अघिल्लो वर्ष करिब १ सयवटा चलचित्र प्रदर्शन भए पनि अधिकांश चलचित्र व्यवसायिक रूपमा असफल भए । यति हुँदाहुँदै पनि वर्ष २०७६ मा अघिल्लो वर्षकै हाराहारीमा चलचित्र प्रदर्शन हुने संकेत छ । छायांकनपछि पोस्ट प्रोडक्सनमा रहेका चलचित्रको सूची नै दर्जनौंमा छन् भने प्रि–प्रोडक्सन तथा प्रोडक्सनमा रहेका चलचित्रको सूची पनि लामै छ । यो वर्षका विभिन्न महिना प्रदर्शनमा आउने केही चलचित्र यस्ता छन् :
कालो वर्ष
चार वर्षअघि गएको भूकम्पका कारण एउटा परिवारमा पुगेको क्षतिमा आधारित चलचित्र ‘कालो वर्ष’ यो वर्षको पहिलो प्रदर्शन हुनेछ । हालै टिजर सार्वजनिक भएको यो चलचित्र वैशाख १३ गते प्रदर्शनमा आउँदैछ । लक्षु गौतमद्वारा निर्देशित यो चलचित्रमा पवन भट्टराई, सुरेन्द्र बूढा, रश्मि शाह, रविन भुलेज, अनुपा, लोकेश आदि नयाँ कलाकारले अभिनय गरेका छन् ।
दाल भात तरकारी
दर्शकमाझ प्रतीक्षाको विषय बनिरहेको चलचित्र हो— दाल भात तरकारी । मह सञ्चारले निर्माण गरेको यो चलचित्र वैशाख २० गते प्रदर्शन हुँदैछ । सुदन केसीद्वारा निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, वसुन्धरा भुसाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सनविक्रम राई आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको ट्रेलर दर्शकले मन पराएका छन् भने भिजिट भिसामा तथा दाल भात तरकारी शीर्षकका दुई गीत लोकप्रिय भैसकेका छन् । हरिवंश आचार्यको कथामा आधारित यो चलचित्रमा अभिनेत्री प्रियंका कार्की पनि छिन् । चलचित्रमा कुनै पनि हालतमा अमेरिका जाने अठोट बोकेको एउटा परिवारको कथा समावेश गरिएको चलचित्रको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।
पसिना
नयाँ वर्षको पहिलो दिन पोस्टर सार्वजनिक गर्दै प्रचार–प्रसारमा उत्रिएको चलचित्र हो— पसिना । वैशाख २७ गते प्रदर्शनमा आउने यो चलचित्रलाई आरबि खत्रीले निर्देशन गरेका हुन् । मजदुरहरूको कथा–व्यथा समेटिएको यो चलचित्रमा गौरव पहाडी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, सुरजनी केसी आदिले अभिनय गरेका छन् । यो चलचित्रले गरौं सत्कर्म, बगाऊँ पसिना भन्ने नारा बोकेको छ । समसामयिक विषयवस्तु समेत समेटिएको यो चलचित्रले पसिना बगाएर मात्र हुँदैन, सत्कर्म पनि आवश्यक छ भन्ने सन्देश बोकेको छ ।
कप्स
वैशाख २७ गते प्रदर्शन मिति तोकिएको चलचित्र हो— कप्स । यो चलचित्रमा अनुपविक्रम शाही, सन्दिपा लिम्बू, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ आदि कलाकारले अभियन गरेका छन् ।
आप्पा
जेठ २४ गते प्रदर्शनमा आउने चलचित्र हो— आप्पा । चलचित्रमा दयाहाङ राई, सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चा आदि कलाकारले अभिनय गरेका छन् । अनमोल गुरुङले निर्देशन गरेको चलचित्र आप्पामा बुवा र छोरीको सम्बन्धलाई आकर्षक ढंगले चित्रण गरिएको छ ।
जात्रै–जात्रा
चलचित्र जात्राको सफलतापछि निर्माण गरिएको सिक्वेल चलचित्र हो— जात्रै–जात्रा । जेठ ३ गते प्रदर्शनमा आउने यो चलचित्रको निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । हास्य प्रधान यो चलचित्रमा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा आदि कलाकारले अभिनय गरेका छन् । यसअघि गत फागुनमै प्रदर्शन हुने भनिएको यो चलचित्र समयमै छायांकन पूरा नभएपछि तीन महिनापछि सरेको हो । चलचित्रको केही समयअघि सार्वजनिक माया पिरिम गीतले लोकप्रियता पाइसकेको छ ।
वीरविक्रम–२
जेठ ३ गते प्रदर्शन हुने अर्के चलचिक्र हो— वीर वित्रम–२ । मिलन चाम्सद्वारा निर्देशित यो चलचित्र मुस्ताङका आकर्षक लोकेसनमा छायांकन गरिएको छ । चलचित्रमा समावेश पिरतीको मीठो तिर्सना गीतले दर्शकको मन जितिसकेको छ । यो चलचित्रमा पल शाह, वर्षा शिवाकोटी तथा नाजिर हुसेन प्रमुख भूमिकामा छन् । एउटै मितिमा वीरविक्रम–२ र जात्रै–जात्रा प्रदर्शनमा आउने भएपछि दर्शक बाँडिने निश्चित छ ।
दयारानी
जेठ १० गते प्रदर्शन मिति तोकिएको चलचित्र हो— दयारानी । चलचित्रमा दयाहाङ राई तथा दिया पुन मुख्य भूमिकामा छन् । चलचित्रको पहिलो गीत चिरी च्याट्टै नयाँ वर्षको पहिलो दिन सार्वजनिक भैसकेको छ, जसमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो चलचित्रको निर्देशन पोखरेली कलाकार माओत्से गुरुङले गरेका हुन् । चलचित्रले एउटा खराव श्रीमान् तथा उनकी दयालु श्रीमतीको कथा बोकेको छ । चलचित्रमा विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले आदि कलाकारले समेत अभिनय गरेका छन् । गुरुङ समुदायमा दयालु युवतीलाई दयारानी भन्ने चलन छ ।
साइनो
जेठ १० गते प्रदर्शनमा आउने चलचित्र साइनोलाई पुरानी अभिनेत्री भुवन चन्दले निर्माण गरेकी हुन् । यो चलचित्रका निर्देशक रमेश थापा हुन् । चलचित्र साइनोमा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, वसुन्धरा भुसाल, रोयदीप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहारी, वसुकला मैनाली आदि कलाकारको अभिनय हेर्न पाइन्छ ।
प्रेम दिवस
वास्तविक जीवनका जोडी आयुष्मान देशराज जोशी तथा प्रियंका कार्कीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र हो— प्रेम दिवस । योगेश घिमिरेद्वारा निर्देशित यो रोमान्टिक चलचित्र यसअघि जेठ ३ गते प्रदर्शन हुने भनिएको थियो, यद्यपि अहिले आएर यो चलचित्र जेठ ३१ मा प्रदर्शनमा आउने तय भएको छ । चलचित्रको हालै सार्वजनिक बरु अर्को जुनी शीर्षकको गीत दर्शकले मन पराएका छन्, जसमा निशान भट्टराई तथा मेलिना राईको स्वर छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा आयुष्मान र प्रियंकासँगै विशाल खरेलले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
मासु भात
वास्तविक जीवनमै प्रेममा रहेका सौगात मल्ल तथा सृष्टि श्रेष्ठले अभिनय गरेको चलचित्र मासु भात प्रदर्शनका लागि तयार छ । प्रदर्शन मिति तय गर्न बाँकी रहेको यो चलचित्रको हालै सार्वजनिक टिजरमा सौगात कैदी तथा सृष्टि प्रहरीको भूमिकामा देखिन्छन् । यो चलचित्रको निर्देशन सञ्जीव कुमार न्यौपानेले गरेका हुन् । दुर्गम गाउँकी बालिकालाई मानव तस्करले वेश्यावृक्तिमा लगाएको र त्यस त्रममै उनको अंग बेच्ने प्रयास गरिएपछि ती बालिकाले गर्ने संघर्षसँगै बेपत्ता बहिनीको खोजीमा रहेका दाईको भोगाइ चलचित्र ‘मासु भात’ मा समेटिएको छ । बेचिएकी बहिनीको दाइको भूमिका सौगातले निर्वाह गरेका छन् । यो चलचित्रमा अभिनेता मल्ल पहिलो पटक निर्माताका रूपमा समेत सहभागी छन् ।
सानो मन
प्रदर्शन मिति तय हुन बाँकी चलचिक्र सानो मन यतिबेला छायांकनका त्रममा छ । यो चलचित्रमा आयुष्मान देशराज जोशी तथा शिल्पा मास्के मुख्य भूमिकामा छन् । चलचित्रको एउटा गीतको टिजर हालै सार्वजनिक भएको छ । सुयोग गुरुङ यो चलचित्रका निर्देशक हुन् । सांगीतिक प्रेम कथामा आधारित चलचित्र सानो मनको छायाँकन काठमाडौं र भैरहवापछि हङकङ र मकाउमा हुनेछ । चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मि भट्ट आदि कलाकारले समेत अभिनय गरेका छन् ।
नीरफूल
सञ्चारकर्मी फूलमान बलद्वारा निर्देशित चलचित्र नीरफूल भदौ २७ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्र निरफूलमा भूकम्पले विछोडिएको एउटा परिवारको प्रेमकथा चित्रण गरिएको छ भने यसमा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा आदि कलाकारले अभिनय गरेका छन् । रेखा थापा यो चलचित्रको एउटा विशेष भूमिकामा देखा पर्छिन् । चलचित्रमा धादिङको रुबी भ्यालीको एउटा परिवारमार्फत कथा भन्ने प्रयास गरिएको निर्देशक बलले बताएका छन् ।
रातो टीका निधारमा
दसैंमा प्रदर्शनमा आउने अर्को चलचित्र हो— रातो टीका निधारमा । निर्माता–निर्देशक अशोक शर्माको यो चलचित्र दीपकराज गिरीको छ माया छपक्कैसँगै दर्शकमाझ आउनेछ । निर्देशक शर्माले आफ्नो चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिसकेका छन् भने उनका छोरा अंकित शर्मा अभिनेताका रूपमा पदार्पण गर्न सक्ने प्रबल सम्भावना छ । चलचित्रमा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी आदि कलाकारले अभिनय गर्नेछन् । स्मरण रहोस्, अघिल्लो वर्षको दसैंमा पनि दीपकराज गिरीको छक्कापञ्जा–३ तथा अशोक शर्माको जय भोलेबीच प्रतिस्पर्धा भएको थियो ।
हेल्लो जिन्दगी
अघिल्लो वर्ष चलचित्र भैरे निर्माण तथा निर्देशन गरेका एभरेष्ट सूर्य बोहोराको चलचित्र हो– हेल्लो जिन्दगी । हाल बेलायतमा छायांकन भैरहेको यो चलचित्रमा अभिनेत्री दीपिका प्रसाईं, श्वेता खड्का आदि कलाकारले अभिनय गरिरहेका छन् । चलचिक्रमा सलोन बस्नेत, विल्सनवित्रम राई, विक्रान्त बस्नेत आदि कलाकार पनि छन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।
छ माया छपक्कै
दसैंलाई प्रदर्शन मिति तोक्दै छायांकनमा जाने क्रममा रहेको चलचित्र हो— छ माया छपक्कै । दीपकराज गिरी तथा रोहित अधिकारीले निर्माण गर्ने यो चलचित्रलाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । चलचित्रमा दीपकराज गिरी तथा केदार घिमिरेको मुख्य भूमिका रहने निश्चित छ भने अन्य कलाकारका बारेमा कुनै जानकारी गराइएको छैन । यही वैशाखदेखि छायांकनमा जाने यो चलचित्रले छक्कापञ्जा श्रृंखलाको जस्तै सफलता हासिल गर्न सक्ने अनुमान गरिएको छ । ग्रामिण परिवेशमा छायांकन हुने यो चलचित्र हास्यप्रधान हुनुका साथै यसमा प्रेमकथा समावेश गरिने निर्देशक लामा बताउँछन् ।
मारुनी
छायांकनको अन्तिम चरणमा रहेको चलचित्र हो— मारुनी । नवल नेपालद्वारा निर्देशित यो चलचित्रमा पुष्प खड्का तथा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । चलचित्रमा रेविका गुरुङ, सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंकर सेढाइ, कुशाग्र भट्टराई आदिले समेत अभिनय गरिरहेका छन् । प्रदर्शन मिति तय गर्न बाँकी रहेको यो चलचित्रकी निर्मात्री पूनम पौडेल हुन् । नेपालगन्जबाट छायांकन प्रारम्भ भएको यो चलचित्र यतिबेला काठमाडौं आइपुगेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र मारुनीको हालै सार्वजनिक पोस्टरले अधिकांश दर्शकको ध्यान आकर्षित गरिरहेको छ ।
हृदयभरि
सुरज सुब्बा नाल्बोद्वारा निर्देशित चलचित्र हृदयभरि हाल छायांकनमा छ । चलचित्रमा पल शाह, श्रद्धा क्षेत्री, रेखा लिम्बू आदि कलाकारले अभिनय गरिरहेका छन् । प्रदर्शन मिति तय गर्न बाँकी रहेको यो चलचित्रमा नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत आदि कलाकारले पनि अभिनय गर्नेछन् । यही चलचित्रमार्फत नेपाली मूलकी मोडल श्रद्धा क्षेत्री अभिनेत्रीका रूपमा दर्शकमाझ आउन लागेकी छिन् । श्रद्धा हाल कोलकातामा मोडलिङ गरिरहेकी छिन् ।
लप्पन छप्पन–२
सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहने चलचित्र लप्पन छप्पन–२ पनि यही वर्ष प्रदर्शनमा आउनेछ । यसअघि प्रदर्शन भैसकेको लप्पन छप्पनको सिक्वेलका रूपमा निर्माण भैरहेको यो चलचित्रले पनि प्रदर्शन मिति तय गरेको छैन । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्नेछन् ।
अघोरी
भोमन कटुवालको निर्देशनमा छायांकनमा रहेको चलचित्र हो— अघोरी । यो चलचित्रमा प्रज्वल गिरी, उमेश खड्का, शारदा राज्यलक्ष्मी शाह, बिन्दा तामाङ, सुरवीर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरी आदि कलाकारले अभिनय गरिरहेका छन् । चलचित्रमा अभिनेता गिरीले अघोरीको भूमिका निर्वाह गर्दैछन् । यही वर्ष प्रदर्शन हुने भनिएको चलचित्र अघोरीमा नेपालको ग्रामिण भेगको कथा प्रस्तुत गरिँदैछ ।
जाइरा
अभिनेत्री नम्रता श्रेष्ठले मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेको चलचित्र हो— जाइरा । अघिल्लो वर्षको मंसिरमै प्रदर्शन हुने भनिएको यो चलचित्र अब भने भदौ ६ गते प्रदर्शनमा आउनेछ । चलचित्रमा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, सुजाता श्रेष्ठ, सम्राट मगर आदि कलाकारले अभिनय गरेका छन् । चलचित्र जाइराका लागि अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो हेयरस्टायल परिवर्तन गरेकी छिन् भने तौलसमेत घटाएकी छिन् । यो चलचित्रको निर्देशन आशुतोषराज श्रेष्ठले गरेका हुन् ।
साङ्लो
अभिनेता विराज भट्टले निर्देशन गर्न लागेको चलचित्र हो— साङ्लो । फ्लोरमा जाने तयारीमा रहेको यो चलचित्रमा विराज भट्टले पूर्व मिस नेपाल निकिता चाण्डकलाई अभिनेत्रीका रूपमा अनुबन्ध गरेका छन् । यही वर्ष प्रदर्शनमा आउने चलचित्र साङ्लोको छायांकन काठमाडौं तथा पोखरामा गरिने बताइन्छ ।
द डार्क एन्ड लाइट
नेपाली चलचित्रको इतिहासमै पहिलो पटक चार निर्देशकले एकसाथ निर्देशन गरिरहेको चलचित्र ‘द डार्क एन्ड लाइट’ पनि यही वर्ष प्रदर्शन हुनेछ । दसैंअघि नै प्रदर्शनमा आउने यो चलचित्र हाल छायांकनको अन्तिम चरणमा छ । यो चलचित्रलाई राजु अर्याल, पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टले निर्देशन गर्नेछन् । चलचित्रमा पिटर खालिङ र सरस्वती लामासहित सेसुका राई, सुमन मगर, प्रिन्सा राई आदि कलाकारले अभिनय गरिरहेका छन् ।
घर
हाल पोस्ट प्रोडक्सनमा रहेको चलचित्र हो— घर । अभिनेता तथा निर्देशक अर्पण थापाको यो चौथो निर्देशनमा थापासँगै सुरक्षा पन्त एवं बेनिशा हमाल मुख्य भूमिकामा छन् । हरर शैलीको यो चलचित्रमा एउटा घरभिक्र घट्ने घटनात्रमलाई चित्रण गरिएको छ । हाल पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्रमा निर्देशक दीपेन्द्र के खनालको लगानी छ ।
कबड्डी–३
निर्देशक रामबाबु गुरुङको चलचित्र ‘कबड्डी–३’ पनि यही वर्ष प्रदर्शनमा आउनेछ । प्रि–प्रोडक्सनमा रहेको यो चलचित्रका मुख्य कलाकारको छनौट बाँकी नै छ । चलचित्रमा क्याप्टेनबाट रजतपटमा उदाएकी उपासना सिंह ठकुरी तथा प्रदीप खड्काको मुख्य भूमिका रहने सम्भावना छ ।
सरौतो
एक्सन–लभ स्टोरी चलचित्र सरौतो पनि यही वर्ष प्रदर्शनमा आउने चलचिक्र हो । छायांकनको अन्तिम चरणमा रहेको यो चलचत्रिमा सन्नी सिंह तथा सुमी मोत्तान मुख्य भूमिकामा छन्, जसलाई हरि हुमागाईंले निर्देशन गरिरहेका छन् । यो चलचित्रमा विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, सुवाङ्म शाह, लियो ट्यांक आदि कलाकारको अभिनय पनि हेर्न पाइन्छ ।
चच हुई
फरक धारका चलचित्र निर्माण गर्न रुचाउने निर्देशक साम्तेन भुटियाको पहिलो व्यवसायिक चलचित्र चच हुई पनि यही वर्ष प्रदर्शन हुनेछ, जसमा आर्यन सिग्देल तथा भोलाराज सापकोटा प्रमुख भूमिकामा छन् । हाल छायांकनमा रहेको यो चलचित्रमा मिरुना मगरले अभिनेत्रीको भूमिका निर्वाह गर्नेछिन् ।
मेरो एउटा साथी छ–२
करिब एक दशकअघि निर्माण भएको चलचित्र मेरो एउटा साथी छको सिक्वेल यही वर्ष प्रदर्शनमा आउनेछ । प्रज्वलशमशेर राणाले निर्माण गर्ने यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नेछन् । चलचित्रमा आर्यन सिग्देल तथा नम्रता श्रेष्ठसँग अर्का अभिनेता धीरज मगरले अभिनय गर्ने सम्भावना छ ।
सम्हालिन्छ कहिले यो मन
सुदर्शन थापाको निर्देशनमा निर्माण भैरहेको चलचित्र हो— सम्हालिन्छ कहिले यो मन । सम्पूर्ण छायांकन बेलायतमा गरिएको यो चलचित्र यतिबेला पोस्ट प्रोडक्सनमा छ । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य आदि कलाकारको महत्वपूर्ण भूमिका छ । प्रदर्शन मिति तय गर्न बाँकी रहेको यो रोमान्टिक चलचित्रमा त्रिकोणात्मक प्रेमकथा समेटिएको बताइन्छ ।
प्रेमनाथ
गणेश बेलबासेद्वारा निर्देशित चलचित्र प्रेमनाथ पनि यही वर्ष प्रदर्शनमा आउने चलचित्र हो । अघिल्लो वर्ष नै प्रदर्शन हुने भनिएको यो चलचित्रका अधिकांश कलाकार नयाँ छन् । चलचित्रमा राज थापा, कृति गौतम, मोनासिला विष्ट, सूरवीर पण्डित, गजित विष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेलबासे, मियुम जिरेल आदि कलाकारले अभिनय गरेका छन् ।
परी
अभिनेता विपिन कार्की तथा नयाँ अनुहार सृष्टि खड्काको मुख्य भूमिका रहने चलचित्र परी पनि यही वर्ष प्रदर्शन हुनेछ । चलचित्र परीलाई निशान कश्यपले निर्देशन गर्दैछन् । निशान म्युजिक भिडियोका निर्देशक तथा भिज्युअल एडिटर हुन् । यही महिनादेखि फ्लोरमा जाने यो चलचित्रलाई रूपेशमान अमात्यले निर्माण गर्न लागेका हुन् ।
बद्रीबहादुर
सोभित बस्नेतको निर्देशनमा निर्माण भैरहेको चलचित्र बद्री बहादुर तीजको मौका पारेर प्रदर्शनमा आउनेछ । यो चलचित्रमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सोभित बस्नेत, लय संग्रौला, एलिना रायमाझी, उत्तम केसी आदि कलाकारले अभिनय गर्दै छन् भने पूजा शर्मा तथा सलोन बस्नेत विशेष भूमिकामा प्रस्तुत हुनेछन् ।
कोपिला
कञ्चनपुरकी १३ वर्षीया स्कुले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय भैसकेको छ, यद्यपि प्रहरी प्रशासनले अझैसम्म दोषी पत्ता लगाउन सकेको छैन । त्यही घटनामा आधारित चलचित्र हो– ‘कोपिला’ । हालै छायांकन सम्पन्न भएको यो चलचित्रमा सञ्जीवनी खरेलले मुख्य भूमिका निर्वाह गरेकी छिन् ।
पोइ पर्यो काले
निर्देशक शिशिर राणाको चलचित्र ‘पोइ पर्यो काले’ लक्ष्मीपूजाका दिन अर्थात् कात्तिक ८ गते प्रदर्शनमा आउनेछ । यो चलचित्रमा पूजा शर्मा तथा आकाश श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्दैछन् । यो चलचित्रको निर्माण दीपक मनांगेले गर्न लागेका हुन् ।