेन्द्र डि कार्कीले छायांकन गरेको यो चलचित्र कास्कीका विभिन्न स्थानका दृश्य समावेश गरिएको छ ।
यो चलचित्रको एक महिना अघि सार्वजनिक ट्रेलरमा माया, प्रेम, मित्रता, गरिबी तथा त्यसबाट उत्पन्न हुने समस्या देखाइएको थियो ।