साप्ताहिक संवाददाता
नेपाली चलचित्रका महानायक राजेश हमालले ‘सेभ द चिल्डेन सेभ द नेसन’द्वारा अनाथ तथा असहाय बालबालिकाका लागि पोखरामा आयोजित कार्यक्रममा दिल खोलेर नाच्दै दर्शकको ध्यान आफूतर्फ खिचे । अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपूतको ब्याटलमा उनको जोस हेर्न लायक देखिन्थ्यो ।
हमालले कार्यक्रममा उपस्थित स–साना बालबालिकासँगै स्टेजमा विभिन्न पोज देखाउँदै नृत्य गरे । उनको साथले बालबालिका समेत मख्ख थिए । पहिलोपटक राजेश हमाललाई आफ्नो गीतमा नचाउन पाएको भन्दै प्रकाशले पनि खुसी व्यक्त गरे ।
ऊक्त कार्यत्रममा हमाल गायक सन्तोष बस्यालका गीतमा समेत नाचे । हमालले केही समय मन्तव्य पनि दिए भने आफ्ना केही डाइलग समेत सुनाए । चलचित्र क्षेत्रमा ३३ वर्ष काम गरे पनि आफ्नो उमेर २५ वर्ष मात्र भएको हमालले बताए । ‘मैले २५ वर्षपछि उमेरको हिसाब किताब गर्न छोडिदिए, २५ सम्मको थाहा छ त्यसपछिको थाहा छैन ।’ –राजेशको भनाइ थियो ।