साप्ताहिक संवाददाता
नेपालले पहिलो पटक आफ्नो भूउपग्रह प्रक्षेपण गरेको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड –३’ परियोजना अन्तर्गत संयुक्त राज्य अमेरिकाबाट बिहीबार बिहान २ बजेर ३१ मिनेटमा ‘नेपाली क्यूबसेट स्याट –१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो ।
नेपाली स्याट– १ नामक उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीक चिन्ह अंकित छ । नेपाली युवाले बनाएको भू–उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ ।
नेपालसँगै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ भूउपग्रह पनि प्रक्षेपण गरिएको नासाले जनाएको छ । भूउपग्रहले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।