साप्ताहिक संवाददाता
सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा अभिनित चलचित्र ए मेरो हजुर ३ ले राम्रो व्यापार गरिरहेको छ । गत विकेण्डमा ३ करोड ३९ लाख रुपैयाँ व्यापार गरेको चलचित्रले गत सोमबार मात्रै ६२ लाख रुपैयाँ व्यापार गरेको थियो । चार दिनमा जम्माजम्मी ४ करोड १ लाख रुपैयाँ बराबर व्यापार गरेको चलचित्रले सोमबार, मंगलबार तथा बुधबार पनि आफ्नो ब्यवशायिक रफ्तारलाई कायम गरेको छ । यी दिनहरुमा ए मेरो हजुर ३ को बिहानी शोमा ५० प्रतिशत अकुपेन्सी रहेको छ भने दिवा र सन्ध्याकालिन शोमा दर्शकको शतप्रतिसत साथ मिलिरहेको निर्माता सुनिलकुमार थापाले बताए ।
शुक्रबार प्रदर्शनको पहिलो दिन ११ शो दिएको देशकै ठुलो मल्टिपेलेक्स चेन क्युएफएक्सले बुधबार सर्वाधिक १८ शो राजधानीमा मात्रै उपलब्ध गराएको थियो ।
निर्माता सुनिलकुमार थापाले ए मेरो हजुुर ३ लामो रेशको घोडा बन्नेमा विश्वस्त छन् । शुक्रबारबाटै देशभरका सिनेमा घरमा राम्रो सुरुवात गरेको चलचित्रको ब्यवशाय छैठौं दिन पनि राम्रो रहेको छ । ए मेरो हजुर ३ को एक हप्ते कलेक्सन रिपोर्ट ६ करोड आसपासमा हुने अनुमान वितरक मनोज राठीको छ । यो चलचित्रबाट अनमोल केसीको स्टारडम एकपटक पुनः उत्कर्षमा पुगेको छ भने डेव्यु अभिनेत्री सुहाना थापाले नेपाली चलचित्र क्षेत्रमा धमाकेदार इन्ट्री गरेकी छन् । उनलाई अबको स्टार अभिनेत्रीको रुपमा हेरिएको छ ।
स्टार र फ्यानबीचको सांगीतिक प्रेमकथामा निर्माण भएको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । ए मेरो हजुर ३ मा अनमोल केसीको दोहोरो भुमिका रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अतिरिक्त अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा बाल कलाकार कुशाग्र भट्टराई प्रभावकारी भूमिकामा प्रस्तुत भएका छन् ।
चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।