साप्ताहिक संवाददाता
चलचित्र क्षेत्रमा ठूलो बजेट, राम्रो ब्यानरका तथा स्टार कलाकारका दुई अथवा दुईभन्दा बढी चलचित्र एकै दिन प्रदर्शनमा आउनु सामान्य भैसकेको छ । गत वर्ष रोज तथा रामकहानी, क्याप्टेन तथा द ब्रेकअप, ए मेरो हजुर–३ तथा यात्रा : अ म्युजिकल भ्लगबीच भिडन्त भएको थियो । यो क्रम वर्ष २०७६ मा समेत दोहोरिँदैछ । जेठको पहिलो साता चलचिक्र जात्रैजात्रा र वीरवित्रम–२ एकै दिन प्रदर्शन हुने निश्चित भैसकेको छ । भदौ १३ गते मारुनी तथा कबड्डी–३ प्रदर्शनमा आउने चर्चा छ ।
कबड्डी–३ को छायांकन प्रारम्भ भैनसकेकाले उक्त मितिमा भिडन्तको सम्भावना भने कमै छ । यसबीच भदौ २७ गते पनि दुई चर्चित चलचित्र एकै दिन प्रदर्शन हुने भएका छन् । पल शाहको हृदयभरि तथा पूजा शर्माको सम्हालिन्छ कहिले मन एकै दिन प्रदर्शनमा आउन लागेका हुन् । पछिल्लो भिडिन्तको कथा भने रोचक छ ।
चलचित्र म यस्तो गीत गाउँछुमा पल शाह र पूजा शर्माको जोडी थियो । निर्देशक सुदर्शन थापाले उक्त चलचित्रको सिक्वेल निर्माण गर्ने योजनासमेत बनाएका थिए । यद्यपि अहिले पल र सुदर्शनको सम्बन्ध पहिलेजस्तो नभएको दाबी गरिन्छ । सम्बन्धमा चिसोपन आएकै कारण पलको नयाँ चलचित्र हृदयभरि प्रदर्शन हुने मितिमै सुदर्शनले आफ्नो चलचित्र प्रदर्शन गर्ने कुरा सिनेवृत्तमा चर्चाको विषय भएको छ ।