साप्ताहिक संवाददाता
नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल चीन र भारत जाँदासमेत चलाउन सकिने भएको छ । कम्पनीले यसका लागि आवश्यक प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याएको छ । अब नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरूले चीन वा भारत जाँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी आफ्नै मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सकिनेछ ।
चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्नेछ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ । नेपालबाट गरेको फोन भारतमा उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने बताइएको छ ।
भारत वा चीनबाट नेपालबाहेक अरू देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्नेछ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ तथा भारतबाट प्रति एसएमएस २४ रुपैयाँ लाग्नेछ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्नेछैन । यसका लागि थप धरौटी राख्नु पर्दैन, आफ्नो मोबाइलको ब्यालेन्सबाटै यो सेवा प्रयोग गर्न सकिनेछ ।