अभिनेता विराज भट्टले चलचित्र प्राविधिक शंकर पाण्डेमाथि हातपात गरेका छन् । सामान्य विषयमा विवाद उत्पन्न भएपछि स्थिती हातपातसम्म पुगेको उनि निकट स्रोतले जनाएको छ । एउटा नाम चलेको अभिनेता चलचित्रमा जस्तै फाइटिङमा उत्रिएपछि एकाएक विवादमा तानिएका छन् ।
यथार्थ के हो ?
घटना सोमबार बेलुकाको हो । काठमाण्डौको नयाँ बानेश्वर स्थित एक क्याफेमा पाण्डे र विराज चलचित्रको विषयमा गफ भैरहेको थियो । गफगाफकै क्रममा सामान्य भनाभन सुरु भयो । अहिले विराज आफै चलचित्र साङ्लो निर्माणको तयारीमा छन् । सोहि चलचित्रको विषयमा चर्काचर्की भएको थियो । अभिनेता भट्टले पाण्डेलाई प्रोडक्शन डिजाइनरको रुपमा गत पुषमा काम गराउने सम्झौता गरेका थिए । त्यतिवेला यो चलचित्र फागुनमै छायांकन गर्ने भनिएको थियो । तर, बैसाख अन्तिमसम्म आइपुग्दा पनि चलचित्र छायाँकनमा जान सकेको छैन । समयमै छायाँकन नभएपछि प्राविधिक पाण्डेले विराजसँग यो चलचित्र छोड्न खोजेको बताएका थिए । आफु अन्य चलचित्रमा पनि काम गर्नुपरेकाले यो चलचित्रमा काम गर्न नसक्ने बताएका थिए । विराजले यदि चलचित्र छोड्ने हो भने अग्रिम रुपमा भुत्तानी भएको रकम फिर्ता हुनुपर्ने बताएका थिए । यद्यपी पाण्डेले भने महिनौदेखि सोहि चलचित्रमा काम गरिरहेकाले आफुले बुझेको रकम फिर्ता दिन नसक्ने बताएका थिए । त्यसपछि अभिनेता बिराजले आफु अघि रहेका पाण्डेलाई मुक्का प्रहार गरे । पाण्डे भुँइमा पछारिए । विराजले केहि मुक्का प्रहार गरेको बताइएको छ ।
प्राविधिक संघद्धारा भत्र्सना
आफ्ना सदस्यमाथी हातपात भएपछि चलचित्र प्राविधिक संघले घटनाको भत्र्सना गरेको छ । संघले घटनाप्रति संस्थाको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । संघका अध्यक्ष पुष्कर लामाले भने, ‘गरिमामय पेशामा आबद्ध व्यक्तिबाट यस्तो हुल–हुज्जत हुनु पक्कै शोभनिय काम होइन । घटनाबारे नेफ्टा सत्यतथ्य बुझेर आवश्यक कदम चाल्ने छ ।’ उनले प्राविधिकहरुको इज्जत, गरिमा, मर्यादा र कर्मलाई ऊँचो बनाउन सदैब क्रियाशिल रहेको बताउँदै प्राविधिकहरुप्रति इज्जत दिएर काम गराउन आग्रह समेत गरे ।
के भन्छन् विराज र पाण्डे ?
अभिनेता बिराज भट्टले आफ्नो बेइज्जत गरेपछि हात हालेको बताएका छन् । तर, पाण्डेले भने सामान्य विवाद भएपछि हात हालेको बताए । उनले प्राविधिकहरु सधै तनावमा काम गर्नुपरेको समेत गुनासो गरे । उनले निर्माण गर्न लागेको चलचित्र साङ्लोको छायाँकन समयमै नभएपछि पटक–पटक लफडा भैरहेको छ । चलचित्र छायाँकनमा जानका लागी धेरै पटक मिटिङ बसेपछि टुंगोमा पुग्न सकेका छैनन् । चलचित्र कहिले छायाँकनमा जान्छ पत्तो छैन । अहिले चलचित्र प्राविधिक संघका प्रतिनिधीसहित विराज र पाण्डे मिटिङमा छन् । उनिहरुबिचको विवाद मिलाउन प्रयास भैरहेको संघका अध्यक्ष पुष्कर लामाले बताए ।
यसअघि 'कृ' को छायाँकनका समयमा पाण्डेमाथि अभिनेता अनमोल केसीले हात हालेका थिए । तर, उक्त कुरा बाहिर आउन सकेको थिएन ।
अपडेट
झण्डैं २ घण्टाको मिटिङपछि विवाद मिलेको छ । संघका अध्यक्ष लामाले दुईजनाविच मिसअण्डरस्ट्याण्डिङका कारण विवादले उग्र रुप लिएको र अव मिलेर अघि बढ्ने सम्झौता भएको बताए ।